मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार ०८:०७:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्सेलाई वाणिज्य बैंकको टेवा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार ०८:०७:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ दशमलव २५ अंक बढेर बन्द भएको छ । नेप्से उकालो लागे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । यस दिन नेप्सेलाई वाणिज्य बैंकहरूले टेवा दिएको छ । वाणिज्य बैंकको परिसूचक २ प्रतिशतभन्दा बढी बढेपछि समग्र नेप्से बढ्न पुगेको हो । तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले उल्लेख्य नाफा आर्जन गरेको लगानीकर्ताको अपेक्षा रहेको छ । सोहीकारण वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएका हुन् । यसका साथै बजार निरन्तर ओरालो लागेकाले बैंकहरूको सेयर मूल्य सस्तिएको छ । सस्तो मूल्यमा सेयर खरिद गरी नाफा आर्जन गर्न लगानीकर्ता बजार प्रवेश गरेका कारण बजार बढेको एक ब्रोकरले बताए । 

बजार सारांश :
नेप्से परिसूचक बिहीबार १७ दशमलव २२ अंक बढेर १ हजार २ सय ३२ दशमलव २६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ९९ अंक बढेर २ सय ६५ दशमलव ५६ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन १ दशमलव २४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट १ दशमलव ३३ अंक बढेको छ । यस दिन १ सय ६५ कम्पनीको ८ हजार ९ सय १३ पटकको कारोबारमा ७४ करोड ४१ हजार ४ सय २५ रुपैयाँबराबरको २४ लाख ३३ हजार २ सय ७५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ७९ दशमलव ५४ बिन्दुमा पुगेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : यस दिन नेप्सेको एडी रेसियो शून्य दशमलव ९४ रहेको छ । कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये यस दिन ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २९ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार २ सय २० दशमलव ७० बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय ३८ दशमलव शून्य ५ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार २ सय ९ दशमलव १४ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय ४३ दशमलव ८४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय २६ दशमलव ४९ रहेको छ ।

६ प्रतिशत घट्यो माउन्टेड हाइड्रोको सेयर मूल्य
बिहीबार कारोबारमा आएको माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य ५ दशमलव ९४ प्रतिशत घटेर ९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य ५ दशमलव ८८ प्रतिशत घटेर ८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य ४ दशमलव ९ प्रतिशत र युनिभर्सल पावर कम्पनीको ४ दशमलव २ प्रतिशत घटेको छ । नेपाल एसबिआई बैंकको सेयर मूल्य यस दिन ५ दशमलव ५० प्रतिशत, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५ दशमलव ३० प्रतिशत र लक्ष्मी बैंकको ५ दशमलव शून्य ५ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयर मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । 

कुमारीको सर्वाधिक कारोबार
कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ९ सय १८ पटकको कारोबारमा ८ करोड ५८ लाख २ हजार रुपैयाँबराबरको ३ लाख २५ हजार ९ सय ७५ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले २ आर्थिक वर्षको लाभांश पारित गर्न वैशाख २६ गते साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले वैशाख ६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । २१.२५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस दिन कुमारीको सेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । प्रभु बैंक र नेपाल बैंकको यस दिन ४ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । 

६ समूह हरियो, ४ रातो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ६ समूहको परिसूचक हरियो भएको छ भने बाँकी ४ समूहको परिसूचक रातो भएको छ । वाणिज्य बैंक समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ३१ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक शून्य दशमलव ९३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ८२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५३ प्रतिशत, अन्य समूहको शून्य दशमलव १७ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ । 

वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ६३ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ५४ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २४ प्रतिशत घटेको छ । 

नबिल ब्यालेन्स्ड फन्ड २ निष्कासन खुला
नबिल इन्भेस्टमेन्ट फन्डअन्तर्गत सञ्चालक हुने नबिल ब्यालेन्स्ड फन्ड २ ले १२ करोड इकाइ वैशाख ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको छ । निष्कासन गरिएको कुल इकाइमध्ये कोष प्रवद्र्धक नबिल बैंक लिमिटेडका लागि १५ प्रतिशत र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका लागि १ प्रतिशत छुट्याइएको छ । सर्वसाधारणले बाँकी १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा वैशाख ९ गते र ढिलोमा जेठ ३ गते हुनेछ । सर्वसाधारणले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । यस योजनाको इकाइ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले योजना व्यवस्थापकको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङअन्तर्गत ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस रिएफर्म’ रेटिङ दिएको छ । यस योजनाको अवधि १० वर्ष रहेको छ । यो बन्दमुखी योजना हो ।