१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 रौतहटको मेलामा घुम्दै गरेका चौकीदार पवन यादव
२०७९ चैत २ बिहीबार १३:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जेलरको संरक्षणमा १५ वर्ष जेल सजाय पाएका ‘चौकीदार’को अत्याचार !

Read Time : > 1 मिनेट
२०७९ चैत २ बिहीबार १३:२२:००

जिल्ला कारागार गौरमा चौकीदारले मनलाग्दी गरेको रहस्य बाहिरिएकाे छ। जेलर शम्भु यादवको प्रत्यक्ष संरक्षणमा चौकीदार पवन यादवले गौर जेलमा सिन्डिकेट नै चलाउने गरेको रहस्य बाहिरिएकाे हो।

गौर कारागारमा जेलजीवन बिताइरहेका कैदी पवन यादव गएको होली पर्वका दिन विना कुनै जानकारी नै कारागारबाट आफ्नो घर गई फर्किने क्रममा दुर्घटनामा घाइते भए। उनको दुर्घटनापछि गौर कारागारको रहस्य एकपछि अर्को गरी बाहिर आउन थालेको छ। 

गौर कारगारभित्र पवन यादवको सम्राज्य नै रहेको सूचना बाहिरिएपछि बुधबार रौतहटका सञ्चारकर्मी गौर कारागार पुगेर वास्तविक तथ्य बुझ्ने प्रयास गरेका थिए।

सो क्रममा गौर कारागारमा रहेका कैदीबन्दीले यादवका कारण आफूहरूले चरम यातना भोग्दै आएको बताएका थिए। कारागारको झ्यालबाट सञ्चारकर्मीको हुल देख्नेबित्तिकै कैदीबन्दीले भक्कानिँदै जेलभित्र यादवले दिएको पीडा सुनाए। 

उनीहरूले चौकीदार यादव र जेलर शम्भु यादवका कारण आफूहरू गौर कारागारमै जेल प्रशासनकै अगाडि असुरक्षित रहेको बताए।

चौकीदार पवनले कारागारभित्रका महिला कैदीबन्दीलाई आफ्नो स्वार्थअनुसार व्यवहार गर्ने गरेको, गलत नियतले आफ्नो स्वार्थपूर्तिको प्रयास गर्ने गरेको र सो नभए विभिन्न किसिमको यातना दिने, असभ्य र अमर्यादित शब्दहरूको प्रयोग गर्ने गरेको महिला कैदी शोभाले बताइन्। 

जिल्ला कारागार कार्यालय गौरमा कैदीजीवन बिताइरहेका बारा जिल्ला भटिनिया गाउँका पवन यादव सर्वसाधारणजस्तो खुलमखुला कारागारबाहिर आवतजावत गर्ने गरेको भए पनि जेल प्रशासनले वास्ता नगर्ने गरेको गौर कारागारमा रहेका कैदीबन्दीले बताए। 

ब्राउनसुगर कारोबार मुद्दामा १५ वर्ष जेल र पाँच लाख जरिवनासहितको सजाय पाएका कैदी हुन् पवन। गत २४ फागुनमा परेको होलीको दिन जेलर शम्भु यादवसँग मिलेर ड्युटीमा तैनाथ प्रहरी नायव निरीक्षक तेजीलाल यादवको मोटरसाइकलमा बसेर बारा जिल्लास्थित  घर जान लागेको अवस्थामा रौतहटको  परोहा नगरपालिका– ४ लौकाहामा मोटरसाइकल दुर्घटना भएपछि कैदी यादव जेल प्रशासनकै मिलेमतोमा खुलेयाम जेलबाहिर हिँड्ने गरेको तथ्य बाहिर आएको थियो। 

घाइते यादवको वीरगन्जमा रहेको एलएस न्युर‍ो अस्पतालमा उपचार भइरहेको जेल प्रशासनले जानकारी दियो। जेलर शम्भुले होलीको दिन आफूलाई समेत थाहा नदिई प्रहरी नायव निरीक्षक तेजीलाल यादवले सुटुक्क लिएर गएको अवस्थामा दुर्घटना भएको बताए।

प्रहरी नायव निरीक्षक तेजीलाल यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जेलबाट जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौर कारागारमा कैदीबन्दीमध्ये चौकीदार बन्न लाखौँ रुपैयाँ खर्च गरिने गरेको कैदीबन्दीले बताए। पटक–पटक गौर कारागारमा प्रशासनका कारण विभिन्न अप्रिय घटना हुने गरेको भन्दै त्यसको निष्पक्ष छानबिनका लागि रौतहट क्षेत्र नम्बर २ का सांसद किरणकुमार साहले माग गरेका छन्।