मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अम्बिरराज शाक्य अध्यक्ष, ललितपुर महानगरपालिका–२२
२०७५ चैत २६ मंगलबार ०६:५०:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

मौलिक कला संरक्षणमा प्रतिबद्ध छौँ : अम्बिरराज शाक्य

हाम्रा प्रतिनिधि

Read Time : > 2 मिनेट
२०७५ चैत २६ मंगलबार ०६:५०:००

ललितपुर महानगरपालिका–२२ नेवारी सांस्कृतिक सम्पदाले भरिपूर्ण वडा हो । वर्षाका देवता रातो मच्छिन्द्रनाथ, मनकामनामाई, भैरवजस्ता सम्पदा यस वडामा छन् । काष्ठकला, कृषि, पर्यटनमा समेत अगाडि रहेको वडाका योजना र समस्याबारे नयाँ पत्रिकाका विजय कार्कीले वडाध्यक्ष अम्बिरराज शाक्यसँग गरेको संवाद ।

भूकम्पपीडित जनताले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । खास समस्या कहाँ हो ?
भूकम्पपीडित केही घरधनीले राहत नपाएको साँचो हो । लाभग्राही सूचीमा नाम ननिस्केकाले राहत नपाएका हुन् । कतिको परिवारमै विवाद छ । भूकम्पपछि सर्वेक्षणमा इन्जिनियर खटिए । उनीहरूले प्रतिवेदन बुझाए । प्रतिवेदनमा कतिपय पीडितको वैकल्पिक घर देखियो । मापदण्डअनुसार घर भएकाले राहत पाउँदैनन् । यसकारण पनि राहत नपाएको अवस्था छ । कतिपय वैकल्पिक घर हुनेले समेत राहत पाए । त्यसकारण, अन्यले पनि क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । केही वास्तविक पीडित पनि छन् । उनीहरूले पनि राहत पाएका छैनन् । यस विषयमा महानगरको पुनर्निर्माण शाखा र भूकम्प पुनर्निर्माण प्राधिकरणसँग थुप्रैपटक बैठक भएको छ । तर, अझै राहत पाउन सकेका छैनन् । उनीहरूको नाम प्राधिकरण गुनासोमा राखिएको छ ।
सम्पदा पुनर्निर्माणमा पनि ढिलाइ भएको देखिन्छ । रातो मच्छिन्द्रनाथ पुनर्निर्माण कहिले सकिन्छ ?
रातो मच्छिन्द्रनाथको ठेक्का सडक बनाउने ठेकेदार कम्पनीले पायो । ठेकेदारलाई सम्पदा निर्माणको अनुभव नै छैन । इँटा प्रयोग गर्दादेखि नै विवाद भयो । पुनर्निर्माणमा मौलिक इँटा ‘माःआपा’ प्रयोग गर्नुपर्ने हो, तर ठेकेदारले अंगे्रजी अक्षर भएको इँटा प्रयोग ग-यो । त्यसपछि स्थानीयले अवरोध गरे । पुरातत्व  विभागको पहलमा विवाद समाधान भए पनि ठेकेदारले मौलिक शैलीमा मन्दिर बनाउन खोजेन । स्थानीयले मौलिक शैलीमै जोड दिइरहे । त्यसकारण पनि पुनर्निर्माणमा ढिलाइ भएको हो । रातो मच्छिन्द्रनाथको पुनर्निर्माण छिटो सक्न महानगर, वडा, पुरातत्व  विभाग र श्रीलंकाली दूतावासबीच पटक–पटक बैठक भएको छ । 
मौलिक कलाले भरिपूर्ण वडामा युवा पुस्ताको रुचि काष्ठकलामा देखिँदैन । युवालाई आकर्षित गर्न वडासँग कुनै योजना छैन ?
०७२ को भूकम्पसम्म करिब ७० प्रतिशत युवा काष्ठकला र व्यापारमा निर्भर थिए, त्यसैबाट जीविकोपार्जन गर्थे । भूकम्पपछि काष्ठकलाको काम गर्ने ठाउँ नै भएन । घर भत्किए, चारैतिर अस्तव्यस्त भयो । फोहोर व्यवस्थापन पनि हुन सकेन । जसकारण पर्यटक संख्या पनि घट्यो । युवाले विकल्प खोजे । व्यवसायभन्दा जागिरतिर आकर्षित भए । हामी मौलिक कला संरक्षणका लागि प्रतिबद्ध छौँ । हस्तकला संरक्षण भवन निर्माण गरिसकेका छौँ । अब हस्तकलाका तालिम दिने र पर्यटकलाई हस्तकलासम्बन्धी सूचना दिने व्यवस्था गर्नेछौँ । त्यस्तै, कलासंस्कृति महोत्सव गरी काष्ठकला व्यवसायमा युवालाई प्रेरित गर्ने सोच पनि बनाएका छौँ । 
यो ठाउँ कुनै वेला कृषिका लागि पनि प्रख्यात थियो । कृषिप्रति पनि जनताको आकर्षण घटिरहेको देखिन्छ किन ?
वडामा पहिले इँटा भट्टा थिएनन्, अहिले ६ वटा छन् । ती भट्टाले करिब ६० प्रतिशत कृषियोग्य जमिन ओगटेका छन् । यहाँका किसानमा जग्गा बेचेर जीविकोपार्जन गर्ने प्रवृत्ति बढ्दो छ । मिहिनेतअनुसार आम्दानी नहुनु यसको मुख्य कारण हो । कृषिलाई प्रविधिसँग जोड्न नसकेकै कारण उत्पादन राम्रो नभएको हो । इँटाभट्टाको प्रदूषणले पनि कृषि उत्पादनमा ह्रास ल्याएको छ । मैले यस विषयलाई महानगरको बैठकमा पनि उठाएको छु । नगरसभामा छलफलपछि महानगरभित्र नयाँ इँटाभट्टा सञ्चालन गर्न नदिने निर्णय भएको छ । किसानलाई प्रोत्साहन गर्न बजेट विनियोजन पनि भएको छ । 
ढल निकास, खानेपानी र सडकका समस्या समाधान कहिलेसम्म गरिसक्नुहुन्छ ?
पानीको समस्या समाधान गर्न केही स्थानमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । अघिल्ला वर्षमा जस्तो पानीको समस्या छैन । बिस्तारै सडक र ढलको समस्या पनि समाधान गर्नेछौँ ।

वडाका योजना
 राजकुलो पक्की बनाउने
 काष्ठकला र पर्यटन प्रवद्र्धन गर्ने 
 सांस्कृतिक सम्पदा र निजी आवाज पुनर्निर्माण यथाशीघ्र गराउने 
 सडक मर्मत गर्ने 
 खानेपानी र ढल निकासको व्यवस्था गर्ने 

मुख्य पाँच समस्या
खानेपानी 
 ढल निकास
 वातावरण प्रदूषण
 कृषि उत्पादनमा कमी
 पुनर्निर्माणमा ढिलाइ