मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गुमा इल गामाटी
२०७६ बैशाख ६ शुक्रबार ०७:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

केन्या, विकिलिक्स र जुलियन असान्ज

अमेरिकाले आफ्नो विश्वव्यापी रहस्य र गलत काम सार्वजनिक गर्दाको मूल्य जुलियन असान्जबाट फिर्ता गर्न चाहेको छ

Read Time : > 2 मिनेट
गुमा इल गामाटी
२०७६ बैशाख ६ शुक्रबार ०७:३६:००

सन् २००७, अगस्टसम्म केन्याका निकै कम व्यक्तिले जुलियन असान्ज वा विकिलिक्सबारे सुनेका थिए । विकिलिक्सले लुकाइएका सार्वजनिक महत्वका  दस्ताबेज लिक गर्छ र सार्वजनिक बहस सिर्जना गर्छ भन्ने कमैलाई थाहा थियो । यतिवेलासम्म यो संस्था एक वर्षको पनि पुगेको थिएन र केही दस्ताबेज मात्रै प्रकाशित गरेको थियो । त्यसपछि उनीहरूले क्रोस रिपोर्ट लिक गरे । यो, रिपोर्ट सन् २००३ मा नवनिर्वाचित माबी किबाको प्रशासनद्वारा गरिएको जाँचको परिणाम थियो ।

पूर्वतानाशाह ड्यानियल आरेप मोई र उनको परिवारले केन्याली जनताबाट सयौँ मिलियन डलर चोरी गरेर लुकाएको आशंकामा किबा प्रशासनले छानबिन सुरु गरेको थियो । क्रोल एसोसियट्स नामक कन्सल्ट्यान्सीको नेतृत्वमा भएको अनुसन्धानपछि १ दशमलव ३ बिलियन अमेरिकी डलर नगद र अन्य अचल सम्पत्ति विभिन्न ३० देशमा लुकाइएको तथ्य फेला परेको थियो । २००४ मा यो प्रतिवेदन केन्या सरकारलाई बुझाइएको थियो । जुन समय किबाकी सरकार आफैँ भ्रष्टाचारमा लिप्त थियो । त्यसैले रिपोर्ट लुकाइयो । 

गार्जियनसँगको सहकार्यमा विकिलिक्सले प्रतिवेदनको विस्तृत रूपमा प्रकाशित गरेपछि मात्रै केन्याका जनताले राष्ट्रिय सम्पत्ति संरक्षणको जिम्मा लिएका केही सीमित व्यक्तिले कसरी उल्टै देश लुट्दै छन् भनेर जान्ने मौका पाए । विकिलिक्सका कारण तीन महिनापछि केन्याका जनताले अर्को रहस्य जान्ने मौका पाए । लिक भएको ‘युएस डिप्लोमेटिक केबल्स’मा केन्याका राजनीतिज्ञले बन्द ढोकामा अमेरिकी प्रतिनिधिसँग कुरा हुँदा के भन्छन् भन्ने समावेश छ । सार्वजनिक रूपमा जनतासामु भाषण गर्दा उनीहरूले जे बोल्थे, अमेरिकी प्रतिनिधिसँग भेट हुँदा ठिक उल्टो बोल्ने गरेको तथ्य जनताले यसपछि थाहा पाए । सूचना प्रजातन्त्रको रक्तजीवन हो भने जुलियन असान्जजस्ता व्यक्ति र विकिलिक्सजस्ता वेबसाइट महत्वपूर्ण  ब्लड बैंक हुन् । 

सञ्चारमाध्यमको आम्दानी घट्दै छ । यससँगै महँगा अनुसन्धानात्मक विभाग टाढिएका छन् । नागरिकलाई चाहेको सूचना प्राप्त गर्न थप कठिन भइरहेको छ । यस्तो अवस्थामा विकिलिक्सजस्ता संस्थाले केही आधारभूत जानकारी उपलब्ध गराएर त्यो रिक्तता भर्ने प्रयास गरेका छन् । यस अर्थमा उनीहरूले जे गरिरहेका छन्, त्यो पत्रकारिता हो । 

तर, पक्कै पनि सरकारले यसरी हेर्दैन । त्यसैले म यो लेख्दै छु । असान्ज अहिले बेलायतको जेलमा रात बिताइरहेका छन् । इक्वेडरको दूतावासले शरण दिने निर्णय फिर्ता लिएसँगै उनलाई ११ अप्रिलमा पक्राउ गरियो । यसअघि स्विडेनमा बलात्कार अभियोगमा पक्राउ गरेर अमेरिकामा सुपुर्दगी गर्ने खतरा बढेपछि उनले सन् २०१२ देखि नै दूतावासमा शरण लिएका थिए । वर्तमान अवस्थामा अमेरिकाले असान्जविरुद्ध अन्य थुप्रै आरोप लगाउने सपना देखिरहेको छ ।

सूचना प्रजातन्त्रको रक्तजीवन हो भने जुलियन असान्जजस्ता व्यक्ति र विकिलिक्सजस्ता वेबसाइट महत्वपूर्ण ब्लड बैंक हुन्

अमेरिकाले आफ्नो विश्वव्यापी रहस्य र गलत काम सार्वजनिक गर्दाको मूल्य असान्जबाट फिर्ता गर्न चाहेको छ । विकिलिक्सले अमेरिकी सरकार, अमेरिकी प्रतिनिधि र अमेरिकी सेनाले गर्ने ज्यादती र अपराधका कथा जस्ताको तस्तै सार्वजनिक गरिसकेको छ । त्यसमध्ये एउटा गोप्य भिडियो सन् २००७ को अमेरिकी हवाई टोलीको सार्वजनिक भएको छ । जहाँ, हवाई हमलापछि मृतकतर्फ हेरेर दोहोरो भिडन्त भयो भन्दै (झुट बोलेर) अमेरिकी सेनाका सदस्य हाँसेका छन् । यस घटनामा रोयटर्स न्युज एजेन्सीमा काम गर्ने दुई इराकीसहित दर्जनौँको मृत्यु भएको थियो । 

डिप्लोमेटिक केबल्समार्फत सार्वजनिक दस्ताबेजले विश्वभरका अमेरिकी प्रतिनिधिलाई स्तब्ध पारेको थियो । उनीहरूले आफ्नो स्वार्थका विषयमा के सोच्छन् भन्ने विषय त्यहाँ देखाइएको छ । त्यसैले पश्चिमा देशका सरकार र सरकारी अधिकारी असान्जलाई घृणा गर्छन् । अमेरिकामा रिपब्लिकन सिनेटर मिच म्याककोन्नेल र पूर्वउपराष्ट्रपति जोय बिडेनले असान्जलाई ‘हाई टेक आतंकवादी’ भनेका थिए । अलास्काका पूर्वगभर्नर सराह पालिनले अलकायदा र तालिवानका नेतालाई अमेरिकाले जस्तो व्यवहार गर्छ, त्यस्तै व्यवहार असान्जमाथि गर्नुपर्ने धारणा राखेका थिए । 

स्पष्ट छ, झन्डै एक दशकको प्रयासमा असान्जलाई पक्राउ गरेर अमेरिकामा सुपुर्दगी गर्दै विश्वभरका पत्रकारलाई सन्देश दिन खोजिएको छ– अमेरिकासँग नजिस्कनु । यदि, उनलाई अमेरिका पठाइयो र जेलमा कोचियो भने यसले पत्रकारिताका अन्य धेरै प्रोजेक्टको भविष्य संकटमा पार्छ, जसले सत्य, तर सम्बन्धित देशका सरकारले गोप्य राख्न चाहेका सूचना प्रकाशित गर्दै आएका छन् । अमेरिकाको सफलता केन्याजस्ता देशका जनताका लागि पीडादायी हुनेछ, जसले विकिलिक्सजस्ता संस्थाले सार्वजनिक गर्ने सूचनाका आधारमा आफ्नो सरकारको वास्तविक अनुहार थाहा पाउँछन् । 
(नैरोबीवासी गाथारा लेखक तथा कार्टुनिस्ट हुन्) अलजजिरा डटकमबाट