मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारमा सहभागी हुनुअघि न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्छ : नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार १५:५४:००

कांग्रेसका युवा नेता नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुभन्दा पहिले कांग्रेसले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। 

गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए। 

‘सरकारमा सहभागी हुनु मात्रै ठूलो कुरा होइन। सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागिता हुँदा राम्रो हुन्छ । देशको आर्थिक अवस्था संकटोन्मुख हुँदै गएको छ । जनता मलदेखि ढलसम्मको समस्या भोग्न बाध्य छन्। महँगीले दिनहुँ आकाश छुँदै छ। दैनिक ज्याला–मजदुरी गरेर जीवन चलाउने मजदुरहरूलाई जीविकोपार्जन गर्न नै धौधाै भइसक्यो,’ उनले भने। 

उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए।

‘चुनाव पहिलेकाे गठबन्धन ब्युँतिएको छ। हामीप्रति जनताको ठूलो आशा छ। त्यसैले जनतालाई लोकतन्त्रप्रति विश्वास दिलाउन मुलुककै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस जिम्मेवार बन्नुपर्छ। रणनीतिका साथ योजनाबद्ध रूपमा काम गर्नुपर्छ,’ महर भन्छन्। 

उनले गठबन्धनलाई जनताले संविधानको रक्षा, स्थिरता र समृद्धिको अपेक्षासहित मतदान गरेको बताए। चुनावअघि आफूहरू पनि सोही नारा दिएर जनतामाझ गएको उनको भनाइ छ। 

चुनावअघि पाँचदलीय गठबन्धन भए पनि अहिले १० दलीय गठबन्धन भएकाले सबैको भावनाको सम्मान हुने गरी गठबन्धन अघि बढ्नुपर्ने उनले बताए।

विस्तृत शान्तिसम्झौताका लागि गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उनले मुलुकमा लोकतन्त्रको रक्षा, संविधानको सफल कार्यान्वयन र समृद्धिको बाटोमा मुलुक अग्रसर भए मात्रै उनको सपना साकार हुने बताए।