मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

भावी राष्ट्रपतिबारे कांग्रेस र एमालेसँग प्रधानमन्त्रीको आज निर्णायक वार्ता

बिहान ८ बजे तत्कालीन पाँचदलीय गठबन्धनको बैठक, त्यसपछि प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने

Read Time : > 3 मिनेट
२०७९ फाल्गुण १२ शुक्रबार ०६:३२:००

भावी राष्ट्रपतिबारे प्रमुख दलहरूबीच शुक्रबार निर्णायक वार्ता हुँदै छ । जसबाट तत्कालीन पाँचदलीय गठबन्धन ब्युँतिने–नब्युँतिने टुंगो लाग्ने नेताहरूको भनाइ छ । शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदै छ । 

बिहीबार माओवादी, एकीकृत समाजवादी र जसपाको बैठकपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार एमाले र कांग्रेससँग छलफल गर्ने बताए । कांग्रेससहित तीन दलको बैठक बिहान ८ बजे बोलाइएको छ । प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच हुने छलफलको समय भने तय भइसकेको छैन ।

‘राष्ट्रपतिबारे छलफल चलिरहेको छ, फाइनल भइसकेको छैन । भोलि (शुक्रबार) एमाले अध्यक्षसँग पनि छलफल हुँदै छ । कांग्रेससँग पनि हुन्छ । छलफल सबैको सबैसँग चलेको छ,’ तीन दलको बैठकपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारसँग भने । पाँचदलीय गठबन्धन ब्युँताउने वा तत्कालीन नेकपा ब्युँताउने विषयमा केही टुंगो नभएको उनको भनाइ छ । 

तीन दलको छलफललगत्तै बिहीबार साँझ ५ बजे नै कांग्रेससहित बैठक बस्ने भनिए पनि नेताहरू छुट्टाछुट्टै छलफलमा व्यस्त हुनुपरेका कारण शुक्रबारका लागि सारिएको कांग्रेस महामन्त्री गगन थापाले बताए । ‘दलहरूको छुट्टाछुट्टै बैठक बसेर अन्तिममा चार दलको बैठकबाट निर्णयमा पुग्ने तयारी थियो । तर, तीन दलको बैठक लम्बिएपछि चार दलको बैठक शुक्रबारलाई सरेको हो,’ उनले भने, ‘पुरानै गठबन्धनबाट कांग्रेसको उम्मेदवालाई राष्ट्रपति बनाउनेमा सबैको सकारात्मक धारणा छ । बैठकपछि निष्कर्षमा पुग्नेछौँ ।’

तीन दलको बैठक चलिरहेकै वेला एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवानिवास धुम्बाराही पुगेर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस स्रोतका अनुसार अध्यक्ष नेपालले तीन दलको बैठकमा पुरानो गठबन्धनलाई कायम गर्नेबारे सकारात्मक छलफल भएको र थप छलफल गरेर निर्णयमा पुग्नु आवश्यक रहेको बताएका थिए । ‘अध्यक्ष नेपालले तीन दलको बैठकमा पुरानो गठबन्धन कायम गरेर जानुपर्नेमा सकारात्मक छलफल भएको जानकारी गराउनुभयो । कांग्रेससहित चारै दल छलफल गरेर टुंगोमा पुग्ने जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो । भेटमा कांग्रेस सभापति देउवा, महामन्त्री थापालगायत नेताहरू सहभागी भएका थिए । 

मनोनयनअघि कांग्रेसको कार्यसम्पादन समिति बैठक 
कांग्रेसले राष्ट्रपतिका विषयमा निर्णय गर्न शनिबार बिहान कार्यसम्पादन समिति बैठक बोलाएको छ । बिहान ८ः३० बजेका लागि बैठक बोलाइएको सहमहामन्त्री जीवन परियारले बताए । बैठकले कांग्रेसका तर्फबाट उम्मेदवारको नाम टुंग्याउने छ । कार्यसम्पादन बैठकमा सहमति जुटाएर केन्द्रीय संसदीय बोर्डमार्फत उम्मेदवारको अन्तिम टुंगो लगाइने छ । राष्ट्रपति निर्वाचनको कार्यतालिकाअनुसार शनिबारै बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

 पुरानो गठबन्धन ब्युँताउने कसरत, तर किन ‘सिन’मा छैन जनमोर्चा ?
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पुरानो पाँचदलीय गठबन्धन ब्युँताउने चर्चा चलिरहेका वेला जनमोर्चा भने मौन छ । चुनावका वेला बनेको पाँचदलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा थिए । सरकारलाई विश्वासको मत पनि नदिएको जनमोर्चा पुरानो गठबन्धनको सवालमा भने सकारात्मक छ ।

गठबन्धन बैठकमा सहभागी भने हुने गरेको छैन । जनमोर्चाका सचिव हिमाल पुरीले जनमोर्चा पहिलेकै गठबन्धनको पक्षमा रहेको बताए । तर, तत्कालीन गठबन्धनका अन्य चार दल शक्ति बाँडफाँट र सरकारको विषयमा छलफल गरिरहेकाले जनमोर्चा सहभागी नभएको उनले बताए । ‘राजनीतिक रूपमा हाम्रा विचार गएका छन् । केही बैठकमा हामी सहभागी भएका छौँ । हामी सरकारमा सहभागी हुँदैनौँ, त्यसकारण गठबन्धनका सबै बैठकमा सहभागी नभएका हौँ । संविधान रक्षाको सवालमा पुरानो गठबन्धन ब्युँतनु उपयुक्त हुन्छ,’ उनले भने ।

ओलीसँग माओवादी र एकीकृत समाजवादीले नेकपा ब्युँताउने प्रस्ताव राख्ने
माओवादी र समाजवादीले एमालेसँग नेकपा ब्युँताउने प्रस्ताव राख्ने भएका छन् । एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि दुई दलले यस्तो तयारी गरेका हुन् । नेकपा एकताको जगमा फर्किने हो भने सकारात्मक ढंगले अघि बढ्न सकिने नेताहरूको भनाइ छ । 

नेता नेपालले पनि नेकपा एकतालाई आधार मानेर अगाडि बढ्न सकिने बताएका छन् । ‘यदि, तीनवटै वामपन्थी शक्ति मिल्छन् भने हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौँ । ३ जेठ ०७५ मा भएको एकताको जुन दस्ताबेज छ, त्यसपछिको विन्दुलाई आधार मानेर जाने हो भने ठीक छ । तर, अब दुई दिनको समय बाँकी छ, के–के हुने हो हेरौँ,’ बिहीबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेता नेपालले भने । 

तर, एमाले अध्यक्ष ओलीको विगतको गतिविधिले विश्वासको संकट विद्यमान रहेको नेपालको भनाइ छ । ‘दुई सय ४० जनाको केन्द्रीय कमिटी बेलुका पाँच नबज्दै पाँच सय ५६ जनाको भएको थियो । मध्यरातमा पुग्दा एक हजार पाँच सय एक पुगेको थियो । यस्तो ढंगले अगाडि बढेको स्थितिमा विश्वासको संकट विद्यमान छ । विश्वासको संकटलाई हल गर्न पनि समय चाहिन्छ । हेर्दै जाऔँ, सबै घटनाक्रमसँग जोडिँदै जाऔँ । यो देशलाई सकारात्मक दिशामा लिएर जाऔँ । जसले जस्तो व्यवहार गर्छन्, जस्तो नीति र अडान लिन्छन्, तदनुरूपको हाम्रो सम्बन्ध कायम रहनेछ,’ उनको भनाइ थियो । 

राष्ट्रपतिका विषयमा एमाले अध्यक्ष ओलीसँग अमूर्त कुरा मात्रै भएको नेता नेपालको दाबी छ । ‘केहीले सहज रूपमा भनिरहेका छन्, एमालेले अहिले राष्ट्रपतिको प्रस्ताव ल्याएको छ, मानिहालौँ भन्ने खालले । जेको पनि दुइटा पक्ष हुन्छ । एउटा पक्ष व्यक्तिगत रूपमा लाभअनुसार । अर्को, संस्थागत रूपमा लाभ हुन्छ कि हुँदैन, राजनीतिक रूपमा लाभ हुन्छ कि हुँदैन । सिंगो राजनीतिक परिस्थितिलाई अनुकूल हुन्छ कि हुँदैन । यी सबै पाटालाई नकेलाईकन त्यत्तिकै हामी हाम फाल्न थाल्यौँ भने ठूलो धक्का लाग्छ,’ उनले भने । 

राष्ट्रपति पद आफ्ना लागि गौण भएको बताए । ‘कम्युनिस्ट शक्तिलाई बलियो बनाउनुपर्‍यो, एकताबद्ध बनाउनुपर्‍यो । त्यस हिसाबले हामीले पार्टी एकताको कुरालाई पनि, मोर्चा निर्माणको कुरालाई पनि र सहकार्यको कुरालाई पनि अगाडि सारेका छौँ,’ उनले भने, ‘हाम्रा लागि राष्ट्रपति पद प्रमुख होइन । हाम्रा लागि यो देशको उपस्थिति अनिवार्य छ । राज्य सञ्चालनको सवालमा देखापरेका भ्रष्टाचारदेखि अनेकखाले विकृति–विसंगतिको सामना कसरी गर्ने, सुशासन, विकास र समृद्धिको बाटोमा कसरी अगाडि बढ्ने भन्ने मुख्य हो । त्यसकारण हामीले के पाउँछौँ, के पाउँदैनौँ भन्ने होइन, देशले के पाउँछ, जनताले के पाउँछन् भन्ने कुरा प्रमुख हो ।’

जसपाको सरोकार उपराष्ट्रपति
जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डसँगको छलफल र त्यसपछि भएको तीन दलको छलफलमा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक पनि रहेको उनको भनाइ छ । ‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक रहेको मैले पाएको छु,’ प्रधानमन्त्रीसँगको छलफलपछि यादवले भने ।