मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० बैशाख ३१ आइतबार १३:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली अन्त्येष्टि घाट गुरुयोजनाअनुरूप नै निर्माण गर्न माग 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० बैशाख ३१ आइतबार १३:४५:००

कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन अन्त्येष्टि घाट गुरुयोजनाअनुरूप बनाउन स्थानीयले माग गरेका छन्। भीमदत्त नगरपालिका– ११ भुजेलास्थित महाकालीमा निर्माणाधीन अन्त्येष्टि घाट गुरुयोजनाअनुरूप नभएको भन्दै स्थानीयले असन्तुष्ट जनाएका हुन्।

निर्माणअघि थुप्रै संरचनासहितको गुरुयोजना बने पनि अहिले त्यसअनुसार पूरा संरचना बनेको छैन। शनिबार महाकाली परमधाम शान्तिघाट समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीयले ०७५ सालदेखि निर्माण सुरु भएको उक्त अन्त्येष्टि घाट अधुरै रहेको बताए।

महाकाली परमधाम शान्तिघाट समितिका संस्थापक अध्यक्ष तारादत्त जोशीले गुरुयोजनाअनुरूप अन्त्येष्टि घाट तीर्थस्थलकै रूपमा निर्माण हुने भनिए पनि हाल निर्माण नभएको उल्लेख गरे। ‘उतिवेला हामीलाई सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले गुरुयोजनाअनुरूप नै निर्माण हुन्छ भन्यो, अहिले आएर त्यसअनुरूप गरेको छैन,’ उनले भने, ‘किरियापुत्री बस्ने स्थल, शिवालय मन्दिर, वृक्षरोपणसहित विभिन्न संरचना बनाउने भनिएको थियो।तर, अहिले ती संरचनाविनै भवन बनाइएको छ।’ 

गुरुयोजना नै गायब गरेर आफूअनुकूल संरचना बनाएकाले प्रयोगविहीन भएको उनको भनाइ छ। महाकाली परमधाम शान्तिघाट समितिका सदस्य पूर्णानन्द जोशीले गुरुयोजनाविपरीत अन्त्येष्टि घाट निर्माण भएकाले स्वीकार्य नहुने बताए।

स्थानीय शिक्षक भैरवदत्त भट्टले हरेक क्षेत्रमा अनियमितता, भ्रष्टाचारको गन्ध अन्त्येष्टि घाटमा पनि भएकाले गुरुयोजना मिचेर केही संरचना बनाएर अलपत्र छाडिएको आरोप लगाए। ‘यो भवन निर्माणमा भ्रष्टाचार भएको छ,’ उनले भने, ‘गुरुयोजनाअनुरूप भएको छैन, छानबिन गरेर कारबाही गर्नुपर्छ।’

समितिका सचिव गोविन्दबल्लव पन्तले गुरुयोजना खोल्नका लागि वडादेखि सहरी विकास कार्यालय धाउँदासमेत सुनुवाइ नभएको बताए। ‘यो आर्यघाट निर्माणको गुरुयोजना नै गायब गरिएको छ,’ उनले भने, ‘यतिसम्म बदमासी भयो, त्यही भएर घाट निर्माण भएको पाँच वर्षसम्म पनि सञ्चालनमा आएको छैन।’

समितिका अध्यक्ष डा. कृष्णदत्त जोशीले महाकालीको बाढीलगायत विभिन्न कारणले दाहसंस्कारमा समस्या भइरहेको भन्दै सरकारी निकायबाट बदमासी भएको बताए। ‘गुरुयोजनाअनुरूप निर्माण कार्य अघि बढेको छैन,’ उनले भने, ‘निर्माण गरिएको गुरुयोजना पनि गायब गरिएको छ, खोज्न जाँदा कर्मचारीले छैन भन्छन्। यतिसम्मको जनतामाथि घात र गैरजिम्मेवारीपन भयो।’

भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले अन्त्येष्टि घाट क्षेत्रलाई धार्मिक स्थलकै रूपमा विकास गर्नुपर्ने बताए। अध्यक्ष थापाले गुरुयोजना खोजेरै भए पनि सोहीअनुरूप बाँकी संरचना निर्माण गराएर सञ्चालन गर्नुपर्नेमा जोड दिए। १६ माघ ०७५ मा झन्डै साढे तीन करोड बजेटसहित अन्त्येष्टि घाट निर्माणका लागि शिलान्यास गरिएको थियो। तर, गुरुयोजनाअनुरूप निर्माण नभएको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन्।