मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट
२०७५ पौष १० मंगलबार ११:०८:००
Read Time : > 1 मिनेट
समाचार

भारतले नहरमा पानी छाडेन, कञ्चनपुरका किसान मारमा

Read Time : > 1 मिनेट
मोहन विष्ट
२०७५ पौष १० मंगलबार ११:०८:००

महाकाली नदीबाट नेपालतर्फ बनाइएको नहरमा पानी नछाड्दा खेतमा लगाइएको बाली सुक्दै गएको छ । एक महिनादेखि महाकाली सिँचाइ प्रथम र दोस्रो चरणअन्र्तरगतका नहरमा भारतीय पक्षबाट पानी नछाड्दा खेत सुक्दै गएका हुन् ।  वनबासा शारदा ब्यारेजदेखि नेपालले सिँचाइका लागि पानी उपभोग गर्दै आएको छ । सो ठाउँबाट नेपालले हिउँदमा १५० र वर्षामा हजार क्युसेक पानी पाउँदै आएको छ । शारदा ब्यारेज मर्मत गर्न लागेको  भन्दै भारतीय पक्षले नेपालतर्फ छोड्ने पानी बन्द गरिदिएपछि किसानका खेत सुक्खा भएका हुन् ।  


नहरमा पानी नहुँदा कञ्चनपुरका चार स्थानीय तहका किसान मारमा परेका छन् । भीमदत्तनगर, वेदकोट, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसान समस्यामा परेका छन् । नहरकै पानीबाट सिँचाइ गर्दै आएका किसान अहिले नहरमा पानी नभएपछि बालीमा सिँचाइ गर्नबाट वञ्चित भएका छन् ।  वेदकोट नगरपालिका–१० दैजीका किसान प्रदीप रानाले लामो समयदेखि नहरमा पानी नआउँदा गहुँखेती सुक्न लागेको बताए । ‘मंसिरको पहिलो साता गहुँ छरेको थिएँ,’ उनले भने, ‘अहिले गहुँखेतीका लागि सिँचाइ अभाव भएको छ ।’  

वैज्ञानिक वितरण भएन
बेलौरीका स्थानीय किसानसमेत रहेका सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष मनोरथ भट्टले पानी वितरण प्रणाली वैज्ञानिक नभएका कारण हरेक वर्ष किसानले  पानीकै समस्या खेप्नु परेको बताए । ‘नहर मर्मत गर्ने समय खेतीपाती गर्ने समयभन्दा छुट्टै वेला हुनुपर्छ,’ उनले भने, ‘यस्तो गर्दा किसानलाई राहत पुग्छ, पानी चाहिएकै समयमा नहर मर्मत गर्नु हुँदैन ।’ पानी वितरणको विषयमा समेत सरोकारवालाबीच सकारात्मक बुझाइ हुनुपर्ने उनको भनाइ थियो । उनले नहरमा पानी अभाव हुँदा किसानले हाते ट्युबेलबाट सिँचाइ गर्न बाध्य भएको बताए । ‘म जस्तै अरू किसान पनि गहुँ बचाउन घरमा जडान गरिएको हाते विद्युत् मेसिनबाट सिँचाइ गरिरहेका छन्,’ उनले भने ।  महाकाली सिँचाइ दोस्रो चरण जल उपभोक्ता संघका अध्यक्ष वीरबहादुर बडुवालले पानी अभावबारे केन्द्रीय समिति र कार्यालयलाई पटकपटक अवगत गराउँदा पनि समस्या समाधान नभएको बताए । उनले पहिलो चरणको नहरमा आएको केही मात्राको पानी पनि यतै थुन्दा दोस्रो चरणको नहमा एक थोपा पनि नपुगेको बताए ।  

महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख भूविक्रम लिम्बूले भारतीय पक्षबाट शारदा ब्यारेज मर्मतका लागि एक साताको पत्र आएको बताए । ‘१४ मंसिरमा हामीलाई नहर बन्द हुने पत्र आएको थियो,’ उनले भने, ‘एक साताका लागि मात्रै भनिएको थियो, अहिलेसम्म खोलिदिएको छैन ।’ केही खोलिदिएको पानी पनि पहिलो चरणमै ठिक्क भएको उनले बताए ।  शारदा ब्यारेजदेखि नेपालले पाउने पानीबाट कञ्चनपुरको ११ हजार ६ सय हेक्टर जमिन सिञ्चित हुने गरेको छ । पहिलो चरणअन्तर्गत ५ हजार १ सय र दोस्रो चरणअन्तर्गत ६ हजार ५ सय हेक्टर जमिन सिँचाइ हुने गरेको छ ।

 पानी चाहिएकै वेला नहर मर्मत !
बेलडाँडी गाउँपालिका–१ लल्लरेडाँडाका युवा किसान दीपेन्द्र सिंह धामीले नहरमा पानी नछोड्दा किसान  मारमा परेको बताए । ‘कसैले गहुँ खेती गरिसकेका छन, कसैले गरेका छैनन्,’  उनले भने, ‘दुवैखाले किसान मारमा छन् ।’ पानी चाहिएकै वेला नहर मर्मत हुने समस्याका कारण नेपाली किसान मारमा पर्र्दै आएको उनको भनाइ छ । 


सिँचाइ सुविधा भएका किसानले सिजनमा दुई खेती गरेको बताउँदै उनले धान काटेलगत्तै केही किसानले तोरी लगाएका थिए, तोरी लगाएका किसानको खेत अहिले बाँझै छ । ‘तोरीको खेत मरुभूमि जस्तै बनेको छ, खेत चट्टान जस्तै हुँदा जोतखनमा समस्या भएको छ,’ खेतीपातीकै समयमा नहर मर्मत गर्दा किसान जहिले पनि मारमा पर्ने गरेको उनको दुखेसो थियो ।