मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १० मंगलबार ०७:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो छ अल्ट्रा धावक मीराको फिटनेस रहस्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १० मंगलबार ०७:३८:००

मीरा राईको परिचय कुनै वेला माओवादीकी ‘अयोग्य लडाकु’को थियो । मिहिनेत र साहसले उनले आफ्नो परिचय फेरेकी छिन् । उनलाई अहिले सबैले नेपाली अल्ट्राधावक भनेर चिन्छन् । साहसिक खेल विधामा पर्ने अल्ट्रा दौडमा उनी विश्व च्याम्पियन भइसकेकी छिन् । त्यस्तै, ट्रेल र स्काई रनिङमा विश्वचर्चित बनिसकेकी मीरालाई सन् २०१६ मा नेसनल जिओग्राफीले ‘एड्भेन्चर अफ दी इयर’ पुरस्कारबाट सम्मान गरेको थियो । अल्ट्रा धावनमा फिटनेसको जरुरी हुन्छ । २९ वर्षीया मीरा पनि शतप्रतिशत फिट छिन् । उनै मीरालाई नयाँ पत्रिकाले आफ्ना फिटनेसको राज बताउन आग्रह ग-यो । उनले आफ्नो फिटनेस राज खोलिन् :

 नियमित व्यायाम
शारीरिक फिटनेसका लागि व्यायाम एकदमै महŒवपूर्ण हुन्छ । तसर्थ, म हरेक दिन समय मिलाएर व्यायाम गर्ने गर्छु । खेलका दौरान प्रशस्त अभ्यास गर्नुपर्ने भएकाले यसले शरीर फिट राख्न सहयोग गरेको छ । यसबाहेक घरमा बस्दा वा सामान्य फुर्सद हुँदासमेत कसरत गर्न छोड्दिनँ । यसले शरीरलाई ऊर्जा दिइराखेको छ । 

 सन्तुलित आहार
खानामा सधैँ यही नै हुनुपर्छ भन्ने हुँदैन । तर, मात्रा मिलेको पौष्टिक आहार भने हुनुपर्छ । शारीरिक हिसाबले बढी परिश्रम गर्नुपर्ने ठाउँमा धेरै क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । सामान्यतया खानामा दाल–भात–तरकारी, माछा–मासु, फलफूल खाने गर्छु । त्यस्तै, ब्रेकफास्टमा दूध, अन्डा, चना, मासु आदि सेवन गर्छु । 

 प्रशस्त पानी
फिटनेसका लागि पानी एकदमै आवश्यक छ । दौडका क्रममा छिटो तिर्खा लाग्ने, घाँटी सुक्ने, आदि हुन्छ । तसर्थ, पर्याप्त मात्रामा पानी पिउन आवश्यक हुन्छ । खेलको अभ्यास गर्दा वा जुनसुकै समयमा पनि म प्रशस्त पानी पिउने गर्छु ।

 अभ्यास 
कुनै काममा पनि सफल हुन अभ्यास गर्न जरुरी हुन्छ । अभ्यास गर्दा आत्मविश्वास बढ्ने भएकाले मानसिक तवरले समेत फिट भइन्छ । अभ्यासले शारीरिक–मानसिक दुवै तवरले तयार हुन सहयोग गर्छ । खेलको समयभन्दा पनि बढी खाली समयमा मनोबल बढाउन अभ्यास गर्ने गर्दछु ।

 खेलकुद
फिट रहनका लागि सधैँ एउटै खेल खेल्नुपर्छ भन्ने छैन । साइक्लिङलगायत अन्य रेसिङ खालका खेल खेल्दा दौडलाई सहयोग गर्छ । अन्य खेलले थप साहस बढाउन मद्दत गर्छन् । 

 अध्ययन
फुर्सदको समयमा अंग्रेजी पुस्तकहरू पढ्ने गर्छु । त्यस्तै, संसारभरका खेल, खेलको इतिहास, खेलाडीजस्ता खेलसम्बन्धी विषय अध्ययन गर्ने गरेको छु । यसले खेलका विषयमा ज्ञान बढाउन मद्दत पु-याएको छ । नयाँ कुरा सिक्न सफल भएकी छु ।