मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख ३ मंगलबार ०९:०८:००
Read Time : > 5 मिनेट
खेलकुद

वर्ष समीक्षा : नेपाली खेलकुदमा क्रिकेटकाे राज

Read Time : > 5 मिनेट
२०७६ बैशाख ३ मंगलबार ०९:०८:००

केही वर्षयता नेपाली खेलकुदमा क्रिकेटले राज गर्दै आएको छ । देशमा फुटबल लोकप्रिय भए पनि क्रिकेटका खेलाडी ०७५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै सक्रिय रहे । क्रिकेटरले अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व कीर्तिमान पनि राखे भने टोली ऐतिहासिक सफलता हात पार्न सफल भयो । युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० फ्रेन्चाइज बेस प्रतियोगितामा विश्वका प्रतिष्ठित घरेलु लिगहरूमा मुख्य खेलाडी बने । 

यता पाँच वर्षपछि सहिद स्मारक ए डिभिजन लिग फुटबल सम्भव भयो । राष्ट्रिय खेलकुद परिषद्ले विवादित संघहरूलाई एकीकरण गर्ने काम यसै वर्ष सुरु गरी तीव्रता दियो । खेलकुदका सबै इभेन्टका महत्वपूर्ण घटना समेटेर हेर्दा नेपाली खेलकुदका लागि ०७५ औसत वर्षका रूपमा रह्यो । 


 क्रिकेट सन्दीप टी–२० आइकन 
गत वर्षको मार्चमा सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्स (अहिले दिल्ली क्यापिटल)बाट विश्वचर्चित टी–२० लिग इन्डियन प्रिमियर लिगमा डेब्यु गरेका थिए । केवल तीन खेलमा मौका पाउँदा सन्दीप सनसनीपूर्ण प्रदर्शन गर्न सफल भए । सोही मौकाकै कारण सन्दीप वर्षभरि नै व्यस्त क्रिकेटर बने । वर्ष ०७५ मा विश्वभर भएका लगभग सबै चर्चित टी–२० लिगमा उनी आबद्ध भए । विश्वप्रसिद्ध टी–२० लिगमा सन्दीप आबद्ध मात्र भएनन्, उनले आफू सहभागी टोलीलाई निराश पारेनन् । सबै टी–२० लिगमा सन्दीपले विकेट हात पारे । 

एक वर्षको अवधिमै सन्दीपले टी–२० मा ५० विकेटको कोसेढुंगा पूरा गरे । यस वर्ष टी–२० खेलमा स्पिनरबाट सर्वाधिक विकेट लिने सन्दीप नै हुन् । उनले टी–२० का एक नम्बर अफगानी खेलाडी रसिद खान, पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी तथा बंगलादेशका अलराउन्डर सकिब अल हसनजस्ता दिग्गज खेलाडीलाई चुनौती दिए । गत वर्ष प्रमुख फ्रेन्चाइज क्लबमा आबद्ध हुँदा सन्दीप कलिलो उमेरमै करोडपति बने । खेलेरै करोडभन्दा बढी आम्दानी गर्ने सन्दीप एक्ला नेपाली खेलाडी हुन् । 

 ऐतिहासिक सिरिज र विश्व कीर्तिमान
नेपालले ०७५ मै दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्यो । एकदिवसीय मान्यता पाएको पाँच महिनापछि नेदरल्यान्डविरुद्धको सिरिज २–१ ले नेपालले गुमायो । त्यसपछि माघमा नेपाल युएईको भ्रमणमा निस्कियो, जहाँ नेपालले ऐतिहासिक रूपमा युएईलाई २–१ ले हराउँदै एकदिवसीय सिरिज हात पार्‍यो । 

समान अन्तरमा नेपालले टी–२० सिरिजसमेत जित्यो । सो भ्रमणमा व्यक्तिगत प्रदर्शनमा नेपाली खेलाडी अब्बल रहे । युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा ५५ रनको इनिङ खेलेसँगै युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले विश्व कीर्तिमान बनाए । आधिकारिक रूपमा सबैखाले अन्तर्राष्ट्रिय खेलमा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड रोहितले आफ्नो नाममा लेखाए । उनले रेकर्ड बनाउँदा क्रिकेट खेलकै लिजेन्ड सचिन तेन्दुलकर र अफ्रिदीलाई पछि पारे । तेस्रो खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेसँगै उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलो ब्याट्सम्यान बने । टी–२० मा सन्दीप जोराले कम उमेरमा डेब्यु गरी अर्धशतक बनाउने कीर्तिमान बनाए । 

 पुरुष र महिलाका फ्रेन्चाइज
आइसिसीको प्रतिबन्धका कारण नेपाल क्रिकेट संघ निष्क्रिय अवस्थामा छ । तर, घरेलु क्रिकेटमा यसको असर प्रत्यक्ष देख्न पाइएको छैन । यसपटक क्विन्सले पहिलोपटक पोखरामा पोखरा प्रिमियर लिग आयोजना गर्‍यो । योसँगै नेपालमा अब नियमित रूपमा पुरुष खेलाडीका टी–२० लिग हुनेछन् । यसअघि धनगढी र एभरेस्ट प्रिमियर लिग सञ्चालनमा थिए । यता महिला खेलाडीलाई व्यस्त र व्यावसायिक बनाउने क्रममा क्विन्स प्रालिले नै पहिलोपटक महिला टी–२० को घोषणा गर्‍यो । लामो समयपछि महिला खेलाडीले दुईवटा अन्तर्राष्ट्रिय खेलमा भाग लिए । थाइल्यान्डमा टी–२० स्म्यास तथा विश्वकप छनोटमा नेपालले भाग लियो । दुवै प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रह्यो । 

 फुटबल

रेलिगेसनविनाको लिग
नयाँ नेतृत्वसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग घोषणा गर्‍यो । यसपटकको लिगमा पहिलेजस्तो चार्म थिएन । यसको एउटै कारण कुनै पनि क्लब रेलिगेसनमा नपर्ने थियो । रेलिगेसन नहुँदा क्लबहरूले लिगमा औपचारिकता मात्र पूरा गर्ने उद्देश्य राखे । मनाङ लगातार ११ जित निकाल्दै अपराजित रूपमा ३ खेलअघि नै लिग च्याम्पियन बन्यो । 

लिगको दोस्रो चरणमै प्रमुख दाबेदार थ्री स्टारलाई हराउँदा मनाङको उपाधि यात्रा सहज बन्यो । यद्यपि, मनाङ अन्तिम खेलमा भने फ्रेन्ड्ससँग स्तब्ध भयो । आश्चर्यजनक रूपमा संकटा उपविजेता बन्यो । रेलिगेसन नभए पनि यस जोनमा न्युरोड टिम र मच्छिन्द्र रहे । दुवै क्लबले लिगमा समान एक–एक जित निकालेका थिए । यसै वर्ष रोकिएका बी र सी डिभिजन लिग पनि चालू भए । 

 महिला टोली हाबी
अन्तर्राष्ट्रिय सहभागिता तथा नतिजालाई विश्लेषण गर्दा पुरुष सिनियर टोलीभन्दा महिला नै सफल देखिए । महिला टोली पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यो । विराटनगरमै भएको पाँचौँ साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदा चौथोपटक उपविजेता बन्यो । भारतमा भएको हिरो गोल्डकपमा नेपाल उपविजेता भयो । यसै साता म्यानमारमा भएको टोकियो ओलम्पिकमा निराशाजनक प्रदर्शन गरेको महिला टोलीले अन्तिम खेलमा इन्डोनेसियालाई २–१ ले हरायो । 

पुरुषतर्फ नेपालले साफ च्याम्पियनसिप र कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा सहभागिता जनायो । मैत्रीपूर्ण खेलको पहिलो भिडन्तमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो खेलमा १–० ले पराजय बेहोर्‍यो । एन्फाले योहान कालिनलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेपछिको पहिलो अन्तर्राष्ट्रिय सहभागिता सन्तोषजनक रह्यो । 

 मोफसलमा दाउफिन्सको वर्चस्व
लिगको समाप्तिसँगै जाडो मौसममा गोल्डकपले खेलाडीलाई निकै व्यस्त बनाए । यद्यपि, एन्फाको खेल–तालिका वैज्ञानिक नहुँदा खेलाडीहरू एकपछि अर्को गोल्डकपमा सहभागिता जनाउन बाध्य भए । मोफसलमा भएका प्रतियोगितामा बाध्यात्मक रूपमा एकपछि अर्को गोल्डकपमा सहभागी हुँदा खेलाडी आरामविहीन बने । यसपटक विदेशी खेलाडीको क्यामरुनी टोली दाउफिन्सले तीनवटा गोल्डकप उपाधि जित्यो । थ्री स्टार र आर्मीले उपाधि जिते । लिग च्याम्पियन मनाङले यस सिजनमा कुनै गोल्डकप जित्न सकेन । 

२० वर्षपछि एसियाडमा रजत
गत भदौमा इन्डोनेसियाको जकार्तामा एसियन खेलकुद प्रतियोगिता (एसियाड) आयोजना भयो । नेपालले लगभग सबै खेलमा सहभागिता जनायो । नेपालले कराते, तेक्वान्दो, उसु र बक्सिङमा पदकको आशा राखेको थियो । तर, यी खेलका स्टार खेलाडीहरू पदकनजिक नै पुग्न सकेनन् । आशा गरेका खेलका खेलाडी पदकविहीन हुँदा यसपटक नेपाल एसियाडबाट रित्तो हात फर्कनुपर्ने अवस्था आइसकेको थियो । नेपालका पदाधिकारीहरूले पदकको आशा नै त्यागिसकेका थिए । तर, पुरुष प्याराग्लाइडिङ टोलीले पहिलोपटक एसियाडमा सहभागी प्याराग्लाइडिङमा ऐतिहासिक सफलता दिलाए । नेपाललाई ऐतिहासिक रूपमा रजत पदक दिलाउन टोली सफल भयो । सन् १९९८ मा सविता राजभण्डारीले बैंकक एसियाडमा नेपाललाई रजत दिलाएकी थिइन् । त्यसपछि नेपाल एसियाडमा रजतविहीन थियो । नेपालले एसियाडमा २० वर्षपछि रजत हात पारेको थियो ।

एसियाडमा व्यवस्थापनतर्फ नेपाली टोलीको अवस्था भने भद्रगोल नै देखियो । एथ्लेटिक्समा टिम म्यानेजर र प्रशिक्षकबीच समन्वय नहुँदा खेलाडीले भाग लिनै पाएनन् । उता, उसुमा नेपाल आफूखुसी प्रतियोगिता नखेल्ने भनेर फर्कियो । यसपटक पनि एसियाडमा नेपाली टोली जम्बो भए पनि उपलब्धिमा भने कमजोर रह्यो ।

अन्योलबीच आठौँ  राष्ट्रिय र १३औँ साग घोषणा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा दुईवटा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी रेकर्ड राखे । विष्टकै कार्यकालमा विराटनगर र नेपालगन्जमा बृहत् खेलकुद भए । विष्टले प्रत्येक दुई वर्षमा हुने बृहत् खेलकुदको अवधारणा पूरा गरेका छन् । यद्यपि, आठौँ राष्ट्रिय खेलकुद गराउन विष्टले तीनपटक मिति फेरे । भौतिक पूर्वाधारको तयारी राम्रो नहुँदा पनि नेपालले आउँदो डिसेम्बरमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मिति घोषणा गरिसकेको छ । 

महत्वपूर्ण दुई अन्तर्राष्ट्रिय खेलमा स्वर्ण 
व्यक्तिगत प्रदर्शनमा नेपालका दुई खेलाडी अन्तर्राष्ट्रिय एरिनामा नेपालको झन्डा फहराउन सफल भए । बडिबिल्डर महेश्वर महर्जनले थाइल्यान्डमा भएको १०औँ विश्व शारीरिक सुगठनअन्तर्गत ७५ केजी तौल समूहमा स्वर्णपदक जिते । बडिबिल्डिङमा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । बडिबिल्डिङकै चर्चा गर्दा धर्मश्रीका पूर्वविजेता सानु गुरुङले नेपालमा पहिलोपटक ओलम्पियाको प्रो–छनोट चरण गराउन सफल भए । उता, एथ्लेटिक्समा नेपालले अहिलेसम्मकै ठूलो सफलता हात पार्‍यो । राजविराजका अजितकुमार यादवले तेस्रो एसियाली युथ च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाए । एपिएफमा आबद्ध यादवले ३ हजार मिटर दौडमा स्वर्ण हात पारेका थिए । यता, ब्याडमिन्टनमा प्रिन्स दाहालले दुबई ओपनको उपाधि जिते । 

 भलिबलमा एपिएफ अगाडि
नेपालको राष्ट्रिय खेल भलिबल यस वर्ष पूरै सक्रिय रह्यो । एपिएफ यसपटक पनि भलिबलमा राज गर्न सफल भयो । एपिएफले राष्ट्रियस्तरका १२ मध्ये १० प्रतियोगितामाथि कब्जा जमायो । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको एपिएफलाई न्युडायमन्डले नजिकबाट चुनौती दिएको थियो । यता स्कुल र कलेजमा बास्केटबल खेलले पहिलो प्राथमिकता पायो । 

 विवादित संघको एकीकरण
यसै वर्ष परिषद्मा दोस्रोपटक उपाध्यक्ष चुनिएका पीताम्बर तिम्सिनाले सुरुमै विवादित संघलाई एकीकरण गर्ने काम थाले । खेलकुद मन्त्रालयले गठन गरेको समितिले जिम्न्यास्टिक–कराते संघलाई एकीकरण गरेको थियो । यी दुवै संघ लामो समयदेखि विवादित थिए । एकले राष्ट्रिय तथा अर्कोले अन्तर्राष्ट्रिय मान्यता पाउँदा खेलाडीहरू कता लाग्ने भन्ने द्विविधामा थिए । वर्षको अन्तमा एथ्लेटिक्सलाई पनि विवादमुक्त गराउने प्रयास भयो, तर त्यसको सार्थकतालाई अहिले पनि शंकाको दायरामै राखिएको छ ।