
एसिसी प्रिमियर कप प्रतियोगिताको उपाधिनजिक पुगेको नेपाललाई वर्षा बाधक बनिरहेको छ ।
युएईविरुद्ध भइरहेको प्रतियोगिताको उपाधि भिडन्त वर्षाका कारण रोकिएको छ । खेल रोकिँदा ब्याटिङमा रहेको युएईले २७.३ ओभरमा एक सय ६ रन बनाउँदा नाै विकेट गुमाइसकेको छ ।
आफ्नो उत्कृष्ट खेलको लय कायमै राख्दै नेपालले आज पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा त्यसलाई निरन्तरता दिई उपाधि भिडन्तमा आफूलाई नजिक पुर्याएको छ ।
तर, दोस्रोपटक वर्षाको कारण रोकिएको खेल अझै सुरु भएको छैन । कीर्तिपुर क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।
पिच र मैदानको अधिकांश भाग कभर गरिएको छ । अम्पाएर र खेलाडी पेभेलियनमा छन् भने झरीको पर्वाह नगरी दर्शक धीरता राख्दै पानी रोकिने र खेल पुनः सुरु हुने प्रतीक्षामा छन् ।
नेपाली क्रिकेटमा नेपाली दर्शकलाई १२औँ खेलाडी भन्ने गरिएको छ । आज पनि त्यो उपमालाई सिद्ध गर्दै २५ हजारभन्दा बढी दर्शक झरीका बाबजुद मैदानबाहिर खेल सुरु हुने प्रतीक्षामा बसिरहेका छन् ।