१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १६ बिहीबार ०९:०७:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बहादुर योद्धाको समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १६ बिहीबार ०९:०७:००

शौर्य, इमानदार र सज्जनताका लागि चर्चित एक बहादुर योद्धा एक सन्तसँग सल्लाह लिन उनको आश्रममा पुगे । उनी आश्रममा पुग्दा सन्त ध्यानमा थिए । जब सन्तको ध्यान पूर्ण भयो, तब योद्धाले प्रणाम गर्दै सोधे– सन्त महाराज, मैले कैयौँ लडाइँमा जित हासिल गरेको छु । कैयौँ असहायलाई सहयोग गरेको छु । तर, म अरूलाई देख्दा उनीहरूका अगाडि म आफू केही होइन, मेरो जीवनको कुनै मूल्य छैन जस्तो लाग्छ । ममा यतिबिघ्न हीन भावना किन आयो ?

योद्धाको गुनासो सुनिसकेपछि सन्तले भने– तपाईं एकैछिन पर्खनुहोस् । म उपस्थित भक्तजनलाई भेटिसकेपछि तपाईंसँग कुरा गर्नेछु । योद्धा प्रतीक्षा गर्न लागे । साँझ पर्न लागेपछि मात्र मानिसहरू बिस्तारै आश्रमबाट बिदा भए । सबै बिदा भइसकेपछि योद्धाले सन्तसँग प्रश्न गरे– महाराज, के अब तपाईंसँग मेरा लागि समय छ ? सन्तले उनलाई आफ्नो पछिपछि आउन इसारा गरे । हिँड्दै जाँदा दुवै आश्रमको बगैँचामा पुगे । पूर्णिमाको साँझ हुनाले आकाशमा चन्द्रमा टहटह चम्किरहेको थियो । बगैँचाका फूलहरूको सुगन्धले वातावरणलाई मोहक बनाएको थियो । सन्तले आकाशमा चम्किरहेको चन्द्रमालाई देखाउँदै प्रश्न गरे, तपाईं चन्द्रमालाई देख्दै हुनुहुन्छ नि ? यो रातभरि यसैगरी चम्किरहन्छ । तर, जब बिहान सूर्य उदाउँछ, उसैको चम्किलो प्रकाशका कारण हामी वन, जंगल, पहाड र पूरै प्रकृतिलाई प्रस्ट देख्न सक्छौँ । मलाई त लाग्छ, यो चन्द्रमाको कुनै आवश्यकता नै छैन । सूर्यसामु उसको अस्तित्व बेकार छ । 

सन्तको कुरा सुनिसकेपछि योद्धाले भने– यो हजुर के भन्दै हुनुहुन्छ, महाराज ? चन्द्रमा र सूर्यको महत्व र उपयोगिता बिलकुलै फरक छ । हजुर यी दुईबीच कसरी तुलना गर्न सक्नुहुन्छ ? योद्धाको कुरा सुनेर सन्त मुसुक्क मुस्कुराए र भने– यसको अर्थ तिमीलाई आफ्नो समस्याको समाधान थाहा रहेछ । हरेक मानिस एकअर्काबाट भिन्न हुन्छन् । सबैका आआफ्नै क्षमता र महत्व हुन्छ । सबैले आआफ्नै तरिकाले संसारलाई लाभ पुर्‍याउँछन् । कोहीभन्दा कोही कम या बढी महत्वका हुँदैनन् । योद्धाले आफ्नो समस्याको समाधान पाइसकेका थिए । सन्तलाई धन्यवाद दिँदै उनी आश्रमबाट बिदा भए ।