बालबालिकामा पिसाब संक्रमण : कारण, लक्षण र रोकथाम

२०७५ चैत २९ शुक्रबार ११:३१:००

पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यो समस्या हुँदा मिर्गाैला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनलीलगायत समग्र मूत्रप्रणालीमा नै संक्रमण हुन्छ । यसलाई साधारण भाषामा युटिआई भनिन्छ । वयस्क पुरुषको तुलनामा वयस्क महिलामा पिसाबको संक्रमण बढी हुने गर्छ । यद्यपि, नवजात शिशुमा यो समस्या विपरीत रहेको तथ्यांक छ । विभिन्न सर्वेक्षणअनुसार नवजात बालिकाको तुलनामा नवजात बालकमा चार गुणा बढी पिसाब संक्रमणको समस्या देखिएको छ । तर, एकदेखि पाँच वर्षसम्मका बालबालिकामा भने फरक पाइएको छ । बालकको तुलनामा बालिकामा यो समस्या नौ गुणाले बढी भएको पाइएको छ ।
डा. अनिलपुकार साह, एफसिपिएस रेसिडेन्ट चिकित्सक, युरोलोजी विभाग
नेपाल मेडिसिटी अस्पताल

कारण
ई–कोलाई नामक कीटाणु पिसाब संक्रमण गराउने मुख्य जीवाणु हो । सामान्यतया, पिसाबमा जीवाणु हँुदैन । यद्यपि, उक्त जीवाणु मलद्वार नजिकैको संक्रमित छालाबाट सजिलै मूत्र प्रणालीमा प्रवेश गर्ने गर्छ । यसर्थ, पिसाब संक्रमणको मुख्य स्रोत नै आफ्नै दिशालाई मानिन्छ ।
महिलाको मूत्रनलीको लम्बाइ पुरुषको भन्दा सानो हुनाले यसको बाहिरी द्वार मलद्वारबाट तुलनात्मक रूपमा नजिक हुन्छ । यो नै महिलामा पिसाबको संक्रमण बढी हुनुको कारण हो ।

मूत्र संक्रमण मुख्यतया मूत्रथैली र मूत्रनलीमा हुने गर्छ । प्रायः यही संक्रमण नै मूत्रवाहिनी हुँदै मिर्गाैलामा चढ्ने गर्छ । मिर्गौला र मूत्रवाहिनीको संक्रमण हुनु भनेको अलि गम्भीर स्थिति हो । यसको वेलैमा उपचार नगरिए मिर्गाैला फेल हुनेदेखि उक्त संक्रमण शरीरका अन्य भागमा प्रवाह भई बच्चाको ज्यानैसम्म जाने सम्भावना रहन्छ ।

लक्षण
बोल्न सक्ने उमेरका बच्चामा पिसाब संक्रमणका लक्षण सजिलै बुझ्न सकिन्छ । उनीहरू आफूलाई भएको समस्या स्वयं भन्ने गर्छन् । उनीहरूमा पिसाब पोल्नु, छिटो–छिटो पिसाब लाग्नु, पिसाब नियन्त्रण गर्न नसक्नु, पिसाबबाट गन्ध आउनु, तल्लो पेट र कम्मर दुख्नु, ज्वरो आउनु, पिसाबमा रगत देखिनु तथा मिर्गाैलासम्म पुगेको संक्रमणमा बच्चालाई काम्ने ज्वरो अत्यधिक आउने जस्ता लक्षण देखिन्छन् ।
बोल्न नसक्ने उमेरको बच्चामा ज्वरो आउने, बान्ता गर्ने, आमाको दूध खान मन नगर्ने र आलस्य हुने आदि देखिन्छन् ।
निदान र उपचार
उल्लेखित लक्षण बच्चामा देखापरेमा आमा–बुबाले बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सकसँग जचाउनुपर्छ । बच्चालाई आवश्यक जाँच गरी चिकित्सकले पिसाबको नमुना (स्याम्पल) प्रयोगशालामा पठाउँछन् । विशेषगरी, प्रयोगशालामा पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ । संक्रमण गर्ने कीटाणु प्रशटै देखिन्छ । उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । यसले, चिकित्सकलाई सही एन्टिबायोटिक चलाउन सहज हुन्छ । प्रायः एकदेखि दुई हप्तासम्म एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ । तर, अवस्था हेरेर यो अवधि फरक पर्न सक्छ । पटक–पटक संक्रमण भइराख्ने बच्चाको मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थाको सही निदान गर्न एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ ।

रोकथाम
कम उमेरका बच्चालाई डाइपर फेर्न ढिलो गर्नुहँुदैन । समयमै डाइपर नफेर्नाले पिसाबको संक्रमण हुन सक्ने जोखिम बढ्छ । 
आफैँले पिसाब नियन्त्रण गर्न सक्ने उमेरका बच्चालाई सुरुदेखि नै राम्ररी पिसाब फेर्ने बानी बसाल्नुपर्छ । 
प्रायः बच्चामा पूरै पिसाब नफेरी बाँकी राख्ने बानी हुन्छ । तसर्थ, बच्चालाई पूरै पिसाब खलास बनाउनुपर्छ भनेर सिकाउनुपर्छ । 
विशेषगरी, बालिकालाई प्रत्येकपटक पिसाब फेरिसकेपछि मूत्र प्रणालीको बाहिरी अंग सही तरिकाले सफा गर्न सिकाउनुपर्छ । सफा पानीले धुने वा सफा कपडा तथा पेपरले मज्जाले पुछ्न सिकाउनुपर्छ । 
जबर्जस्ती पिसाब रोकेर बस्ने बानी गराउनुहँुदैन । किनकि,  मूत्रथैलीमा केहीबेर मात्र पिसाब थिग्रेर बस्दा पनि त्यहाँ ब्याक्टेरिया जन्मिने उपयुक्त वातावरण बन्ने हुन्छ ।

सम्बन्धित समाचार