मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कृष्ण रिजाल काठमाडाैं काठमाडाैं
२०८० जेठ १५ सोमबार ०६:३८:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आर्थिक सर्वेक्षण : विद्युतमा तीव्र, रेलमा सुस्त

Read Time : > 5 मिनेट
कृष्ण रिजाल, काठमाडाैं काठमाडाैं
२०८० जेठ १५ सोमबार ०६:३८:००

आन्तरिक तथा बाह्य कारणले देशको अर्थतन्त्र सिथिल हुँदा उद्योग व्यवसायदेखि विकास निर्माणसम्म प्रभावित भएका छन् । सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ ले अर्थतन्त्रका सूचक कमजोर तथा विकास निर्माण सुस्त रहेको देखाएको हो ।

तरलता अभाव, उच्च ब्याजदर, महँगी, मागमा आएको व्यापक गिरावटलगायत कारणले अर्थतन्त्र वर्षको सुरुवातदेखि नै दबाबमा थियो । चालू आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएकोमा २.१६ प्रतिशत मात्रै हासिल हुने सरकारकै प्रारम्भिक अनुमान छ । खासगरी निर्माण क्षेत्र, खानी उत्खनन र उत्पादनमूलक क्षेत्र निरन्तर ऋणात्मक छन् ।

चालू आवको आठ महिनामा विद्युत्, प्रसारण लाइन, ब्रोडब्यान्ड इन्टरनेटलगायत पूर्वाधार विकासमा सन्तोषप्रद विकास देखिएको छ । तर, सडक, भवन, पुल, रेलमार्गलगायत पूर्वाधारको विकास भने निकै सुस्त देखिएको छ । त्यस्तै, स्वदेशी तथा विदेशी लगानी परिचालन पनि न्यून देखिएको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । यही अवधिमा एक हजार सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन र १३ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण भएका छन् । विद्युत्को जडित क्षमता २१.७ प्रतिशतले बढेर २ हजार ६ सय ६६ मेगावाट पुगेको छ । त्यस्तै, जनता आवास निर्माण र सुरक्षित आवास कार्यक्रममा समेत सन्तोषप्रद प्रगति देखिएको छ । 

तर, अन्य पूर्वाधार विकास निर्माण भने सुस्त देखिन्छ । आठ महिनामा एक सय चार किमि मात्रै पक्की सडक थपिएको छ । रेलमार्गअन्तर्गत जम्मा दुई किमि ट्र्याक बेड र दुई पुल बनेका छन् । दुई सय ८० झोलुङे पुल र ७५ मोटरेबल पुल थपिएका छन् । यी सबै सूचक संघ सरकारअन्तर्गत भएको विकासको मात्रै हो, यसमा प्रदेश र स्थानीय तहबाट भएका कामको प्रगति समावेश छैन ।

रेलमार्ग : दुई किमि ट्र्याक बेड र दुई पुल थपिए
चालू आवको आठ महिनामा रेलमार्गको प्रगति अति सुस्त देखिएको छ । यस अवधिमा पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा दुई किमि ट्र्याक बेड र दुई पुल बनेका छन् । योसँगै हालसम्म यो खण्डमा कुल ५४.५ किमि ट्र्याक बेड र सात पुल तयार भएका छन् । 

सबै पालिकामा पुग्यो ब्रोडब्यान्ड इन्टनरनेट
चालू वर्षमा १५ स्थानीय तहमा थपिएसँगै सबै ७५३ पालिकामा ब्रोडब्यान्ड इन्टनरनेट पुगेको छ । चालू वर्षको आठ महिनामा थप ७०५ शिक्षा तथा स्वास्थ्य संस्थामा पनि ब्रोडब्यान्ड इन्टनरेनट पुगेको छ । यससँगै ब्रोडब्यान्ड इन्टरनेट पुग्ने सरकारी तथा सामुदायिक विद्यालय एवं स्वास्थ्य संस्थाको संख्या १७ हजार २०४ पुगेको छ ।

योसँगै देशभरका ६ हजार ७४३ वडा कार्यालय, ४ हजार ३९० स्वास्थ्य संस्था र ५ हजार ३१८ सामुदायिक माध्यमिक विद्यालयमा पनि यो सुविधा पुगेको छ । यस वर्ष २१६ किमि लम्बाइमा अप्टिकल फाइबर थपिएको छ । मध्यपहाडी राजमार्गमा फागुनसम्म १ हजार ६८६ किमि अप्टिकल फाइबर बिछ्याइएको छ । 

४८ हजार घरका फुसका छाना जस्तापाताले विस्थापन
फागुनसम्म सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ७५३ स्थानीय तहका १ लाख ८९ हजार २३० फुसका छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण भएको थियो । यस अवधिसम्म ४८ हजार ३१४ घरका फुसका छाना जस्तापाताले विस्थापन भएको छ । 

जनता आवास कार्यक्रमअन्तर्गत साढे १९ हजार आवास निर्माणको चरणमा
फागुनसम्म जनता आवास कार्यक्रमअन्तर्गत थप १९ हजार ६४५ आवास निर्माणको चरणमा छन् । ०७९ असारसम्म यस कार्यक्रमअन्तर्गत ३६ हजार ३२५ आवास निर्माण सम्पन्न भएका थिए । 

संसद् भवनमा १९% र मन्त्री आवसमा १३% थप प्रगति
चालू आर्थिक वर्षमा प्रधानमन्त्री अवासको निर्माण पूर्ण रूपमा सम्पन्न भएकोमा संघीय संसद् भवन निर्माणमा भने १९ प्रतिशत र मन्त्री आवास निर्माणमा १३ प्रतिशत थप प्रगति भएको छ । यससँगै फागुन मसान्तसम्ममा संसद् भवनको निर्माण ६१ प्रतिशत, मन्त्री आवासको निर्माणमा ९० प्रतिशत र प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवासको ९१ प्रतिशत सकिएको छ । त्यस्तै, मन्त्रीनिवास (दोस्रो चरणको) ३७ प्रतिशत र चण्डी दल भवनको ५८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ०७९ फागुनसम्म ललितपुरको गोदावरीमा तीन हजार र रुपन्देहीको बुटवलमा एक हजार व्यक्ति क्षमताको अन्तर्राष्ट्रिय सभाहलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । यसैगरी, विभिन्न जिल्लामा १८ सभाहल निर्माणाधीन छन् ।

२८० झोलुङे र २६ स्थानीय पुल थपिए, थप ८ तुइन विस्थापित
चालू वर्षको आठ महिनामा २८० झोलुङे र २६ स्थानीय सडक पुल थपिएका छन् । यससँगै ०७९ फागुनसम्म ९ हजार ६६७ झोलुङे पुल र ६५३ स्थानीय सडक पुल निर्माण भएको छ । यो अवधिमा ९ तुइन विस्थापित भएका छन् । हालसम्म १४३ तुइन पहिचान भएकामा १४१ लाई झोलुङे पुलले विस्थापित गरिएको छ ।

६७ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न
चालू वर्षको आठ महिनामा थप सात स्थानीय तहको प्रशासकीय भवन बनेका छन् । स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ०७९ असारसम्म ६० स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न भएकोमा फागुनसम्म ६७ पुगेका छन् । 

विद्युत्जडित क्षमता २१.७ प्रतिशतले बढेर साढे २६ सय मेगावाट पुग्यो
चालू आवको आठ महिनामा विद्युत्जडित क्षमता ४७६ मेगावाटले बढेको छ । फागुनसम्म कुल विद्युत्जडित क्षमता २ हजार ६६६ मेगावाट पुगेको छ, जुन गत असारसम्मको तुलनामा २१.७ प्रतिशतले बढी हो । विद्युत्को जडित क्षमतामध्ये जलविद्युत्बाट २ हजार ४४९ मेगावाट, सौर्य प्लान्टबाट ७५ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ८२ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट योगदान छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत् परियोजनाबाट ६६१ मेगावाट, विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत ४७८ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत् परियोजनाबाट १ हजार ५२७ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जडान भएको छ । आठ महिनामा विद्युत्को पहुँचमा पुग्ने जनसंख्या थप एक प्रतिशत बिन्दुले बढेको छ ।

एक हजार सर्किट किमि प्रसारण लाइन
चालू आवको आठ महिनामा एक हजार सर्किट किमि प्रसारण लाइन र १३ हजार सर्किट किमि वितरण लाइन थपिएको छ । यससँगै फागुनसम्म राष्ट्रिय प्रसारण लाइन (६६ केभी र सोभन्दा माथि) ५ हजार ६६९ सर्किट किमि पुगेको छ । त्यस्तै, वितरण लाइन (३३ केभी र सोभन्दा कम) १ लाख ३६ हजार ६९५ सर्किट किमि पुगेको छ ।

२३६ स्वास्थ्य संस्था र ५ हजार स्वास्थ्यकर्मी थपिए
आठ महिनामा स्वास्थ्य संस्था २३६ वटा थपिएका छन्, जसमा ६१ अस्पताल, ५ प्राथमिक स्वास्थ्य केन्द्र, २२५ सेवा केन्द्र छन् । यससँगै हाल सञ्चालनमा रहेक कुल स्वास्थ्य संस्थाका संख्या ७ हजार ८५८ वटा पुगेको छ । असारसम्म ७ हजार ५९८ स्वास्थ्य संस्था थिए । त्यस्तै, यसबीचमा २२५ अस्पताल शड्ढया थपिएका छन् । गत असारसम्म १५ हजार ७९० शड्ढया रहेकोमा फागुनमा आइपुग्दा १६ हजार १५ वटा शड्ढया पुगेका हुन् । त्यस्तै, आठ महिनामा सरकारी सेवामा ५ हजार ५८ स्वास्थ्यकर्मी थपिएका छन् । यससँगै सरकारी सेवामा रहेका स्वास्थ्य जनशक्तिको संख्या १ लाख २ हजार ५०७ पुगेको छ, जसमा डाक्टर मात्रै ६ हजार १३८ छन् । नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ७ हजार ४८ पुगेको छ ।

साढे १६ सय विद्यालय बढे
गत वर्षको तुलनामा यस वर्षको शैक्षिक सत्रमा साढे १६ सय विद्यालय थपिएका छन् । शैक्षिक सत्र ०७८ मा कुल विद्यालय संख्या ३४ हजार ३६८ रहेकामा शैक्षिक सत्र ०७९ मा ३६ हजार ३२ पुगेका हुन् । कुल विद्यालयमध्ये सामुदायिक ७५.९ प्रतिशत, संस्थागत २०.५ प्रतिशत र परम्परागत तथा धार्मिक विद्यालय ३.६ प्रतिशत छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकको संख्या २ लाख ८२ हजार ५८५ पुगेको छ । सबै तहमा गत शैक्षिक सत्रभन्दा चालू शैक्षिक सत्रमा विद्यार्थी संख्यामा २.५ प्रतिशतले वृद्धि भएको छ । शैक्षिक सत्र ०७९ मा अध्ययनरत विद्यार्थीको संख्या ७२ लाख ६९ हजार ५५१ पुगेको छ ।

एक खर्ब ५५ अर्ब लगानी स्वीकृत
चालू आवको आठ महिनामा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका एक सय ८३ उद्योग दर्ता भई एक खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको छ । यी उद्योग सञ्चालनबाट १२ हजार ७४८ रोजगारी सिर्जना गर्ने अनुमान छ । गत आवको सोही अवधिमा २०१ उद्योग दर्ता भई २ खर्ब २८ अर्ब ३६ करोड लगानी स्वीकृत भएको थियो ।

त्यस्तै, लगानी बोर्डबाट ०७९ असारसम्म ३३ ठूला पूर्वाधार परियोजनामा १० खर्ब ४० अर्ब २६ करोडबराबरको लगानी स्वीकृत भएको छ ।आठ महिनामा उद्योग विभागमा विदेशी लगानीका १५९ उद्योग दर्ता भएका छन् । जसमा २० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ अनुसार चालू आवको फागुनसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) ९२.८ प्रतिशतले घटेको छ । 

चार क्यासिनो थपिए, देशभर २८ पुगे
चालू आर्थिक वर्षको आठ महिनामा चारवटा क्यासिनो थपिएका छन् । ०७९ असारसम्म क्यासिनो र मिनी क्यासिनो २४ रहेकोमा ०७९ फागुनसम्ममा बढेर २८ पुगेका हुन् । काठमाडौं, नेपालगन्ज, भैरहवा, वीरगन्ज, झापालगायत ठाउँमा क्यासिनो तथा मिनी क्यासिनो सञ्चालनमा छन् । खासगरी, मिनी क्यासिनो भारतसँग सीमा जोडिएका सहरमा केन्द्रित छन् । 

तारे होटेल १७३ पुगे, बेड १६ हजार नाघे
०७८ फागुनसम्म १६२ तारे होटेल रहेकामा ०७९ फागुनसम्म आइपुग्दा १७३ पुगेका छन्, जहाँ १६ हजार ३३५ बेड रहेको सर्वेक्षणमा उल्लेख छ । तारेबाहेकका डिलक्स, लक्जरी हेरिटेज बुटिक होटेलसहित पर्यटकस्तरीय होटेलको संख्या ०७८ फागुनसम्म एक हजार १८३ रहेकोमा ०७९ फागनुसम्म बढेर एक हजार २२८ पुगेका छन् । यी होटेलमा एक वर्षमै बेड संख्या चार हजार ३९३ ले बढेर ३७ हजार ३० पुगेका छन् ।