मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० बैशाख २८ बिहीबार १४:१८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

महाकाली करिडोर : ब्रह्मदेव जिरो प्वाइन्टदेखि ट्रयाक खोलिँदै

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० बैशाख २८ बिहीबार १४:१८:००

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म निर्माण हुने महाकाली करिडोर सडक निर्माणको काम सुरु भएको छ। भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवदेखि उत्तर कञ्चनपुरको क्षेत्रमा यसअघि अवरुद्ध भएको महाकाली करिडोरको काम सञ्चालन भएको हो।

तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको सीमा कौवानीसम्म झन्डै ११ किलोमिटर सडक विस्तारका लागि ठेक्का भएको थियो। तर, सडकमा पर्ने रूख कटानीको आदेश नपाएपछि काम रोकिएको थियो। आर्थिक वर्ष ०७७–७८ मा दिवा सन्नीदेव जेभीले महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवदेखि कौवानीसम्म ११ सहित त्योभन्दा पर १५ किलोमिटरसम्म ट्रयाक खोल्नका लागि ठेक्का पाएको थियो।

सडकमा पर्ने रूख काट्न अनुमति नपाएपछि रोकिएको काम वैशाख दोस्रो सातादेखि पुनः सुरु भएको छ। १५ फागुन ०७९ मा साना ठूला गरी सडकमा पर्ने एक हजार नाै सय ५५ रूख काट्न दिने निर्णय भएसँगै सडक विस्तार कार्य अघि बढेको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले डिभिजन वन कार्यालयअन्तर्गत पोलसहित सात सय ९३ रूख र सिद्धनाथ सामुदायिक वनअन्तर्गत पोलसहित एक हजार एक सय ६१ रूख काट्न अनुमति पाएको बताए। ‘हामीले त्यहाँ वनकै कर्मचारी नियमित खटाएका छौँ। सडकमा पर्ने रूख काटेर घाटगद्दी गर्न अनुमति दिएका छौँ,’ उनले भने।
 
महाकाली राजमाग (ब्रह्मदेव–झुलाघाट–टिंकर सडक) योजना प्रमुख लक्ष्मणदत्त जोशीले कञ्चनपुर खण्डमा पर्ने रूख काट्ने अनुमति पाएसँगै सडक निर्माण कार्य अघि बढेको बताए। सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेव जिरो प्वाइन्टदेखि उत्तर डडेल्धुरासम्म ११ किलोमिटर सडक विस्तार गरिने बताए। ‘सडकमा पर्ने रूख काट्न अनुमति पाएसँगै निर्माण कम्पनीले काम अघि बढाएको छ,’ उनले भने, ‘११ किलोमिटर सडक चौडाइसँगै विस्तार हुनेछ।’

महाकाली नदी किनारैकिनार कञ्चनपुर–दार्चुला जोड्ने उक्त सडक झन्डै डेढ दशकअघि सुरु भएको थियो। कञ्चनपुर खण्ड भने रूख कटानी अनुमतिविना रोकिएको थियो। योजना प्रमुख जोशीका अनुसार ब्रह्मदेवदेखि उत्तर तुसरपानीसम्म ३३४ किलोमिटर सडक आयोजना र त्यहाँदेखि उत्तर तिंकरसम्म ९१ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ।

योजना प्रमुख जोशीले महाकाली करिडोरलाई त्रिदेशीय नाकाकै रूपमा विकास गर्नका लागि ब्रह्मदेवदेखि दक्षिण महाकाली पुलसहित सुक्खा बन्दरगाहसम्म थप १५ किलोमिटर सडक विस्तारका लागि मन्त्रालयमा फाइल पेस गरिएको बताए। हालसम्म डडेल्धुरा र दार्चुला गरी झन्डै ३८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।