मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : राेयटर्स
रासस लाहोर
२०७९ चैत १ बुधबार १३:३५:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख सहरमा प्रदर्शन

Read Time : > 1 मिनेट
रासस, लाहोर
२०७९ चैत १ बुधबार १३:३५:००

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच लाहोरस्थित खाननिवासअगाडि झडप भएको छ भने प्रमुख सहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् ।

गएराति पनि पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घरनजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रूद्ध समर्थकले ढुंगामुढाले प्रतिकार गरेका थिए । 

पिटिआईका एक कार्यकर्ताका अनुसार पानीको फोहाेरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका छन् । गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आमनिर्वाचनको माग गर्दै आएका छन् ।

सार्वजनिक रूपमा सरकारकाे कटु आलोचना गर्दै आएका खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।

इस्लामाबाद प्रहरीका उपमहानिरीक्षक सैयद सहजाद नदिम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट गरेका छन् । पञ्जावका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए ।

पिटिआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह सहर कराँची र उत्तरपश्चिमको पेसावरमा पनि जुलुस निकालेका छन् ।  उनीहरूले सडक अवरुद्ध पारेका छन् । कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री सेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन् ।

पिटिआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामाबाद उच्च अदालतमा  खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाइ हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीहरूले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।

राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल हुँदै गएको पाकिस्तानको अर्थतन्त्रलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रयास असफल भएका वेला अतिवादी समूहले वेलावेलामा गर्ने घातक आक्रमण एवं आत्मघाती हमलाबाट दक्षिण एसियाली जनता निरन्तर प्रताडित भइरहेका छन् । कानुन कार्यान्वयनमा कठिनाइ हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ ।