१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३ मंगलबार ०८:४५:००
Read Time : > 2 मिनेट
सेयर बजार

०७६ को पहिलो कारोबार दिन नेप्से हरियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३ मंगलबार ०८:४५:००

०७६ सालको पहिलो कारोबार दिन नेप्से परिसूचक हरियो भएको छ । यस दिन नेप्से शून्य दशमलव ४० अंक बढेर बन्द भएको छ । यस दिन नेप्से बढ्न लघुवित्त समूहले टेवा दिएको छ । सो समूहमा लगानीकर्ता आकर्षित भएका कारण समग्र नेप्से बढ्न पुगेको हो । तेस्रो त्रैमासको अन्त्यसँगै कम्पनीहरूले सो अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । यस कार्यमा एनएमबि माइक्रो फाइनान्स अगाडि रहेको छ । कम्पनीले ५२ दशमलव ६२ प्रतिशत नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको हो । आगामी दिनमा बजारलाई कम्पनीहरूको वित्तीय विवरणले दिशा निर्धारण गर्ने एक ब्रोकरले बताए । कम्पनीहरूले नाफामूलक वित्तीय विवरण सार्वजनिक गरे लगानीकर्ता सोतर्फ आकर्षित हुने उनको भनाइ छ । यस दिनदेखि पुँजी बजारमा प्यान अनिवार्य भएको छ । १ पटकमा ५ लाखभन्दा बढी रकमको सेयर कारोबार गर्नुपरेमा प्यान अनिवार्य गरिएको छ । यसले पनि बजारलाई सकारात्मक प्रभाव पारेको छ ।
  
बजार सारांश

सोमबार नेप्से परिसूचक ४ दशमलव ७० अंक बढेर १ हजार १ सय ८८ दशमलव ७१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव १३ अंक बढेर २ सय ५४ दशमलव ७७ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४६ अंक बढेको छ । यस दिन १ सय ६५ कम्पनीको ५ हजार ४ सय ५ पटकको कारोबारमा ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँबराबरको ९ लाख ६४ हजार ५ सय ९८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
 
प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ६७ दशमलव ९६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ५२ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ८४ दशमलव शून्य ७ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ७९ दशमलव ४३ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ९१ दशमलव १० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ९३ दशमलव ४९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

७.५६ प्रतिशत बढ्यो एभरेस्टको सेयर मूल्य
यस दिन एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७ दशमलव ५६ प्रतिशत बढेको छ । सो कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ७२ रुपैयाँ बढेर १ हजार २५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीले ३ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । सो प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गर्ने भएको छ । सोही कारण लगानीकर्ता सो कम्पनीतर्फ आकर्षित भएका हुन् । यस दिन साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन ६ दशमलव ८९ प्रतिशत घटेको छ । त्यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

नेकोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन नेको इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ । सो बिमा कम्पनीको यस दिन २ करोड ७५ लाख ५० हजार रुपैयाँबराबरको ५३ हजार १ सय ७० कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन कुमारी बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । कुमारीको यस दिन ७५ हजार २ सय १७ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको अपर तामाकोसीको यस दिन ४ सय ३२ पटक सेयर कारोबार भएको छ । 

६ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ४ समूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव शून्य ४ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक यस दिन १ दशमलव ३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५६ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २८ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव १३ प्रतिशत बढेको छ । 

अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ७५ प्रतिशत घटेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ४७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३२ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव १९ प्रतिशत घटेको छ ।