मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ७ आइतबार १३:१२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ७ आइतबार १३:१२:००

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।

कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा सक्ने गरी पाएको छ । उक्त खण्डको ०७९ मंसिर २७ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहनेछ । उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५–२५ मिटरको मापदन्डअनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत संकलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत संकलन कार्य थालिएको छ ।

वि.सं. २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । सरकारले ०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो । अब उक्त सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजारनजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२.८६ मिटर कायम हुने भएको छ ।

पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ ।

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरका तीन पुल जगाति र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडी राजमार्गका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग अरनिको राजमार्ग जोडिएको छ ।