१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०८:५४:००
Read Time : > 4 मिनेट
सेयर बजार

करिब ४ महिनायताकै उच्च बिन्दुमा नेप्से

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०८:५४:००

नयाँ वर्षको पहिलो कारोबार दिन बढेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । मंगलबार नेप्से परिसूचक १ दशमलव ९६ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से बढेर करिब ४ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । ०७५ पुस १२ गते नेप्से १ हजार २ सय १५ बिन्दुमा बन्द भएको थियो । नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ताको मनोबल पनि बढेको छ । तेस्रो त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरूले सो अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । सो अवधिसम्ममा कम्पनीहरूले उल्लेख्य नाफा आर्जन गरेको लगानीकर्ताको अनुमान छ । यसका साथै बजार विस्तारका कार्यहरू भइरहेका कारण पनि बजारले गति लिएको एक ब्रोकरले बताए ।

बजार सारांश
मंगलबार नेप्से परिसूचक २३ दशमलव ३३ अंक बढेर १ हजार २ सय १२ दशमलव शून्य ५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ५ दशमलव ४८ अंक बढेर २ सय ६० दशमलव २४ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन १ दशमलव ९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९१ अंक बढेको छ । यस दिन १ सय ७० कम्पनीको ८ हजार ९ सय ७८ पटकको कारोबारमा ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैयाँबराबरको २४ लाख ११ हजार ६ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण

आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ७५ दशमलव शून्य ६ स्केलमा पुगेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ७ दशमलव ६७ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७० कम्पनीमध्ये १ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे १ हजार १ सय ९४ दशमलव ८१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ७९ दशमलव ५८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय २० दशमलव १६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय २८ दशमलव १८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

कमाउनेमा श्री इन्भेस्टमेन्ट र सेन्ट्रल अगाडि
यस दिन श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य ६ दशमलव ६७ प्रतिशत बढेको छ । त्यसैगरी, सेन्ट्रल फाइनान्सको सेयरमूल्य ६ दशमलव ५४ प्रतिशत बढेको छ । सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, प्रभु बैंक र सिद्धार्थ बैंकको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । बुलिस बजारमा यस दिन युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ३ दशमलव २२ प्रतिशत मात्र घटेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छैन । यस दिन सेयरमूल्य घट्नेको संख्या पनि अन्य कारोबार दिनको तुलनामा कम रहेको छ ।
 
वाणिज्य बैंकहरूको कारोबार बढी
यस दिन कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरूमध्ये ८ वाणिज्य बैंक रहेका छन् । यस दिन एनएमबि बैंकको सेयर सर्वाधिक ६ करोड ७० लाख ६० हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । एनआइसी एसिया र प्रभु बैंकको यस दिन साढे ४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । सेयर संख्याका आधारमा यस दिन सिभिल बैंक अगाडि रहेको छ । दुई आवको लाभांश वितरण गर्न बैंकले साधारणसभाको मिति तोकेसँगै लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् । कारोबार संख्याका आधारमा पनि एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ सय २६ पटक सेयर कारोबार भएको छ ।
 
सबै समूहका परिसूचक हरियो

यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेर हरियो भएको छ । यस दिन वाणिज्य बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव ७८ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक २ दशमलव ४९ प्रतिशत, वित्त समूहको १ दशमलव ७४ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ३५ प्रतिशत र जीवन बिमा समूहको १ दशमलव ३४ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ९ प्रतिशत, होटेल समूहको शून्य दशमलव ८ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ५२ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४२ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव १२ प्रतिशत बढेको छ । 

फर्स्ट माइक्रो फाइनान्सको नाफा ९ करोड १८ लाख
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो ९ महिनामा ९ करोड १८ लाख ९३ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २५ दशमलव ७६ प्रतिशत बढी हो । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो । 
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २५ दशमलव ७५ प्रतिशत बढेर १४ करोड ४४ लाख ३ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २० दशमलव ५१ प्रतिशत बढेर १४ करोड ४९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९४ हजार रहेको छ भने जगेडा कोष १८ करोड ९२ लाख ५५ हजार रहेको छ । कम्पनीको चुक्ता पुँजी गत आवको चैत मसान्तको तुलनामा २० दशमलव ५४ प्रतिशत र जगेडा कोष ३० दशमलव ९९ प्रतिशत बढी हो । कम्पनीले सो अवधिसम्ममा ५ अर्ब १८ करोड ५२ लाख कर्जा प्रवाह गरेको छ जुन गत आवको सोही अवधिको तुलनामा ३४ दशमलव १८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २७ दशमलव ६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १७ दशमलव ९० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ३९ गुणा रहेको छ । 

हिमालय ऊर्जाको आइपिओ बाँडफाँड
हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले मंगलबार आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले ०७५ चैत २० गतेदेखि २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सोमध्ये १३ लाख ६६ हजार २ सय कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गरिएको थियो । सो सेयरमा कुल ६९ हजार ७ सय ८ जना लगानीकर्ताले ४८ लाख ९५ हजार ८ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये ३८ जना लगानीकर्ताको आवेदन रद्द भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बताएको छ । स्वीकृत भएका कुल ६९ हजार ६ सय ७० आवेदनमध्ये ६६ हजार ९ सय ५० लगानीकर्तालाई २० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । 

सिभिलको वार्षिक साधारणसभा
सिभिल बैंक लिमिटेडले वैशाख २७ गते अमृतभोग, कालिकास्थानमा सातौँ र आठौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा आव ०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने र आव ०७४/७५ को मुनाफाबाट ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन पनि सोही सभामा गर्ने प्रस्ताव रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले वैशाख १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।