१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 कञ्चनपुरको भीमदत्त नगरपालिकाले छापविनै महाकाली नदीको रोयल्टी संकलन गरेको रसिद, विरोधमा नगरपालिका पुगेका स्थानीय 
मोहन विष्ट कञ्चनपुर
२०७९ चैत २३ बिहीबार १६:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकालीको रोयल्टी राजस्व संकलनमा बदमासी

कार्यालयको छापविनै राजस्व संकलन गर्न थालेपछि स्थानीयको विरोध

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ चैत २३ बिहीबार १६:४९:००

कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थको रोयल्टी राजस्व संकलनमा बदमासी भइरहेको पाइएको छ।

भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० मा महाकाली नदीमा ठेक्का नलागेपछि सीधै दैनिक कर्मचारी राखेर राजस्व संकलन गरिरहेको छ। 

महाकाली नदीस्थित भीमदत्त नगरपालिका ११ र १३ क्षेत्रका विभिन्न घाटबाट राजस्व संकलनमा बदमासी भइरहेको पाइएको छ। दर्जनौँ ठेलीविना छाप रसिद र सवारीसाधनको आधा मात्रै नम्बर राखेर काटिरहेको पाइएको हो।  

महाकाली नदीबाट राजस्व संकलनमा बदमासी भइरहेको भन्दै भीमदत्त नगरपालिका ११, १२ र १३ तटीय क्षेत्रका स्थानीय आन्दोलित भएका छन्।

भीमदत्त नगरपालिकाबाट राजस्व संकलनमा बदमासी भइरहेको भन्दै उनीहरूले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। राजस्व समितिकी संयोजकसमेत रहेकी उपप्रमुख निलक लेखकलाई ज्ञापनपत्र बुझाएका छन्। 

भीमदत्त नगरपालिका ११ भुजेलाका स्थानीय सुभाससिंह धामीले नगरपालिकाबाट महाकाली नदीको रोयल्टी (ढुंगा, बालुवा) संकलनमा बदमासी भएपछि नगरपालिकाको ध्यानाकर्षण गराएको बताए। ‘राजस्व संकलन गर्दा ठेलीमा कार्यालयको छाप छैन,’ ‘उनले भने, ‘छापविनै रसिद काटिरहेका छन्, यो त सरासर बदमासी भयो।’ 

स्थानीय भैरव भट्टले ठाडो रूपमा राजस्व छली हुँदासमेत स्थानीय सरकार चुपचाप बसेको आरोप लगाए। ‘उता महाकाली नदीबाट दैनिक राजस्व छली भइरहेको छ, तर कसैलाई चिन्ता छैन, न अनुगमन छ।’ 

नेकपा माओवादी भीमदत्त नगरका नेता कृष्णदत्त जोशी (बोक्सर)ले नगरको आम्दानीको स्रोत नै दुरुपयोग हुँदासमेत पालिका सरकारले चासो नदेखाएपछि स्थानीयले ध्यानाकर्षण गराएको बताए।

‘महाकाली नदीबाट रोयल्टी संकलनबापत दैनिक लाखौँ रकम संकलन हुन्छ, ‘उनले भने, ‘त्यसमै बदमासी भइरहेको पाइयो।’
 
भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले आफ्नो वडाको घाटमा उक्त बदमासी नभएको बताए। भीमदत्त नगरपालिका राजस्व शाखा प्रमुख विक्रम भण्डारीले कार्यालयको छापविना पनि राजस्व संकलन गर्न पाइने बताए।

‘कहिलेकाहीँ ठेलीमा छाप लगाउन छुट्छ, ‘उनले भने, ‘तर नियत सही हुनुपर्‍यो, कुनै त्रुटि भेटिए सम्बन्धित कर्मचारीमाथि कारबाही हुन्छ, कसैले पनि राजस्व हिनामिना गर्न पाइँदैन।’