मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
रासस सिन्धुपाल्चोक
२०८० बैशाख २८ बिहीबार १२:४०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तातोपानी नाका आंशिक निर्यातमा सीमित

Read Time : > 1 मिनेट
रासस, सिन्धुपाल्चोक
२०८० बैशाख २८ बिहीबार १२:४०:००

चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ।

निर्यात खोलिएलगत्तै चीनको मागअनुरूप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुँडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन्। ‘निर्यात त ठप्प छ। त्यतिवेला नै तयार पारिएका सामग्रीको फारम भरेको पनि एक साता भयो। निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्,’ तातोपानी भन्सार कार्यालयका  अधिकृत दयादन्द केसीले बताए।

अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न, जडीबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म पुर्‍याउन सक्नेछन्। ‘मानिस आवातजावत तथा गाडी खासासम्म जाने कुरा होइन निकासी मात्रै हो,’ प्रमुख भन्सार अधिकृत केसीले भने। तातोपानी नाकाबाट पहिलेजस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्याइ छ।

उनका अनुसार पहिला खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हुँदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो। त्यतिवेला मात्रै खासामा होटेल सञ्चालनलगायत गतिविधिमा तिब्बतीयनबाहेक पाँच सय नेपाली स्थायीझैँं बसोवास गरेका थिए। तर, खासा अहिले सुनसान छ। निकासी खुले पनि नेपालबाट हस्तकलाका सामग्रीबाहेक अन्य वस्तु निर्यातको सम्भावना नभएको भन्सार अधिकृत केसी बताउँछन्।

अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६–७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडालगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन्। बैठकमा व्यापारीले खासासम्म आफूहरू जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरे पनि उनीहरू सकारात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउँछन्।

यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा ‘क्यु सिस्टम’मा छ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन्।

चालू आर्थिक वर्षमा रु. चार अर्ब ६२ करोड भन्सार राजस्व संकलनको लक्ष्य लिइएकोमा अहिलेसम्म रु. दुई अर्ब २० करोड उठेको छ। अहिले चीनले ‘ट्रेड च्यानल’मा सामग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामा बताउँछन्।

अहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ। जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ। एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उनले बताए।