मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० जेठ १९ शुक्रबार १४:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षलाई दोहोरो सुविधा : सरकारी माेटरसाइकल चढ्छन्, मासिक रकम पनि बुझ्छन् 

Read Time : > 1 मिनेट
२०८० जेठ १९ शुक्रबार १४:०१:००

पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले दोहोरो सुविधा लिँदै आएका छन्। पालिकाका जनप्रतिनिधिले सरकारी सवारीसाधन प्रयोग गरेर पनि उक्त सेवा सुविधाबापतको रकम पनि बुझ्दै आएको खुलेको छ। 

पलिकाका अनुसार ०७४ सालमा निर्वाचित सबै वडाध्यक्षहरूलाई सरकारी सेवा सुविधाबापत सरकारी मोटरसाइकल वितरण गरिएको थियो। 

तर, ०७९ सालमा निर्वाचित वडाध्यक्षहरूले केही उता मोटरसाइकल प्रयोग नगर्ने घोषणा गरेर आफ्नो सवारीसाधन प्रयोग गरे। सरकारी मोटरसाइकल नचढ्ने घोषणा गरेका वडाध्यक्षले केही महिनापछि सरकारी मोटरसाइकल प्रयोग गर्न थाले।  

यस्तै, वडाध्यक्षहरूले सरकारी मोटरसाइकल प्रयोग नगर्ने भनेर सेवा सुविधाबापतको १० हजार रकम बुझ्दै पनि आइरहेका छन्। पालिकाका कर्मचारीहरूका अनुसार जनप्रतिनिधिहरूले सरकारी मोटरसाइकल प्रयोग नगर्ने भनेर उक्त सुविधाबापतको रकम बुझेर सरकारी मोटरसाइकल पनि प्रयोग गर्दै आएका छन्। 

बहुदरमाई नगरपालिकानिवासी राहुल यादवका अनुसार वडाध्यक्षहरूले सरकारी मोटरसाइकल वडासचिवमार्फत बुझ्न लगाएर अहिले उक्त मोटरसाइकल आफैँले प्रयोग गर्दै आएका छन्। 

सरकारी मोटरसाइकल प्रयोग नगर्ने भनेका वडाध्यक्षले मासिक १० हजार रकम बुझ्दै दोहोरो फाइदा लिने गरेको यादवले बताए। बहुदरमाई नगरपालिकाका नाैवटै वडा कार्यालयमा सरकारी मोटरसाइकल रहेकाले वडाध्यक्ष पनि प्रयोग गर्दै आएको यादवले बताए। 

बहुदरमाई नगरपालिका– ३ का वडाध्यक्ष दिनेश यादवले भने सरकारी मोटरसाइकल प्रयोग गर्दै आइरहेको स्विकारे। उनले दोस्रो कार्यकालको रूपमा निर्वाचित भएको सुरुदेखि मोटरसाइकल प्रयोग गरिरहेको दाबी गर्दै त्यो सुविधाबापतको रकम नबुझेको दाबी गरे। 

बहुदरमाई नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साहले पनि वडाध्यक्षले सरकारी मोटरसाइकल प्रयोग नगरेबापतको १० हजार रकम बुझ्दै आएको बताए। 
उनका अनुसार नाैवटै वडाध्यक्षमध्येका सात–आठजनाले नियमित रूपमा उक्त सुविधाबापतको रकम बुझ्दै आएका छन्। 

यता बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाले पालिकाका वडाध्यक्षले सरकारी मोटरसाइकल प्रयोग नगरेर रकम बुझिरहेको दाबी गरे। उनका अनुसार पालिकामा रहेको सरकारी मोटरसाइकल पालिका कार्यालय र वडा कार्यालयमा प्रयोग हुँदै आएका छन्। 

सरकारी मोटरसाइकल वडाका सचिवले बुझ्ने भएकाले उनीहरूमार्फत वडाध्यक्षहरूले सरकारी सवारी चढेको हुन सक्ने उनले बताए।  उनले वडा कार्यालयमा रहेका मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको पाइए सुविधाबापतको रकम कटौती हुने बताए।