मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रकाश धौलाकोटी
२०७६ बैशाख ४ बुधबार ०६:२४:००
Read Time : > 1 मिनेट
समाचार

मल्लकालीन शैलीमै विद्यालय भवन पुनर्निर्माण गरिने

Read Time : > 1 मिनेट
प्रकाश धौलाकोटी
२०७६ बैशाख ४ बुधबार ०६:२४:००

भूकम्पले क्षतिग्रस्त मध्यपुरठिमी नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालयको भवन मल्लकालीन शैलीमै पुनर्निर्माण थालिएको छ । कस्तो शैलीमा भवन बनाउने भन्ने विषयमा लामो अलमलपछि नगरपालिका आफैँले क्षतिग्रस्त भवनको पुनर्निर्माण थालेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयको भवन मौलिक शैलीमा बनाउन अस्वीकार गरेपछि नगरपालिकाले आफ्नै खर्चमा निर्माण थालेको मेयर मदनसुन्दर श्रेष्ठले बताए । 

भवन निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । ‘पुरानै शैलीमा भवन बनाउन प्राधिकरणले मानेन, त्यसैले नगरपालिकाबाटै बजेट छुट्याएर पुनर्निर्माणको काम थालिएको हो,’ मेयर श्रेष्ठले भने । प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा (सिएलपिआइयू) ले विद्यालयका लागि ७५ लाख रुपैयाँ विनियोजन गरी आरसिसी भवन बनाउने तयारी गरेको थियो । 

नगरवासी र पुरातत्व पुरानै शैलीको पक्षमा
नगरवासीले पुरानै शैलीमा भवन बन्नुपर्ने अडान राखेपछि पुनर्निर्माण अन्योल बनेको थियो । पुरातŒव विभागले समेत भवन मल्लकालीन शैलीमै बनाइनुपर्ने भनेपछि नगरपालिकाले बजेट विनियोजन गरेको प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठले बताए । ‘आरसिसी ढलानको प्रस्ताव पुरातत्व विभागले समेत अस्वीकार ग-यो, त्यसैले नगरपालिका आफैँले विद्यालय भवन निर्माण थालेको हो,’ प्रधानाध्यापक श्रेष्ठले भने । 

विद्यालय भवनको प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ र मेयर श्रेष्ठले संयुक्त रूपमा शिलान्यास गरेका छन् । सिएलपिआइयूले रड, सिमेन्टलगायत उपकरण प्रयोग गरी आरसिसी भवन निर्माण गर्ने अडान नछोडेका कारण भवन निर्माणमा ढिलाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठले बताए । शिक्षक, अभिभावक र विद्यालय परिवारको आग्रहमा नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेपछि भवन निर्माण सुरु भएको अध्यक्ष श्रेष्ठले बताए ।

भक्तपुरका अन्तिम राजा रणजित मल्लले महारानी गंगाका लागि निर्माण गरेको नौतले दरबार विभिन्न कालखण्डमा भत्किएको र जीर्णोद्वार गर्ने क्रममा दुई तलामा सीमित भएको थियो । तलेजु भवानी मन्दिर परिसरको भवन गंगा महारानीको इच्छाबमोजिम नै चारैतिर बाटो राखेर बनाइएको स्थानीय बताउँछन् । सोही दरबार क्षेत्रमा ०२३ सालमा विद्यालय पुनस्र्थापित गरिएको थियो । 

दृष्टिविहीनका लागि छुट्टै व्यवस्था
विद्यालयले दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढ्दो छ । गत वर्ष मात्र करिब तीन सय नयाँ विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । ०२१ सालमा स्थापित विद्यालयमा कक्षा–१२ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् । 

 नगरकै नमुना विद्यालय बनाउने योजना
नगरपालिकाले आदर्श माविलाई नगरकै नमुना विद्यालय बनाउने उद्देश्य लिएको मेयर श्रेष्ठले बताए । ‘आधुनिक सुविधासम्पन्न विद्यालय बनाउने हाम्रो योजना छ,’ उनले भने, ‘पूर्वाधार, स्वच्छ खानेपानी, शौचालय, ल्याबलगायतको व्यवस्थापन छिट्टै गरिन्छ ।’ नगरपालिकाले विद्यालय व्यवस्थापन समितिमार्फत विद्यालय प्रशासन र १० वटा कक्षा कोठासहितको दुईतले भवन निर्माण गर्ने उनले बताए । 

विद्यालय भवन इँटा, चुना र सुर्कीको प्रयोग गरी परम्परागत शैलीमा नै निर्माण हुने भएको छ । विद्यालयका दुईवटा भवन यसअघि प्रवलीकरण गरिसकिएको छ । विद्यालयलाई प्रदेश ३ सामाजिक मन्त्रालयले समेत चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ उपलब्ध गराएको व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए । प्रदेश सरकारको बजेटबाट विद्यालयले शौचालय निर्माण गरेको छ ।