१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ फाल्गुण २१ आइतबार १५:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको निर्देशनपछि घाइतेहरूको हेलिकोप्टरबाट उद्धार [अपडेट]

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २१ आइतबार १५:३५:००

ओखलढुंगामा सवारी दुर्घटनामा घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाका सबै घाइतेको तत्काल उद्धार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको हो। 

दुर्घटनाका गम्भीर घाइतेहरूमा चिशंखुगढी गाउँपालिका– ३ का चालक २५ वर्षीय सुमन कार्की, वर्ष २६ की शर्मिला श्रेष्ठ, वडा नं. १ का वर्ष २२ का खेमबहादुर खत्री र वडा नं. २ का ४० वर्षीय केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक केसीले बताए।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका– २ की १३ वर्षीया आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षीया तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका– १० बेतेनीकी ४० वर्षीया तुलसा धमला र उनका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी– ३ की चार वर्षीया लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया तीर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ। 

उद्धार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगन्जमा उपचार सुरु भएको छ। अधिकांश घाइतेको टाउको र अनुहारमा गहिरो चोट लागेको छ। 

दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको मोलुङ गाउँपालिका– १ की ३५ वर्षीय जानुका धमला र उनका चार वर्षीय छोरा कोसिस धमलाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। 

आइबार बिहान खानीभञ्ज्याङबाट  ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना.१ ज ८४७३ नम्बरको बोलेरो जिप दियालेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो। 

दुर्घटनामा चिशंखुगढी– ३ का ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको छ। मृतकको कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । उक्त बोलेरो जिपमा चालकसहित १४ जना यात्रु सवार थिए। जिप सडकभन्दा करिब सय मिटर तल खसेको थियो।