Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिबिसी
२०७९ चैत १९ आइतबार ०८:५३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

घर भाडामा नपाइने गरी महँगो बन्दै दुबई सहर 

Read Time : > 3 मिनेट
बिबिसी
२०७९ चैत १९ आइतबार ०८:५३:००

दुबईमा घरभाडाका साथसाथै प्रोपर्टी खरिदको मूल्य सन् २०२० को तुलनामा २०२२ मा ५० प्रतिशतसम्म बढेको छ 

सन् २०१९ देखि दुबई बस्दै आइरहेका एरेथा प्रिटोरियसका लागि फेब्रुअरी र मार्च महिना तनावपूर्ण रह्यो । उनीहरू घर खोज्न भनेर सहरतिर निस्किए । तर, गत वर्ष एरेथा परिवारलाई घरबेटीले घर खाली गर्न सूचना दिए । सूचनामा घरबेटी स्वयं बस्ने भएकाले मार्च महिनामा भाडा सम्झौता नवीकरण नगर्ने उल्लेख थियो । 

त्यसपछि त के, एरेथा परिवारले आफू बसिरहेको इलाकामा घर खोज्न थाले । तर, उनीहरूले अहिलेसम्म घरभाडाबापत तिर्दै आएको रकम (वार्षिक ३४ हजार अमेरिकी डलर) ७५ प्रतिशतले बढिसकेको थियो ।

घर खोज्ने क्रममा सहरका अन्य इलाकामा पनि खोजे । यति हुँदा पनि आफ्नो बजेटअनुसारको घर पाउन सकेनन् । अन्त्यमा हाल बस्दै आइरहेको घरभन्दा सानो र मुख्य सहरभन्दा धेरै टाढाको एउटा घर रोजे । यो नयाँ घरको भाडा वार्षिक ४५ हजार डलर थियो, जुन पहिलेको तुलनामा ३२ प्रतिशतले बढी हो । 

एरेथाका अनुसार उनीहरू हप्तौँसम्म घरको चक्करमा पागलझैँ एक कुनादेखि अर्को कुनासम्म घुमिरहे । उनीहरूसँग कि त साँघुरो घरमा बस्नुपर्ने, कि भने भाडा धेरै तिर्नुपर्ने दुइटा मात्रै विकल्प बचे । 

सन् २०११ मा दक्षिण अफ्रिकाबाट दुबई आएपछि एरेथा र क्रिसको अबको घर पाँचौँ घर हो । दुबईको रियल इस्टेट बजार (घरजग्गा क्षेत्र) एक दशकमा धेरै परिवर्तन भयो । ‘पहिले घर खोज्न यति धेरै संघर्ष गर्नुपर्दैनथ्यो, जति अहिले गर्नुपर्‍यो,’ एरेथा भन्छिन्, ‘१० वर्षअघि पनि भाडा अधिक थियो । तर, घर पाउन यति विधि समस्या थिएन ।’

रियल इस्टेट एजेन्सी बेटर होम्सका अनुसार पछिल्लो समय दुबईको भाडादर औसतमा ३६ प्रतिशतले वृद्धि भएको छ । यो समस्या भिल्ला खोज्नेलाई मात्रै होइन, अपार्टमेन्टको हालत पनि उस्तै छ । जता पनि भाडादर अकासिएको छ । यस्तो वृद्धिले दुबईको अर्थतन्त्रको मेरुदण्ड मानिने प्रवासीहरूको जीवनशैलीलाई प्रभावित पारेको छ । संयुक्त अरब इमिरेट्समा बसोवास गर्ने एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी नागरिक छन् । 

४० प्रतिशतसम्म भाडा वृद्धि
भाडामा बस्ने अर्का व्यक्ति हुन्, वकार अन्सारी । उनको परिवार दक्षिणी दुबईमा एक बेडरुमको अपार्टमेन्टमा बस्दै आइरहेको थियो । त्यसबापत वार्षिक साढे नौ हजार डलर भाडा बुझाउँथे । गत महिना उनको भाडा सम्झौताको अवधि सकिँदै गर्दा उनका घरबेटीले तीन हजार डलर भाडा बढाउन चाहन्थे । पहिले त वकारले तीन हजार बढी तिर्नुभन्दा वरिपरि नयाँ अपार्टमेन्ट खोज्न थाले । तर, त्यहाँको भाडा ४० प्रतिशतसम्म वृद्धि भएको थाहा पाए ।

वकारका अनुसार उनी १० देखि १५ प्रतिशतसम्म भाडा बढी दिन तयार थिए । यसैकारण दुबईको अन्य इलाकामा पनि खोज्न थाले । तर, त्यति बजेटमा पनि गतिलो अपार्टमेन्ट पाउन सकेनन् । दुबई छोडेर सारजाह जाने एउटा मात्रै विकल्प थियो ।

यसो हुनुको पछाडि बजारको माग आपूर्तिभन्दा बढी रहेको पाइएको छ । ग्राहक जुन क्षेत्रमा बस्न चाहन्छन्, सो क्षेत्रको प्रोपर्टीको तुलनामा अधिक मानिस आइरहेका छन् । बजारको आपूर्ति शृंखला सन्तुलनमा नहुँदा भाडादरमा वृद्धि भइरहेको बेटर होम्सका प्रबन्ध निर्देशक रिचर्ड बताउँछन् । दुबईको कानुनले घरबेटीलाई २० प्रतिशतसम्म भाडा बढाउने अधिकार दिन्छ । यस्तै, घरबेटीले पनि कुनै ठोस कारणविना बसिरहेकालाई निकाल्न मिल्दैन । यद्यपि, मालिकले आफू स्वयं अपार्टमेन्टमा बस्नुपर्ने भएकाले घर छोड्ने सूचना दिएको बताइन्छ । दुबईमा घरभाडाका साथसाथै प्रोपर्टी खरिदको मूल्य पनि अत्यधिक बढेको छ । रियल इस्टेट एजेन्सी सेल्भिजका अनुसार सन् २०२० को तुलनामा २०२२ मा अपार्टमेन्टको मूल्य ३५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, सो अवधिमा भिल्लाको मूल्य ५० प्रतिशतसम्म बढेको छ । 

गत वर्षदेखि सुरु भएको रुस–युक्रेन युद्धपश्चात् प्रोपर्टी खरिद र लिज एग्रिमेन्टमा रियल इस्टेटको मूल्य बढाउने ठूलो कारक तत्व भनेको रुसी पैसा हो । रुसको कारणले बढिरहेको हो ?

दुबई सहर रुसका धनाढ्य मानिस, अर्बपति र स्टार्टअपका मालिकका लागि स्वर्ग साबित भएको छ । भव्य र दिव्य सहरमा रुसी युवा पनि रोजागारीको नयाँ अवसर खोज्दै पुगेका छन् । कैयौँ बहुराष्ट्रिय कम्पनीले पनि आफ्ना कर्मचारीलाई रुसबाट दुबई स्थानान्तरण गरेका छन् । समग्रमा भन्नुपर्दा गत वर्ष दुबईको रियल इस्टेट बजारमा रुसी नागरिक सर्वाधिक ठूला अन्तर्राष्ट्रिय लगानीकर्ता थिए । खासमा, बस्न र सम्पत्ति खरिद–बिक्री गर्न रुसी नागरिकलाई रुसमै धेरै कानुनी अवरोध छन् । तर, दुबईमा त्यस्तो समस्या छैन । उनीहरू निष्फिक्री रूपमा दुबईमा आर्थिक उपार्जनको काम या व्यवसाय गर्न स्वतन्त्र छन् । यही सुविधाले गर्दा रुसी नागरिकले घरजग्गा बजारको मूल्यमा सम्झौता गरेका छैनन् । घरबेटीले बोलेको रकम दिन तयार छन् । कुनै ठोस तथ्यांक नभए पनि युद्धपछि अधिकांश नागरिकले रुस छोडेका छन् । 

फोर्ब्स रुसको एउटा रिपोर्टअनुसार गत वर्ष डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा आंशिक परिचालन र सैन्य सेवामा जनतालाई भर्ती हुन आग्रह गरेपछि सात लाख मानिसले देश छोडेका छन् । यद्यपि, यो रिपोर्टको क्रेमलिनले खण्डन गरेको छ । 

यता, दुबई युक्रेन युद्धारम्भपछि तटस्थ बसेको छ । उसले रुसमाथि न कुनै प्रतिबन्ध लगाएको छ, न युक्रेनमाथिको आक्रमणबारे आलोचना नै गरेको छ । केही पश्चिमा देशले गैरस्वीकृत रुसीलाई भिसा नदिइरहेका वेला दुबईले भने धमाधम भिसा दिएको छ ।

भिसाको नयाँ नियम आप्रवासीको आकर्षण
गत महिना युएई सेन्ट्रल बैंकले पनि रुसको एमटिएस बैंक सञ्चालनका लागि अनुमति दियो । पश्चिमी प्रतिबन्धका कारण रुसी नागरिकलाई युएईमा बैंक खाता खोल्न र पैसा पठाउन समस्या भएको थियो । महामारीपछि दुबईले नयाँ दीर्घकालीन भिसाको विकल्प ल्याएको छ । यी भिसाले स्पोन्सरको बाध्यकारी नियम तोडेको छ । सोही कारण दुबईमा लगानीकर्ता, श्रमिक र उद्यमीको संख्या आकर्षित भइरहेको छ । रोजगारीमा पनि नयाँ–नयाँ अवसर सिर्जना भएका छन् । 

गत वर्ष दुबईले ८६ हजारभन्दा बढी आवास बिक्री गर्‍यो । यो सन् २००९ को ८० हजार आवास बिक्रीभन्दा बढी हो । यस्तै, सोही वर्ष दुबईले ५६.६ अर्ब डलरबराबरको सम्पत्ति बिक्री गर्‍यो, जुन सन् २०२१ को तुलनामा ८० प्रतिशतले बढी हो । 

दुबईले सुरक्षा, जीवनशैली र व्यवसाय गर्न सुरक्षा उपलब्ध गराउँछ । यही कारणले गर्दा देश तथा विदेशका मानिस अवसरको खोजीमा दुबई आउँछन् । तर, बढ्दो भाडादरले भाडामा बस्नेको मूल्य बढ्छ, जसले गर्दा दुबई सहर छोडेर मानिस युएईकै अन्य सहरतिर जान सक्छन् । यसकारण जतिसक्दो छिटो भाडादर कम हुनुपर्ने विज्ञहरू बताउँछन् ।