मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टोपलाल अर्याल
२०७६ बैशाख २ सोमबार १०:५६:००
Read Time : > 1 मिनेट
समाचार

भैँसीपालनमा भार्सेली युवा वैदेशिक रोजगारीबाट  र्फिर्कएर भैँसीपालन

Read Time : > 1 मिनेट
टोपलाल अर्याल
२०७६ बैशाख २ सोमबार १०:५६:००

गुल्मीको सत्यवती गाउँपालिका– ८ भार्सेका कुमबहादुर, नन्दु र निर्मललाई बिहान उज्यालो भएदेखि साँझ रात नपरेसम्म बोल्ने फुर्सद हुँदैन । उनीहरू बिहान पाँच बजेदेखि बेलुकी सात बजेसम्मै व्यस्त हुन्छन् । 
दिनमा तीनपटक गोबर फाल्ने 
बिहानै गोबर सोर्नु, भैँसी दुहुनु, दूध तताउनु, मही पार्नु, घिउ र दूध बोकेर गाउँ पुग्नु उनीहरूको दैनिकी हो । भैँसीलाई घाँसपानी, कुँडो र वनको कामले उनीहरूलाई एकैछिन पनि टेको लाग्न दिँदैन । वैदेशिक रोजगारबाट फर्किएका उनीहरूले भार्सेको लामाचौरमा भैँसी फार्म सञ्चालन गरेका छन् । जहाँ उनीहरूको दिनरात बित्छ ।

०७२ बाट सञ्चालनमा आएको फार्ममा अहिले ७२ वटा भैँसी र पाडापाडी छन् । अहिलेसम्म भैँसी फार्ममा करिब ३३ लाख लगानी भइसकेको एक सञ्चालक कुमबहादुर रानाले बताए । कुमबहादुर २३ महिना कतार बसेका थिए भने नन्दु दुई वर्ष कतार र निर्मल दुई वर्ष मलेसिया बसेका थिए । 
प्रत्येक दिन एकजना गाउँमा

प्रत्येक दिन पालैपालो एकजना गाउँमा जान पाउँछन् । त्यसैले फार्ममा भने दुईजना मात्र हुन्छन् । उनीहरूले बिहानको दूध बेच्दैनन् । त्यो घिउका लागि हो । साँझ दैनिक १८ देखि २० माना दूध हुन्छ भने डेढदेखि दुई माना घिउ । घर जाने पालो भएका दूध र घिउ बोकेर गाउँ झर्छन् । बिहानै घरघरमा छाडेका दूध र घिउका भाँडा उठाउँदै फार्म पुग्छन् । गाउँमा एक माना दूधको मूल्य ५० रुपैयाँ छ भने घिउ एक मानाको ६ सय रुपैयाँमा बिक्री भइरहेको निर्मल बुढाथोकीले बताए । दूधबाट मासिक ३० हजार र घिउबाट १८ देखि २० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । 
लैना भैँसीदेखि सुकुटीसम्म बिक्री
थाप्ले लामाचौर भैँसी फार्मबाट दूध, घिउ, पाडा, लैना भैँसीदेखि सुकुटीसमेत बिक्री हुने गरेको छ । फार्ममा भएका ७२ वटा भैँसीमध्ये ५० वटा त चौबिसै घन्टा जंगलमै हुन्छन् । दूध दिने १०–१५ वटाचाहिँ गोठमा ल्याउने र जंगल लैजाने गरिएको अर्का सञ्चालक नन्दु बुढाथोकीले बताए । जंगलमा भएका १५ वटा ब्याउनेछन् । उनीहरूले लैनो भैँसी बिक्री पनि गर्ने गरेका छन् । लैनो भैँसीको मूल्य ५० हजार रुपैयाँ पर्छ । उनले गत वर्ष पाँचवटा लैनो भैँसी बिक्री गरिएको बताए । एक वर्ष पूरा भएको पाडाको मूल्य भने २० हजार पर्छ । थारो बसेको र राँगा भने पशु प्राविधिकमार्फत परीक्षण गरेर काट्ने र सुकुटी बनाएर बेच्ने गरिएको छ । सुकुटीको मूल्य प्रतिकेजी दुई हजार रहेको छ । उनीहरूले भैँसीको मल पनि एक ट्याक्टरको १५ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । 
चितुवाको चुनौती खेप्दै
उनीहरूले लिमी पारकोट जातको भैँसी पालेका छन् । यो जातको भैँसी प्रायः लेकमै बस्न रुचाउँछ । त्यसैले पनि अधिकांश भैँसी जंगलमै छाडिएको हो । यिनीहरूलाई दाना, पानी र अरू व्यवस्थान गर्नुपर्दैन । चिसोमा भएका कारण हत्तपत्त रोग पनि लाग्दैन । तर, चितुवाले भने दुःख दिने गरेको छ । भर्खर जन्मिएका पाडापाडी, सुत्केरी भैँसी र ब्याउने समय भएका भैँसीलाई चितुवाले आक्रमण गर्ने गरेको निर्मल बुढाथोकीले बताए । अहिलेसम्म करिब एक दर्जन भैँसी र पाडापाडी चितुवाको आक्रमणमा मरेको उनले बताए । जंगलमा भैँसीलाई समूहमा विभाजन गरेर छाड्ने गरिएको छ । एक समूहमा २२ वटा भैँसी रहेका छन् । 
थप लगानी गर्न उत्साहित
भैँसी फार्मका लागि लिएको ऋणमध्ये १० लाख रुपैयाँ तिर्न बाँकी नै छ । तर, तीनजना नै उत्साहित छन् । उनीहरूले थप लगानी गरिरहेका छन् । अहिले बंगुरपालन पनि सुरु गरेका छन् । छिट्टै व्यवस्थित रूपमा लोकल कुखुरा पाल्ने योजना पनि रहेको कुमबहादुर रानाले बताए । उनका अनुसार वडादेखि गाउँपालिकास्तरबाट पनि सहयोग मिलेको छ । उनले भने, ‘सबैतिरबाट सहयोग भइरहेको छ, तर कामदारको समस्याचाहिँ चर्कै छ ।’