१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर
२०७६ बैशाख ५ बिहीबार ०८:४२:००
Read Time : > 5 मिनेट
फिचर

रंगमञ्चमा  महिला

Read Time : > 5 मिनेट
मञ्जु टेलर
२०७६ बैशाख ५ बिहीबार ०८:४२:००

शकुन्तला शर्मा नाटक होइन, ‘नौटंकी’ गर्थिन् । उवेला धेरैले नाटकलाई नौटंकी भन्थे । उनले पहिलो नाटक ०१९ सालमा गरिन् । नाटक देखाउने एउटै ठाउँ थियो, नाचघर । शकुन्तला ११ वर्षकी थिइन् । ‘पलाँसको फूल’ नाटकमा बालकलाकारको भूमिकामा अभिनय गरिन् । त्यसपछि निरन्तर नाटकमै लागिन् ।

शकुन्तलाले नाटक सुरु गर्दा भुवन चन्द, कमला श्रेष्ठ, विमला श्रेष्ठ, सुभद्रा अधिकारीलगायत कलाकार स्थापित भइसकेका थिए । ‘छोरी मान्छेले जागिर खानुहुँदैन, धेरै पढ्नुहुुँदैन भन्ने जमाना थियो । त्यो समयमा लोग्ने मान्छेसँग मिलेर नाटक खेल्ने कुरा समाजले सहजै स्विकार्दैनथ्यो । शंकाको दृष्टिले हेरिन्थ्यो,’ उनी भन्छिन् ।

पछि उनी रेडियो नेपाल र प्रज्ञा प्रतिष्ठानमा जागिरे भइन् । लामो समय प्रज्ञा प्रतिष्ठानमा ‘क’ वर्गको कलाकारका रूपमा काम गरिन् । त्यतिवेला नाटक खेलेबापत पारिश्रमिक पाइँदैनथ्यो । मुख्य भूमिकामा खेल्नेले अपवादका रूपमा पारिश्रमिक पाउँथे, त्यो पनि निकै कम । नाट्यक्षेत्रमा लागेर जीविकोपार्जन गर्न नसकिने भएकाले अधिकांश कलाकारले निरन्तरता दिँदैनथे । शकुन्तलाको हकमा भने यो लागू भएन । उनी भन्छिन्, ‘लगनशीलता, लगाव भयो भने कुनै पनि क्षेत्रमा मानिस टिक्छ । मेरो नाटक अभिनय यात्रा पनि यसकै उपज हो ।’

उवेला नाटक खेल्नेको न नाम हुन्थ्यो, न दाम । शकुन्तलालाई लाग्छ, अहिले दुवै थोक छ । तर, नाट्यक्षेत्रको महिमा र गरिमाबारे आममानिसलाई बुझाउन अझै केही समय लाग्ने बताउँछिन्, उनी । 

शकुन्तला शर्माले नाटक खेल्न सुरु गर्दा न नाम हुन्थ्यो, न दाम । उनलाई लाग्छ, अहिले त दुवै थोक छ । तर, नाट्य क्षेत्रको महिमा र गरिमाबारे आममानिसलाई बुझाउन अझै केही समय लाग्ने बताउँछिन्, उनी ।

भुवन चन्द पहिलो नायिका हुन् । उनी ‘आमा’ फिल्मबाट पर्दामा देखिन थालेकी हुन् । तर, त्योभन्दा अघि नाटकमा जमिसकेकी थिइन् । बालकृष्ण समको लेखन तथा निर्देशन रहेको नाटक ‘अन्धवेग’मा २०१० सालतिरै उनले बालकलाकारको भूमिका निभाएकी थिइन् । 

अहिले रंगकर्ममा आफ्नो भविष्य बनाउन चाहने महिलाको संख्या धेरै भए पनि निरन्तरता दिनेको संख्या एकदमै कम छ । त्यसो त पछिल्लो समय महिलालाई नै प्रमुख पात्र बनाएर पनि नाटकहरू मञ्चन भएका छन् । यो सकारात्मक कदम भएको बताउँछिन्, रंगकर्मी निशा शर्मा । उनी भन्छिन्, ‘पहिलेको तुलनामा अहिले धेरै फरक छ । पहिले नाटक गर्ने महिलालाई बिग्रेर हिँडेको संज्ञा दिइन्थ्यो, अहिले त्यस्तो छैन । पहिले नाटकलाई पेसाको रूपमा हेरिँदैनथ्यो, नाटक गर्छु भन्दा जागिर–पेसा के गर्छौ भनेर प्रतिप्रश्न गरिन्थ्यो । अहिले यो सोचमा परिवर्तन आएको छ ।’ 

निशाले पनि बालकलाकारबाटै नाटकमा अभिनय थालेकी हुन् । विजय मल्लले निर्देशन गरेको नाटक ‘कंकाल’मा पहिलोपटक अभिनय गरेकी थिइन् । त्यतिवेला नाचघर, राष्ट्रिय सभागृह, महेन्द्र पुलिस क्लबलगायत स्थानमा नाटक देखाइन्थ्यो । निशाले अभिनय सुरु गर्दा लक्ष्मी श्रेष्ठ, नारायणीदेवी श्रेष्ठ, चन्द्रमाला शर्मा, सुभद्रा अधिकारी, शर्मिला मल्ललगायत महिला कलाकार स्थापित भइसकेका थिए । ‘उहाँहरूबाट मैले रंगमञ्चमा धेरै कुरा सिक्ने मौका पाएँ, बिस्तारै कोही चलचित्रमा लाग्नुभयो, कोही बिहे गरेर पलायन हुनुभयो ।’

निशाले नाटकका सुरुवाती दिनदेखि नै राम्रै पारिश्रमिक पाएकी हुन् । ०४५ सालतिर नाटक गर्दा प्रत्येक सोमा चारदेखि पाँच सय रुपैयाँसम्म पारिश्रमिक लिन्थिन् । तर, सधैँ नाटक भइरहने हुँदैनथ्यो । त्यसैले खर्च अभाव भइरहन्थ्यो । रंगकर्मी सुनील पोखरेलसँग विवाह भएपछि भने निशा दम्पतीले आफैँ नाटक गर्न थाल्यो ।

त्यसो त निशा अभिनयमा आएसँगै धेरै महिला कलाकार रंगमञ्चमा देखिए । अधिकांश पलायन भए । उनको बुझाइमा बिहे गरिसकेपछि घर–परिवारको जिम्मेवारी, थिएटरमा हुने समूहवाद, फिल्म क्षेत्रतिर लाग्ने कारण महिला कलाकारले नाटकलाई निरन्तरता दिन नसकेका हुन् । 

पशुपति राई १५ वर्षअघि नाटक सिक्नैका लागि धरानबाट काठमाडौं आइन् । त्यतिवेला नाटकमा लागेका महिला कलाकार औँलामा गन्न सकिने थिए । नाटक पढ्नका लागि काठमाडौं आएको सुनाउँदा धेरैजना छक्क पर्थे । अहिले उनी नाटक निर्देशक बनिसकेकी छन् । 

काठमाडौं आएर उनले गुरुकुल नाटकघरमा नाटक सिकिन् । त्यसअघि विनाप्रशिक्षण नै धरानमा ‘अघोषित’ नाटक खेलेकी थिइन् । उनले मूख्य भूमिका निभाएको पहिलो नाटक हो, सुनील पोखरेलले निर्देशन गरेको ‘बाघभैरव’, जुन नेवारी लोककथामा आधारित थियो । अहिलेसम्म करिब ४० नाटकमा अभिनय गरिसकेकी छिन् । ‘हेत्छाकुप्पा’ नाटकबाट उनले निर्देशकको परिचय पनि बनाइन् । उनी भन्छिन्, ‘नाटकमा लाग्न धैर्य, अनुशासन र लगनशीलता जरुरी छ । यति भए एउटा सफल थिएटर आर्टिस्ट बन्न सकिन्छ ।’

नाटकमा स्थापित कलाकारभित्र आउने अर्को नाम हो, आकांक्षा कार्की । उनी कौसी थिएटरकी संस्थापक हुन् । कथा घेरा समूहले खोलेको कौसी थिएटर महिला कलाकारद्वारा स्थापित पहिलो नाटकघर हो ।

निशाले नाटकका सुरुवाती दिनदेखि नै राम्रै पारिश्रमिक पाएकी हुन् । ०४५ सालतिर नाटक गर्दा प्रत्येक सोमा चारदेखि पाँच सय रुपैयाँसम्म पारिश्रमिक लिन्थिन् । तर, सधैँ नाटक भइरहने हुँदैनथ्यो । त्यसैले खर्च अभाव भइरहन्थ्यो ।

आकांक्षाले भारतको बैंग्लोरमा रहेको क्राइस्ट विश्वविद्यालयबाट कला क्षेत्रमा मास्टर्स गरेकी छिन् । नेपालमा भूकम्प आएपछि उनी स्वदेश फर्किन् । राम्रो तलब पाउने गरी मनोपरामर्शको जागिर गर्न थालिन् । तर, उनको मन भने नाटकतिरै थियो । त्यसकारण नाटकतिर पनि काम गरिरहेकी थिइन् । त्यसैको परिणाम हो कौसी थिएटरको स्थापना । 

नाटकबारे आकांक्षाको बुझाइ स्पष्ट छ । उनी भन्छिन्, ‘प्रत्येक फरक जीवनशैलीको मानिसलाई भावनात्मक रूपमा बुझ्न सक्ने प्लेटफर्म हो, नाटक । कसैको कथालाई आफूले महसुस गरेर देखाउने माध्यम नाटक हो । जुन कुरा कुनै जागिरबाट प्राप्त गर्न सकिँदैन, त्यो कुरा मेलै नाटकमा पाएँ ।’

थिएटरमा नपढेका मान्छे मात्रै आउँछन् भन्ने कुराको जवाफ पनि हुन् कार्की । उनी भन्छिन्, ‘आफन्तले बाहिरबाट पढेर आएको मान्छे किन थिएटरमा काम गर्नु, बरु पार्टटाइम गरे हुन्छ नि भनेर भन्छन् । तर, मेरो जवाफ मलाई थिएटरमा दुःख गर्न आएको होइन, खुसी भएर आएको हो भन्ने हुन्छ ।’

उनलाई सानैदेखि नाटकमा रुचि थियो । विद्यालयमा हुने विभिन्न कार्यक्रम वा नाटकमा भाग लिइरहन्थिन् । त्यसपछि लगातारजसो नै नाटकमा अभिनय गरेकी छिन् । उनले धेरैजसो नाटक निर्देशन गरेकी छिन् । उनी भन्छिन्, ‘नाटक निर्देशन गर्नु अहिलेको रुचि होइन, बाध्यता हो । कतिपय ठाउँमा मानिसलाई अभावले सफल बनाउँदो रहेछ, जुन जीवनको सिकाइ पनि हो ।’

नेपालको सीमान्तकृत जातिमा सूचीकृत उँराव जातिबाट रंगमञ्चमा आउने पहिलो कलाकार हुन्, संगीता उँराव । तराईका विभिन्न जिल्लामा बसोवास गर्ने उँराव जातिका सदस्यले विपन्न जिन्दगी बाँचिरहेका छन् । सुनसरीस्थित छिटाहाको निम्न वर्गीय परिवारकी संगीताले सानैदेखि विद्यालयबाट हुने सडक नाटकमा भाग लिन्थिन् । एकपटक रंगकर्मी घिमिरे युवराज नाटकसम्बन्धी १० दिने वर्कसपका लागि छिटाहा पुगे । त्यतिवेला घिमिरेसँग चिनजान भयो । उनी नाटकको वर्कसपका लागि विराटनगर आइन् । उनलाई सुनसरीदेखि विराटनगर जानसमेत असहज थियो । उनी सुनाउँछिन्, ‘त्यतिवेला म भर्खर ११ मा पढ्दै थिएँ, नाटक भनेको सडकमा देखाउने मात्रै हो भन्ने लाग्थ्यो ।’ 

काठमाडौं फर्किएपछि घिमिरे युवराजले उनलाई फेरि सम्झिए । फोन गरेर काठमाडौंको शिल्पी थिएटरमा तीन महिनाको वर्कसप भइरहेको जानकारी दिए । तर, त्यति लामो समयका लागि काठमाडौं आउन झनै सहज थिएन । आर्थिक कुरा पनि थियो । सुरुमा घरपरिवारले पठाउन मानेनन् । उनी भन्छिन्, ‘युवराज सरले काठमाडौंमा बसुन्जेल खाने–बस्ने व्यवस्था थिएटरले नै गरिदिने भनेपछि आउन पाएँ, त्यो नै मेरो जिन्दगीको टर्निङ प्वाइन्ट थियो ।’

थिएटर छिरेको छोटो समयमै संगीताले सातवटा नाटकमा अभिनय गरिसकेकी छिन् । उनले पहिलोपटक ‘येलो कमिडी’ नाटकमा अभिनय गरेकी थिइन् । बच्चा, सामान्य सहयोगी र दासीको रोल गरेकी उनलाई मुख्य भूमिकामा अभिनय गरेर आफ्नो क्षमता देखाउने रहर छ ।

यस्तै, रंगमञ्चमा रमाइरहेकी अर्की रंगकर्मी हुन्, पवित्रा खड्का । शिल्पी थिएटरमा रहेर उनले करिब १५ वटा नाटकमा अभिनय गरिसकिन् । उनको यात्रा भने अन्य नाट्यकर्मीको भन्दा फरक छ । अधिकांश नाटकबाट फिल्ममा जान्छन् । उनी भने फिल्मबाट नाटकमा आएकी हुन् । ‘रंगमञ्चको आर्टिस्ट नै बन्छु भनेर सुरुमा सोचैकै थिइनँ, शिल्पी छिरेपछि नाटकको मोहले तान्यो र अहिले यहाँ छु,’ उनी भन्छिन् ।

भुवन चन्द पहिलो नायिका हुन् । ‘आमा’ फिल्मबाट पर्दामा देखिन थालेकी हुन् । तर, त्योभन्दा अघि नाटकमा जमिसकेकी थिइन् । बालकृष्ण समको लेखन तथा निर्देशन रहेको नाटक ‘अन्धवेग’मा २०१० सालतिरै बालकलाकारको भूमिका निभाएकी थिइन् ।

उनले अभिनय गरेको पहिलो नाटक हो, ‘कोमा, अ पोलिटिकल सेक्स’ । जसमा उनले सावर गर्लको भूमिका निभाएकी थिइन् । उनलाई पनि नाटक क्षेत्रमा रहेर काम गर्न सजिलो नरहेको अनुभव छ । अनुमति नदिने डरले लामो समयसम्म उनले आफूले नाटकमा काम गरिरहेको घरपरिवारलाई बताएकी थिइनन् । उनी भन्छिन्, ‘परिवारबाट अनुमति नभएपछि मैले शिल्पीमै बसेर काम गर्नुपरेको हो, तर अहिले परिवारले बुझ्दै गएपछि सहज भएको छ ।’ उनी नाटक लेखन र निर्देशन गर्ने योजनामा छिन् । 

‘हेत्छाकुप्पा’बाट नाटकमा प्रवेश गरेकी विनिता गुरुङ छोटो समयमा नै रंगमञ्चमा स्थापित भइन् । पछिल्लो समय मण्डला थिएटरमा भइरहने प्रायः नाटकमा उनलाई देख्न सकिन्छ । उनले हालसम्म करिब १५ नाटकमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको पछिल्लो नाटक ‘जालिनी’ हो । त्यसमा उनको मुख्य भूमिका थियो । 

विनिता साथीको लहैलहैमा लागेर मण्डला छिरेकी थिइन् । उनी सुनाउँछिन्, ‘सुरुमा १५ दिनको ट्रेनिङमा भाग लिने मौका मिलेको थियो । बिस्तारै सिक्दै जाँदा रमाइलो लाग्यो । अहिले त बानी परिसकेको छ ।’ 

परिवारबाट सपोर्ट नहुँदा उनले बीचमा थिएटर छोडेकी पनि थिइन् । उनका बुबा उनलाई आर्मी बनाउन चाहन्थे । करिब एक वर्ष उनले अन्तै जागिर गरिन्, तर पछि उनलाई रंगमञ्चको मोहले मण्डलातिर तान्दै ल्यायो । अहिले निरन्तर अभिनयमा छिन् ।