मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १०:४२:००
Read Time : < 1 मिनेट
साहित्य

कविता चोरेर कृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १०:४२:००

कवि मुनाराज शेर्मा गत शुक्रबार कन्काई नगरपालिका–७ टेक्रामा मधुवन साहित्यिक समाजले गरेको बहुभाषिक कवि गोष्ठीमा प्रमुख अतिथि थिए । कार्यक्रम चलिरहेका वेला कन्काई नगरपालिका–९ घैलाडुब्बाका देवनारायण राजवंशीले आफ्नो कवितासंग्रह ‘वेदना’ सहभागी सबैलाई बाँडे । सो पुस्तक शेर्माको हात परेपछि उनी आश्चर्यमा परे ।

सो संग्रहभित्र शेर्माका २० वटा कविता संगृहित थिए । ती कविता शेर्माको पुस ०७१ मा प्रकाशित कवितासंग्रह ‘शब्दहरूको याक्सा’मा छन् । राजवंशीको कृति भने ०७२ सालमा प्रकाशन भएको छ । ‘भाइले त मेरा थुप्रै कविता सारेर आफ्नो नाममा कवितासंग्रह निकालेछन्,’ शेर्माले भने, ‘उनको संग्रहभित्र मेरा २० कवितालाई २३ वटा शीर्षक बनाएर राखिएको छ ।’ अधिकांश कविताको शीर्षक भने फेरिएको छ ।

कार्यक्रम चल्दै गर्दा शेर्माले आफ्नो कविता चोरिएको बताए । शेर्माले यति भनिसक्दा राजवंशी भने कार्यक्रमस्थलबाट निस्किए । आफ्ना कविता चोरिएकोबारे शेर्माले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरे । सम्मेलनमा उनले आफ्नो कृतिका कविता र राजवंशीका कविता पनि सुनाएका थिए । शेर्माले भने, ‘केटो कलिलो उमेरको छ, उसले गल्ती महसुस गरेर माफी माग्नुपर्छ, हामीले चोरीलाई निरुत्साहित गर्नुपर्छ ।’