मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तीर्थराज बस्नेत
२०७६ बैशाख २ सोमबार १०:१६:००
Read Time : > 2 मिनेट
पर्यटन

कीर्तिपुर युद्ध र पार्क

Read Time : > 2 मिनेट
तीर्थराज बस्नेत
२०७६ बैशाख २ सोमबार १०:१६:००

कीर्तिपुर रिङरोड । पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेना छन् । ढाल र तरबार बोकेका । लाग्छ, युद्धको तयारी हुँदै छ । तर, ती मूर्ति हुन् । त्यहाँ बन्दै गरेको ‘युद्ध स्मारक पार्क’ले दुई सय ६१ वर्षअघिको युद्धको झल्को दिइरहेको छ ।
०००
मिति : १८१४ साल, स्थान : बल्खुखोला । नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे । घमासान युद्ध भयो । यो युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो ।

गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए । पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए । सानो राज्य कीर्तिपुर करिब तीन सय सेनाको भरमा प्रतिकार गरिरहेको थियो । त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् । उसले काठमाडौं, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो । 

दुई पक्षबीच घमासान युद्ध भयो । युद्ध करिब ६ घन्टा चल्यो । धेरै गोरखाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे । तर, राजवध गर्न नहुने नैतिक नियमका कारण उनी बाँचेर मुक्त भए । सो युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिए । 

त्यसको सात वर्षपछि गोर्खाली सेनाले दोस्रोपटक आक्रमण ग¥यो । भदौ १८२१ मा शुरप्रताप शाह, दलजित शाह र श्रीहर्ष पन्तको नेतृत्वमा आक्रमण भएको थियो । यो युद्धमा कीर्तिपुरले पहिलेजस्तो उपत्यकाका अन्य राज्यबाट सैन्य सहयोग पाएन । तर, यहाँका जनताले गोर्खाली सेनालाई गोपुर किल्ला तोड्न दिएनन् । उल्टै गोरखाली सैनिकका कमान्डर शुरप्रतापको आँखा फुट्यो । गोर्खाली सैनिक फिर्ता भयो । तर, ३ चैत १८२२ मा भने गोर्खाली सेनाले कीर्तिपुरमाथि विजय प्राप्त ग-यो । 
०००
कीर्तिपुर रिङरोडबाट बाघभैरव मन्दिर जाने बाटोमै एउटा ढिस्को छ । ढिस्को कीर्तिपुर नगरको वडा नं. १ र १० मा पर्छ । यो त्यही ठाउँ हो, जहाँ गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको थियो । यही ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नुपरेको थियो । यही ढिस्कोमा गोर्खाली फौजका तत्कालीन कमान्डर कालु पाण्डेको टाउको काटिएको थियो । तेस्रोपटकको आक्रमणमा गोर्खाली फौजले यही ठाउँमा बसेर कीर्तिपुरलाई नाकाबन्दी गरेको थियो ।

कीर्तिपुर रिङरोड बाट बाघभैरव मन्दिर जाने बाटोमै एउटा ढिस्को छ । यो त्यही ठाउँ हो, जहाँ गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको थियो ।

अहिले सो ऐतिहासिक ढिस्कोमा ‘युद्ध स्मारक पार्क’ बनिरहेको छ । ती युद्ध झल्काउने गरी लालकाजी लामा मूर्ति बनाइरहेका छन् । उनले अहिलेसम्म चारवटा मूर्ति बनाइसकेका छन् । लामा मात्र होइन, केही समयअघि २८ मूर्तिकार मूर्ति बनाउन त्यहाँ खटिएका थिए । १५ दिन कार्यशाला नै चलेको थियो । भीमकाय ढुंगामा हम्बर र छिनो चलेका थिए । अनि तयार भएका थिए, ऐतिहासिक मूर्ति ।

कीर्तिपुर नगरपालिकाले बनाउन लागेको सो पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति पनि राख्ने योजना रहेको मेयर रमेश महर्जनले बताए । ‘युद्ध स्मारक पार्क’मार्फत नगरपालिकाले कीर्तिपुरको इतिहास जीवन्त बनाउने योजना बनाएको छ । जसका लागि करिब २० करोड खर्च लाग्ने प्रारम्भिक अनुमान छ । काठमाडौं महानगरपालिकाले कीर्तिपुरलाई हरियाली प्रवद्र्धन गर्न दिएको एक करोडसमेत पार्क निर्माणमा प्रयोग हुनेछ । पार्कको डिपिआर बनिरहेको मेयर महर्जनले बताए । पार्कले ४५ रोपनी क्षेत्र ओगट्नेछ । 

पार्क बन्ने यो ढिस्कोमै चीनको ग्रेटवाल शैलीमा ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण हुनेछ । अहिले ३० वटा मूर्ति बनिसकेका छन् । ती मूर्ति युद्ध गरेकै शैलीमा स्थापित गरिनेछ । ‘ठूलो पर्खाल र किल्लासमेत बनाउने योजना छ । जहाँ कालात्मक मूर्ति राख्नेछौँ,’ पार्क निर्माण समितिका सदस्य लक्ष्मीकुमार महर्जन भन्छन्, ‘पार्क निर्माण गर्न केही वर्ष लाग्न सक्छ । तर, यहाँ युद्धसँग सम्बन्धित मूर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउने सामग्री भने राख्न थालेका छौँ ।’ 

पार्कमा संग्रहालयसमेत बनाउने नगरपालिकाको योजना छ । कीर्तिपुर छिर्ने मूलढोकामा भने कीर्तिपुर नगरको निर्माण गर्ने राजा शिवदेवको मूर्ति राख्ने मेयर महर्जनले बताए ।