Skip This
Skip This

फोर्ब्समा आयुषी

२०७६ बैशाख १ आइतबार १६:३३:००

युएसएडको जागिर छोडेर खाली सिसी डटकम खोलेकी आयुषी केसीले आफ्नो नाम विश्वचर्चित पत्रिका फोब्र्समा पनि लेखाएकी छिन् । फोब्र्सले ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एसियाली युवा उद्यमीको सूचीमा आयुषीलाई समेटेको छ । नेपाललाई ‘फोहोररहित’ देश बनाउने उद्देश्यसहित काम गरिरहेकी आयुषीले नयाँ पत्रिकाकी नुनुता राईसँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :

यो व्यवसायको सुरुवाती दिनमा महिनौँसम्म अर्डर शून्य हुन्थ्यो । व्यवसाय भनेको रातारात हुने होइन, धैर्यता हुनुपर्छ भन्ने हामीले बुझेका थियौँ । खाली सिसीको लक्ष्य व्यवसाय गर्नु मात्रै नभएर ‘माइन्ड सेट’ परिवर्तन पनि हो । सफाइ संस्कारमा क्रान्ति ल्याउने काम एक रातमा अवश्य हुँदैन । दुई पाइला अगाडि बढाउँछौँ फेरि एक पाइला पछाडि फर्किन्छौँ । लक्ष्यमा पुग्नका लागि लामो प्रक्रिया अपनाउनुपर्छ । जुन अभ्यास हामीले गरिरहेका छौँ । 

यो सामाजिक अभियान पनि हो । सफा पुस्ता बनाउने । यसका लागि खाली सिसी डटकमले मात्रै गर्न सक्दैन । त्यसका लागि हामी हातमा हात मिलाएर अघि बढ्नुपर्छ भनेर जतिसक्दो धेरैलाई जोड्ने प्रयास गरिरहेका छौँ । यस क्षेत्रमा काम गर्ने दाइहरूको साथ, रिसाइकलवाला कम्पनी, सामान बनाउने दिदीबहिनी/दाजुभाइ, एनजिओ, फोहोर दिनेहरू र सरकारका साथ चाहिएको छ । सबैजना मिलेर सफा जेनेरेसन बनाऊँ भन्ने अनुरोध गरिरहेका छौँ । यसबाट हामी सफा, सुन्दर मात्रै नभएर आर्थिक रूपमा पनि धेरै सक्षम हुनेछौँ । 

भिजिटिङ कार्डले ल्याएको परिवर्तन 
हाम्रो संस्कार के छ भने खाली सिसी उठाउने दाइहरूलाई फोहोर उठाउने मान्छे भन्छौँ । खाली सिसी, पुराना कापी–किताब उठाउने दाइहरूलाई कतिपयले भैया भन्ने प्रचलन छ । घरका बालबच्चालाई तर्साउनका लागि उहाँहरूको नाममा डर देखाउँछौँ । यो गम्भीर विषय हो । त्यसले उहाँहरूको सामाजिक प्रतिष्ठा, आत्मसम्मानमा गहिरो असर गर्छ । हामीले त्यसको ख्याल गर्दै थप यो पेसालाई व्यावसायिक बनाउँदै दाइहरूलाई परिचयपत्र बनाइदियौँ । त्यसमा उहाँको नाम हुन्छ, हाम्रो कम्पनीको नाम छ । डिजिटल विङ मेसिनसहित सामान लिन जाँदा बिल दिनुहुन्छ जसमा लिएको सामानको डिटेल हुन्छ । 

यसबाट सेवाग्राहीलाई पनि विश्वास भयो, दाइहरूको पहिचान पनि बदलियो । आजभोलि दाइहरू भन्नुहुन्छ– हामीलाई भैया भनेर बोलाउनुहुनेहरूले नै मुकेश जी, रामसागर जी, उपेन्द्र जी भनेर बोलाउनुहुन्छ । उहाँहरू पनि अहिले दंग हुनुहुन्छ । त्यसले उहाँहरूको सामाजिक प्रतिष्ठा बढेको छ । काम गर्ने हौसला पनि मिलेको छ । यसले मान्छेको मानसिकतामा परिवर्तन ल्यायो । दाइहरूको परिचय कार्ड सिम्पल कागजको टुक्रा हो । स्मार्ट कार्ड होइन । तर, त्यसले ल्याएको परिवर्तन अमूल्य छ । हामीले चाहेको नै परिवर्तन हो । 

हामीले केही नयाँ गरेका होइनौँ । पचास वर्ष पुरानो व्यवसायलाई बजार मात्रै नयाँ खोजेका हौँ । जोसँग अहिले हामी सहकार्य गरिरहेका छौँ, उहाँहरू तीन–चार पुस्तादेखि यही व्यवसायमा संलग्न हुनुहुन्छ । यो व्यवसायको सबभन्दा बलियो स्रोत भनेको उहाँहरू नै हो । हामीले मात्रै जसले फोहार बेच्नु भएको थिएन उहाँहरूलाई बजार दियौँ । जसको फोहोर खरिद गर्न मुकेश दाइ, उपेन्द्र दाइहरू पुग्नुभएको थिएन त्यहाँसम्म पु-याइदिने काम गरेका हौँ । 

उहाँहरूको व्यवसायलाई सहज बनाउन खोजेका हौँ । दिनभर कराएर अपहेलित हुँदै दश केजी सामान किन्नुहुने दाइहरू आजभोलि निश्चित समयमा निश्चित स्थानमा गएर स–सम्मान ल्याएर आउनुहुन्छ । हामीले खाली सिसीलाई ‘डटकम ट्विस्ट’ मात्रै दिएका हौँ । 

सफाइ संस्कारको अभियान 
फोहोर छुट्याउनका लागि बालबालिकालाई सिकाउने मुख्य ठाउँ भनेको विद्यालय हो । हामी विभिन्न स्कुलमा गयौँ । बच्चाहरूलाई पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने भनेर किताबमा मात्रै पढाएर हुन्न । प्रयोगात्मक रूपमा छुट्याउन सिकाउन अनुरोध ग¥यौँ । सुरुमा यसलाई सकारात्मक रूपमा लिइएन । तर, हाम्रो निरन्तर प्रयासले अहिले विद्यालयहरूले सकारात्मक रूपमा लिन थाल्नु भएको छ । हाम्रो निरन्तर प्रयासले बिस्तारै परिवर्तन हुँदै गएको छ । हामी सफल हुन्छाैँ, तर समय लाग्छ । ‘माइन्ड सेट’ गर्न सहज छैन बिस्तारै हुन्छ हामी विश्वस्त छौँ ।

जिन्स क्याम्पियन 
हामी खाली सिसी, पुराना कापी–किताब खोज्ने दाइहरू र रिसाइकल गर्न चाहनेहरूका लागि नयाँ बजार खोजिदिने गर्छौँ । हामीले केवल खाली सिसी, पुराना खाता–किताब, टिन, फलाम मात्रै नभएर रिसाइकल गर्न मिल्ने सबै सामान लिन्छौँ । सम्बन्धित बजारलाई उपलब्ध गराउँछौँ । 

भर्खरै मात्रै हामीले ‘जिन्स क्याम्पियन’ गरेका थियौँ । हामीले जिन्स कपडा किलोको दश रुपैयाँले लिएर रिसाइकल गर्न चाहने एउटा संस्थालाई दियौँ । एकल महिलाका लागि काम गर्ने संस्थामा महिला दिदीबहिनीका लागि रोजगार भयो । उहाँहरूलाई जीवनयापनका लागि आम्दानी पनि भयो । त्यसको पुनः सदुपयोग पनि भयो जुन विगतमा ल्यान्डफिल्डमा जाने गर्दथ्यो । कुहिन महिनौँ लाग्थ्यो । त्यसबाट टक्सिन उत्पादन हुन्थ्यो, वातावरण पनि दूषित हुन्थ्यो । 

हामीले केही नयाँ गरेका होइनौँ । पचास वर्ष पुरानो व्यवसायलाई बजार मात्रै नयाँ खोजेका हौँ । जोसँग अहिले हामी सहकार्य गरिरहेका छौँ, उहाँहरू तीन–चार पुस्तादेखि यही व्यवसायमा संलग्न हुनुहुन्छ । 

पुराना सामान उठाउने दाइका लागि पनि यो नयाँ भयो । किनभने उहाँहरूले कहिल्यै जिन्स उठाउनुभएको थिएन । जसलाई पुराना जिन्सको आवश्यकता थियो उहाँहरूलाई पनि उपलब्ध भयो । यसरी हामी बजार खोजिदिने काम गर्छौं । 

सोचाइमा परिवर्तनको खाँचो
मैले अध्ययन गर्ने वेला नेपालमा रिसाइकल हुने उद्योग र रिसाइकल हुने परिणाम खोजेँ तर तथ्यांक नै भेटिनँ । यसमा कसैको चासो नै पुगेको पाइनँ । हामी कुनै पनि काम सुरु गर्नुभन्दाअघि तथ्यांक भएन भने लक्ष्य निर्धारण गर्न गाह्रो हुन्छ । लक्ष्य निर्धारण गर्न र काम गर्नका लागि तथ्यांक जरुरी हुन्छ । तर, हामीसँग त्यो छैन । 

हाम्रो सोँच परिवर्तन गर्न धेरै गाह्रो छ । म भएर सोँच्ने प्रवृत्ति बढ्दै गएको छ । खाली सिसी डटकम हामी भएर सोच्न अनुरोध गर्छ, फोहोर छुट्याउन झन्झट नमान्नुहोस् भनेर अनुरोध गर्छ । मेरो घर–आँगन सफा छ अरूको के मतलब भन्ने मानसिकता परिवर्तन गर्नु निकै जरुरी छ, जुन निकै चुनौतीपूर्ण छ । 

हामीले वातावरण जोगाउनुपर्छ भनेर बुझाउनु भनेको अहिलेको किशोर–किशोरीलाई अवकाशपछिको इन्स्योरेन्स गर भनेजस्तै हो । अवश्य पनि उनीहरू भन्छन्– मैले जागिरै गरेको छैन किन त्यसवेलाका लागि इन्स्योरेन्स गर्ने ? हो ठीक त्यस्तै हो आज फोहोर छुट्याएर राख्नुस् भनेको पनि । आज फोहोर छुट्यायो त्यसले तुरुन्तै प्रभाव देखाउँदैन । यसको प्रभाव त धेरै समयपछि देखिन्छ । यो कुरा बुझाउन गाह्रो भइरहेको छ ।
 
नीतिको अभाव
यस क्षेत्रमा सरकारको नीतिले पनि समस्या बनाएको छ । करको विषयमा स्पष्टता छैन । टिभी, कम्प्युटर, ल्यापटप, फोनजस्ता इलेक्ट्रोनिक सामानको कानुनी किताब नै छैन, केवल फ्रेमवर्क मात्रै छ । रिसाइक्लिङ भनेको त सामाजिक अवधारणा हो, त्यसमा दोहोरो करको कुराको स्पष्ट व्याख्या छैन । अहिले अनौपचारिक रूपमा यो क्षेत्रमा काम भइरहेको छ, तर अवैधानिक पनि होइन । यसरी हामी ग्रे एरियामा छौँ । यसलाई राज्यले नै स्पष्ट नीति बनाएर व्यवस्थित बनाउनुपर्छ । 

फोहोर व्यवस्थापनका लागि हाम्रो नीति एकदम राम्रो छ, तर कार्यान्वायन शून्यजस्तै छ । फोहोर जलाउनु हुँदैन, जलाएमा ५० हजारसम्म जरिवाना र तीन महिनाको कैद भनिएको छ । तर, त्यसको कार्यान्वयन कहाँ भएको छ ? अनुगमन गर्ने निकाय छैन । पटक–पटक प्लास्टिक बन्देज लगाइयो फेरि खुला गरिएको छ । यसरी नीति निर्माणमा धेरै चुकेका छौँ ।

मैले देखेको अवसर र सम्भावना 
मैले यो क्षेत्रमा धेरै सम्भावना देखेका छु । उपत्यकामा १३ हजारजना खाली सिसी, पुराना कापी–किताब उठाउने दाइहरूमध्ये दुई सय पचासजना मात्रै हामीसँग हुनुहुन्छ । हामीसँग काम गरिसकेपछि उहाँहरूको मासिक आयमा कम्तीमा पनि ३२ प्रतिशतले बढेको छ । 

अहिले पनि उपत्यकाबाट दैनिक आठ लाख किलो फोहोर निस्कन्छ । आफ्नै हिसाबले गल्ली–गल्ली सामान खोजिरहनुभएका बाँकी दाइहरूसँग सहकार्य गर्दै एउटा तालिका बनाएर निश्चित समयमा फोहोर हामी किन्न सक्छौँ । हामी त्यसलाई रिसाइकल गरेर बेच्न सक्छौँ, फोहोर बोक्ने गाडी मात्रै सञ्चालन गर्न सक्छौँ । यसबाट रोजगार खुल्छ । यसैसम्बन्धी अन्य धेरै  व्यवसाय सञ्चालन गर्न सकिन्छ जसले व्यवसायसँगै समाज एवं वातावरणलाई सफा बनाउन योगदान दिलाउन सकिन्छ । 

सुरुमा म सरकारी निकायमा गइनँ । किनभने, यसलाई व्यवसायका रूपमा स्थापित गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षणको चरणमा थिएँ । ठोस योजना लिएर मात्रै जाने भन्ने सोच थियो । सुरुवातमा त म एक्लै थिएँ । अहिले हाम्रो समूह छ । अब त हामीसँग ‘कंक्रिट प्रुफ अफ कन्सेप्ट’ छ । त्यहीअनुसार मेयर तथा मन्त्रालयसँग कुरा भइरहेको छ । उहाँहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ । तर, अझै कसरी अगाडि बढ्ने भनेर स्पष्ट निचोडमा पुग्न सकेका छैनौँ । 

विश्वकै टप ट्वान्टी रिसाइक्लिङ नेसन बनाउने सपना 
हाम्रो लक्ष्य भनेको नै सन् २०३० सम्ममा नेपाललाई विश्वकै ‘टप ट्वान्टी रिसाइक्लिङ नेसन’ बनाउने हो । त्यसका लागि हामी काम गरिरहेका छौँ । त्यसका लागि पुनः खाली सिसीले मात्रै गर्न सक्दैन । यो उद्योगलाई कसरी आकर्षित गर्ने भनेर विभिन्न योजना ल्याइरहेका छौँ । जिन्स क्याम्पेन, फोहोर दिनुहोस रिचार्ज पाउनुहोस्, धेरै मूल्य पाउनुहोस्जस्ता योजनामार्फत एक–अर्कालाई जोड्ने प्रयास गरिरहेका छौँ ।

हामीलाई नियमित रूपमा फोहोर बेच्नुहुने महानुभावका लागि आकर्षक प्रमाणपत्र दिन्छौँ । त्योचाँहि बैंकको स्टेटमेन्टजस्तै खाली सिसी डटकममा गएर आफ्नो नाममा लग इन गरेर आफूले कति समान बेच्नुभयो भनेर उल्लेख गरेका हुन्छौँ । तपाई यति फोहोर बेचेर २० वटा अथवा ३० वटा रूख बचाउनुभयो भनेर बनाइदिएका हुन्छौँ । ताकि त्यो प्रमाणपत्रले उहाँहरूलाई फोहोर बेच्न थप हौसला दिन सकोस् ।

अहिले हामी उपत्यकाभित्र मात्रै सीमित छौँ । उपत्यकाका विभिन्न सात स्थानमा कलेक्सन सेन्टर छन् । दुई सय ५० जना दाइ हामीसँग काम गर्नुहुन्छ । बृहत् बनाउन विभिन्न स्किम ल्याइरहेका छौँ । उपत्यकाभन्दाबाहिर जाने योजना छ । खाली सिसी डटकम बिस्तारै–बिस्तार हुँदै छ ।