मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट
२०७६ बैशाख ४ बुधबार ०९:३४:००
Read Time : < 1 मिनेट
समाचार

प्राविधिकको अवरोधले पुनर्निर्माणको काम प्रभावित

Read Time : < 1 मिनेट
दीपक भट्ट
२०७६ बैशाख ४ बुधबार ०९:३४:००

रामेछापमा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकको अवरोधले पुनर्निर्माणको काम प्रभावित भएको छ । प्राविधिकले विभिन्न माग राख्दै गएको फागुनदेखि काम गरेका छैनन् । दुई महिनादेखि प्राविधिक गाउँ नजाँदा भूकम्पपीडितको घर निर्माणको काम रोकिएको छ ।

खाइपाइ आएको भत्ता सरकारले कटौती गरेको भन्दै प्राविधिकले काम नगरेका हुन् । रामेछापका आठ स्थानीय तहमा एक सय ६८ प्राविधिक कार्यरत छन् । दुई महिनादेखि प्राविधिकले काम नगर्दा पुनर्निर्माणको काममा समस्या भएको मन्थली नगरपालिका–१२ का वडाध्यक्ष कृष्णहरि अधिकारीले बताए ।

भूकम्पपीडितलाई अनुदानको रकम प्राप्त गर्न प्राविधिकको सिफारिस जरुरी पर्छ । ‘प्राविधिक नहुँदा भूकम्पपीडितले प्राप्त गर्ने अनुदानको फाइल अघि बढ्न सकेको छैन,’ वडाध्यक्ष अधिकारीले भने । पहिलो र दोस्रो किस्ता लिएका रामेछापका अधिकांश लाभग्राहीले रकमबराबरको काम गरिसकेका छन् । तर, प्राविधिक नहुँदा फागुन पहिलो सातादेखि नै वडा कार्यालयबाट हुने अनुदान सिफारिस रोकिएको छ । 

 के हुन् प्राविधिकका माग ?
गाउँगाउँमा पुनर्निर्माणको काममा खटिएका प्राविधिकले सरकारले भत्ता कटौती गरेको गुनासो गरेका छन् । उनीहरूले आफ्नो स्वास्थ्य बिमा गरिनुपर्ने, खाइपाइ आएको भत्ता र प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने, कार्यक्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न सरकारले ध्यान दिनुपर्नेलगायतका माग गरेका छन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म काममा नफर्किने प्राविधिक नृपेश सापकोटाले बताए । ‘सुविधा कटौतीको विरोधमा हामीले संघर्ष समिति नै गठन गरेर आन्दोलन गर्दै आएका छौँ,’ संघर्ष समितिका संयोजक इन्जिनियर अरुण महतोले भने, ‘खाइपाई आएको तलबभत्ता र प्रोत्साहन भत्ता सरकारले नदिएसम्म हामी काममा फर्किंदैनौँ ।’