१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ चैत २७ बुधबार ०९:५२:००
Read Time : < 1 मिनेट
समाचार

अन्नपूर्ण पदमार्गको थोराङ क्षेत्रमा पर्यटक बढे

Read Time : < 1 मिनेट
२०७५ चैत २७ बुधबार ०९:५२:००

सिजन सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकहरूको संख्यामा वृद्धि भएको छ । पदमार्गमा हिमपात हुन छाडेपछि पर्यटकहरूको संख्यामा वृद्धि भएको हो ।

केही महिनाअघि परेको हिमपातका कारण अवरुद्ध अन्नपूर्ण पदमार्गमा रहेको थोराङ क्षेत्र सुचारु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात रोकिएपछि मनाङ प्रशासनले पर्यटकहरूलाई थोराङ भञ्ज्याङ पार गरेर मुस्ताङ निस्किन अनुमति दिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

हिमपातपछि अन्नपूर्ण राउन्ड पदमार्गको यात्रामा निस्किएका विदेशी पर्यटक मनाङका विभिन्न होटेलमा बसेका थिए । ‘हामीले हिमपात भइरहेको वेला पर्यटकलाई सुरक्षित भएर होटेलमा बस्न र पदमार्गको थोराङ र तिलिचो क्षेत्रको प्रवेशमा रोक लगाएका थियौँ,’ मनाङका प्रमुख जिल्ला अधिकारी देवकोटाले भने, ‘अब हिमपात रोकिएको छ । बाटोमा भएका हिउँपहिरो हटाएर पदमार्ग खुलाएका छौँ ।’

हिमपातका कारण पदमार्गको विभिन्न स्थानमा हिमपहिरो आएकाले मनाङ प्रशासन र एक्याप मनाङले केही समयका लागि पर्यटकलाई थोराङ क्षेत्र र तिलिचो क्षेत्रमा जान रोक लगाएको थियो । एक्याप मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाका अनुसार हाल दैनिक ९० देखि १ सय जना पर्यटक मनाङ प्रवेश गर्ने गरेका छन् । मनाङमा दैनिक पर्यटक बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साही भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

यातायात सहज भएसँगै मनाङ सदरमुकाम चामेदेखि, पिसाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण राउन्ड पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् ।