मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ फाल्गुण १८ बिहीबार ०८:४३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिआइबी भन्छ- शाहले विदेशबाट भित्र्याएको साढे ३७ करोड अपचलन गरे

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ फाल्गुण १८ बिहीबार ०८:४३:००

बिहेमा श्रीमतीलाई साढे दुई करोडको सुनको गहना उपहार, विदेशबाट भित्र्याएको रकम घरजग्गा र सेयरमा लगानी

शंकास्पद रकम नेपाल भित्र्याएको अभियोगमा पक्राउ परेका पृथ्वीबहादुर शाहले ३७ करोड ५७ लाख रुपैयाँ अपचलन गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार उनले अमेरिकी, क्यानेडेली र बेलायती नागरिक ठगेर सो परिमाणको रकम नेपाल भित्र्याएका थिए । विदेशबाट ल्याएको रकमबाट उनले घर निर्माण, जग्गा, सेयर तथा सुन खरिद गरेका थिए । बिमा र अन्य वित्तीय कम्पनीमा समेत उनले लगानी गरेको पाइएको छ ।

विलासी जीवन बिताउँदै आएका शाहले ठगीकै रकमबाट भड्किलो विवाह गरेको प्रहरी अधिकारीहरू बताउँछन् । विवाहमा उनले श्रीमतीलाई ‘गिफ्ट’ मात्रै साढे दुई करोड रुपैयाँ मूल्यबराबरको सुनको गहना दिएका थिए । अनुसन्धानमा संलग्न सिआइबीका एसएसपी दिनेश आचार्यले विदेशी नागरिक ठगी गरी नेपाल भित्र्याएको रकमबाट शाहले घरजग्गादेखि सेयरमा लगानी गरेको बताए । ‘उसले विशेषगरी अमेरिकी नागरिकलाई ठगेको देखिन्छ । त्यहाँबाट आएकोमध्ये करिब साढे ३७ करोड रुपैयाँ अपचलन गर्दै घर बनाएको छ । जग्गा, सेयर तथा सुन खरिद गरेको छ । बिमामा पनि लगानी गरेको देखिन्छ,’ उनले भने ।

सिआइबीका अनुसार शाहले अमेरिकाबाट मात्रै ४५ लाख ४६ हजार ६ सय ३९ डलर (६० करोड एक लाख ५६ हजार तीन सय ४८ रुपैयाँ) ठगी गरी नेपाल भित्र्याएका थिए । क्यानडाबाट तीन लाख ४० हजार क्यानेडियन डलर (तीन करोड ३० लाख ३१ हजार रुपैयाँ) र बेलायतबाट पाउन्ड स्ट्रलिङ २२ हजार (३५ लाख पाँच हजार दुई सय ६० रुपैयाँ) गरी कुल ६३ करोड ६६ लाख ९२ हजार ६ सय आठ रुपैयाँ ठगी गरेका थिए । जसमध्ये उनले ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ बैंक खाताबाट झिक्ने अनुमति पाएका थिए । प्रहरीका अनुसार सोही खाताबाट उनले ३७ करोड ५७ लाख ६९ हजार ५१ रुपैयाँ झिकिसकेका थिए । उनले अपचलन गरेको रकम त्यही हो । बाँकी एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ भने उनले खाताबाट झिक्न सकेका थिएनन् । ठगीबाट प्राप्त २४ करोड ८० लाख ३० हजार चार सय ७२ रुपैयाँ अझै बैंकमा ‘होल्ड’ गरिएको छ । 

सिआइबीका अनुसार शाहले अमेरिका, क्यानडा र बेलायतका ५६ व्यक्तिलाई ठगेका थिए । ठगिनेमध्ये २४ पीडितले सिआइबीमा जाहेरीसमेत दिएका छन् । उनीहरूले आफूहरूबाट शाहले ३८ करोड १७ लाख ९५ हजार चार सय ८० रुपैयाँ (२८ लाख ९२ हजार तीन सय ९० अमेरिकी डलर) ठगी गरेको भन्दै जाहेरी दिएका छन् । सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले ५६ मध्ये २४ जनाको जाहेरी सिआइबीमा परेको र उनीहरू सबै अमेरिकी नागरिक रहेको बताए । ‘शाहले विभिन्न मुलुकका ५६ जनालाई ठगी गरेको देखिन्छ । जसमध्ये २४ जना अमेरिकी नागरिकको जाहेरी सिआइबीमा परेको छ,’ उनले भने ।

विदेशी नागरिक ठग्न संगठन निर्माण
सिआइबीका अनुसार शाहले विदेशी नागरिक ठग्न संगठन नै निर्माण गरेका थिए । उनको संगठनमा रहेकामध्ये हालसम्म २० सदस्यको पहिचान खुलिसकेको छ । जसमध्ये केही सदस्य अमेरिकामा छन् । बाँकी दुबई र भारतस्थित पश्चिम बंगालमा छन् । पक्राउ परेका विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र रंगबहादुर साउद सोही संगठनका सदस्य हुन् । 

ठगी गर्नुअघि उनीहरूले ‘फेक इमेल आइडी’बाट एकैपटक धेरैजनालाई इमेल पठाउँथे । इमेलमा एन्टी भइरस अपडेट गर्नेदेखि रकम ट्रान्सफर भएको विवरणसमेत उल्लेख भएका थिए । कतिपय इमेल अमेजनको बिल भुक्तानी, गिक स्वायड, क्विक बुक्सजस्ता अवरणबाट पनि पठाउँथे । जब जवाफ आउँथ्यो, त्यसपछि उनीहरू इमेलकर्तासँग अनेक बहानामा नजिकिन्थे । विशेषगरी वृद्ध अवस्थाका रोगी नागरिकलाई उनीहरू ‘टार्गेट’ बनाउँथे । यही बहानामा उनीहरूले पीडितको बैंक खातामा आफ्नो पहुँच पुर्‍याउँथे । र, थाहै नपाई आफ्नो खातामा रकम ‘ट्रान्सफर’ गरिदिन्थे । सम्पर्कमा आएका पीडितलाई ‘मनी लाउन्डरिङ’मा फसाइदिने भन्दै २४ घन्टासम्म कतै पनि उजुरी नगर्न धम्काउँथे । कतिलाई रकम फिर्ता गरिदिएको नक्कली बैंक स्टेटमेन्ट बनाएर इमेल गरिदिन्थे । उक्त रकम उनीहरूले नेपाल र थाइल्यान्डमा पठाउँदै आएको सिआइबी प्रवक्ता एसपी थापाले जानकारी दिए । 

‘शाहले ठगी गर्न संगठन नै बनाएको देखिन्छ । अमेरिका, दुबई र भारतको वेस्ट बंगालमा यसका सदस्य रहेको देखिन्छ । ठगी गर्न यिनीहरूले आफैँ इमेल क्रियट गर्छन् । सबैलाई एकैपटक पठाउँछन् । सोही बहानामा बैंक खातामा पहुँच पुर्‍याउँछन् । र, खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गराउँछन् । यसरी संकलन भएको रकम नेपाल र थाइल्यान्डमा पठाएको देखिन्छ,’ उनले भने ।

अनुसन्धानमा एफबिआईको सहयोग 
शाहबाट ठगिने अधिकांश नागरिक अमेरिकी रहेको खुलेपछि सिआइबीले अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकाको एफबिआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन)को सहयोग लिएको छ । एफबिआईकै सहयोगमा सिआइबीले ठगिएका २४ अमेरिकी नागरिकको जाहेरी संकलन गरेको हो । शाहविरुद्ध जाहेरी थपिने क्रम जारी रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । ‘यो ठगी अन्य अपराधभन्दा फरक छ । किनकि यसको वारदातस्थल अमेरिका हो । पीडित पनि अमेरिकी नै छन् । तर, ठगिएको रकम आएको हुँदा नेपाललाई पनि वारदातास्थल भन्न मिल्छ । अनुसन्धानमा हामीले नेपालस्थित अमेरिकी दूतावास र एफबिआईको सहयोग लिएका छौँ । उनीहरूकै सहयोगमा २४ अमेरिकी नागरिकको जाहेरी हामीकहाँ परेको हो,’ उनले भने ।

बैंक खातामा पहुँच पुर्‍याउन शाहको समूहले अमेरिकी नागरिकलाई पटक–पटक फोन गर्थे । फोनको स्क्रिनमा अमेरिकी नम्बर नै देखिन्थ्यो । शाहको गिरोहमा रहेका सदस्यले जसो भन्थे प्रलोभनमा परेका पीडित त्यसै गर्थे । फोनको स्क्रिनमा अमेरिकी नम्बर देखिए पनि फोन भने भारतको वेस्ट बंगालबाट हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । यो प्रयोजनमा उनीहरूले ठगीबाट प्राप्त कुल रकमको २५ प्रतिशत भारत पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।