१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १३:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

तराईमा सुरु भयो सिरुवा पर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १३:५३:००

नयाँ वर्षसँगै आदिवासी समुदायले मनाउने सिरुवा पर्व सुरु भएको छ । तराईका जिल्लामा तीन दिनसम्म मनाइने सिरुवा पर्व आइतबारदेखि सुरु भएको हो । 

तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने गरिन्छ । सिरुवा राजवंशी, ताजपुरिया, गन्गाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायको सांस्कृतिक पर्व हो । नयाँ वर्ष सुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा मनाइने पाँचवटा जिल्लामा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा बिदा दिएको हो ।

एक–अर्कामा पानी छ्यापेर मनाइयो
तराईका जिल्लामा आइतबार धुमधामसाथ पानी छ्यापेर सिरुवा पर्व मनाइयणे । पानी सिरुवाका अवसरमा अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने प्रचलन रहेको जानकार बताउँछन् ।

सिरुवा मनाएको रात जडीबुटी ल्याएर घरको चारैतिर पूजापाठ गर्ने प्रचलनसमेत छ । ‘वर्षभरि कुनै पनि शत्रुले परिवारका सदस्यमाथि वैरभाव नराखोस् भन्ने कामनाका साथ पूजा गरिएको हो,’ सिरुवाबारे जानकार युवा आत्माराम राजवंशीले भने । यस अवसरमा सातवटा तरकारीबाट बनाइएको परिकार खाने गरिन्छ । यो परिकार अघिल्लो वर्षको अन्तिम दिन पकाएर नयाँ वर्षको पहिलो दिन खाने गरिन्छ । यसै अवसरमा घुम्नीमरी (भुजा र चना) खाने प्रचलन छ ।

आज हिलो छ्यापाछ्याप
दोस्रो दिन सोमबार हिलो छ्यापाछ्याप गरेर सिरुवा मनाइँदै छ । यसलाई काद सिरुवा भनिन्छ । शरीरमा कुनै प्रकारको रोगव्याधी नलागोस् भन्ने कामनासाथ काद सिरुवा खेलिन्छ । यो दिन कुलदेवतालाई पूजापाठ पनि गरिन्छ । 

सिरुवाको तेस्रो दिन एकअर्कामा रङ र अबिर दलेर रङ सिरुवा खेल्ने गरिन्छ । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रङ सिरुवा खेलेर खुसियाली मनाउने उनीहरूको प्रचलन छ ।