मानिसलाई अहं र डाहले निकै पोल्छ । यो अहं सक्नेले पनि पाल्छ र नसक्नेले पनि । सक्नेले सम्पत्ति या शक्तिका माध्यमबाट अहंको शमन गर्छ । नसक्नेले या त कुनै तिकडम अपनाएर सामना गर्ला या मनको भित्रभित्रै सल्केर आफैँलाई पोलेर खाला, तर अहं भने छाड्दैन । यही अहंले मानिसलाई दुःखी र खुसी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । मनोसामाजिक कारणबाट निर्मित एउटा मनोविज्ञानबाट निर्देशित हुँदा यस्तो अवस्था आइलाग्ने हो । तर, हजारौँ वर्षको अभ्यासले यसलाई प्राकृतिक या जैविक विशेषताजस्तो मानिससँगै हिँडिरहने अनिवार्य तत्व बनाइदिएको छ । कुनै महात्मा या धर्मगुरुसमेत यस्तो अहंबाट मुक्त छैनन् ।
नेपालमा यतिवेला देखिएको एउटा खुसीको पनि सायद यस्तै अहं निर्देशित मनोविज्ञान नै कारण बनेको छ । व्यावसायिक रूपमा अन्तरिक्षयानहरूको प्रक्षेपणको काम गर्ने अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेले जापानको सहयोगमा नेपाली वैज्ञानिक सामेल भएर बनाइएको १० बाई १० सेमी आकारको नानो अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतिर पठाएको छ ।
विगत झन्डै २५ वर्षपहिलेदेखि नेपालको आफ्नै भूउपग्रह अन्तरिक्षमा पठाउने र त्यसमार्फत खासगरी सूचना तथा सञ्चार, मौसम, जलवायु तथा अन्य महत्वपूर्ण अध्ययनका लागि सूचना आफ्नै तजबिजमा पाउन सकिने गरी काम गर्ने प्रयास हुँदै आएको थियो । तर, राज्यको नीतिगत अस्पष्टता र जोखिम लिने नेतृत्व अभावका कारण त्यसले मूर्तरूप लिन पाएको थिएन ।
आफ्नै स्याटेलाइटबाट आफ्नै देशको मौसम र जलवायुसम्बन्धी सूचना पाउने हाम्रो अहं तुष्टिको माध्यम दश सेन्टिमिटरको नानो स्याटेलाइट बनेको छ
यतिवेला भने एउटा संयुक्त प्रयासस्वरूप नेपालले यो नानो भूउपग्रह प्रक्षेपण गराएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले आवश्यक ग्राउन्ड स्टेसन र उपकरणसहित प्राविधिक खटाउन सके आगामी डेढ महिनापछि यसले सामान्य सूचना नेपालस्थित केन्द्रमा पठाउन थाल्ने र त्यसबाट नेपालले दैनिक मौसमसम्बन्धी सूचना र जलवायु परिवर्तनका विषयमा अध्ययन गर्न सहयोग गर्नेछ ।
यता प्रधानमन्त्रीले यसलाई नेपालको अन्तरिक्ष युगमा प्रवेश भन्दै आमनागरिक र आफैँलाई समेत बधाई दिएका छन् । सामाजिक सञ्जाल र समाचार माध्यममार्फत धेरै नेपालीले खुसी व्यक्त गरेका छन् । वास्तवमा यो यानले पठाउनेभन्दा बढी सूचना अहिले नै नेपालले अरूसँगको सहकार्यमा पाइरहेको छ । यो सानो उपग्रहले नै उत्पात फरक पार्ने पनि होइन । तर, जे स्तरको खुसी देखिन्छ, त्यसले भने हाम्रो अहं तुष्टिको माध्यम यो नानो स्याटेलाइट पनि बन्न पुगेकोमा शंका छैन । नेपालले यो होइन, अरू कैयन् शक्तिशाली उपग्रह प्रक्षेपण गर्न तयारी गर्नुपर्छ ।
त्यसबाट लिन सकिने फाइदाका तुलनामा त्यसमा गरिने लगानी त्यति ठूलो छैन । सूचना, सञ्चार, जलवायु, भौगर्भिक अवस्थाका जेजस्ता नयाँ युगका चुनौती हाम्रा सामु छन्, ती सबैको सामना गर्न अब भूउपग्रहमा भर पर्नुपर्ने अवस्था बढ्दै गएको छ । नास्ट र विज्ञान प्रविधि मन्त्रालयसमेत मिलेर यसलाई योजनाबद्ध ढंगले अघि बढाउन तत्काल काम थाल्नु आवश्यक छ । अहिलेलाई भने यही दश सेमीको खुसीका लागि सबैलाई बधाई !