१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ मङ्सिर २७ बिहीबार ०५:१०:००
Read Time : > 1 मिनेट
सप्तरंग

बलात्कारविरुद्ध संघर्षको फिल्म उत्कृष्ट

Read Time : > 1 मिनेट
२०७५ मङ्सिर २७ बिहीबार ०५:१०:००

खातेरा २३ वर्षीय अफगानी महिला हुन् । उनी आफ्नै बाबुबाट बलात्कृत भएर गर्भवती हुन्छिन् । राष्ट्रिय टेलिभिजनमार्फत उनले न्यायका लागि आफ्नो पीडा बताउँछिन् । बलात्कारी बाबुलाई कारबाही र अफगानिस्तानको त्रुटिपूर्ण न्यायिक व्यवस्थालाई उजागर गर्न एक युवतीले गरेको संघर्षको कथा हो, फिल्म ‘अ थाउजन्ड गल्र्स लाइक मी’ । यो फिल्मलाई सहारा मनीले बनाएको हो ।

यही फिल्म काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २०१८ मा उत्कृष्ट ठहरिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ पहिलो हुँदै यो फिल्मले १५ सय डलर पुरस्कार पायो । अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ले दोस्रो हुँदै एक हजार डलर हात पारेको छ । त्यस्तै, मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ले तेस्रो हुँदै पाँच सय डलर जितेको छ ।

नेपाल पानोरामाअन्तर्गत आख्यानमा अविनाशविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागार्इं र कमल कुमारको ‘मरिसकेको मान्छे’ले उत्कृष्ट हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ हात पारे । पाँच दिनसम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा भएको फेस्टिभलमा ३१ देशका ७० भन्दा बढी फिल्म देखाइएको थियो ।

किम्फमा प्रदर्शित उत्कृष्ट पर्वतीय फिल्मको उपाधि मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ले जित्यो । सो फिल्मले एक हजार डलर पाएको छ । उत्कृष्ट साहसिक फिल्म प्रसुना डंगोलको ‘डोल्पा डायरी’ले जितेको छ । सो फिल्मले पनि एक हजार डलर पाएको छ । सेनाङ ग्यांग्जोको ‘सुपर मंक’ले सबैभन्दा बढी दर्शकको रोजाइमा परी ५० हजार रुपैयाँ राशिको अडियन्स अवार्ड हात पा-यो । ‘किम्फ डक लाइभ पिच’मा छानिएका पाँच प्रतिस्पर्धीमध्ये विद्या चापागार्इंको ‘माउन्टेन गार्ड’ले दुई हजार पाउन्ड पुुरस्कार प्राप्त गरेको छ ।

यसपटक किम्फले नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा ३५ वर्षमुनिका युवाहरूको सर्ट फिल्म प्रतियोगिता पनि गरेको थियो । सो विधामा सुजन गौतमको ‘मी एन्ड माई इन्डेभर’ले उत्कृष्ट हुँदै २५ हजार रुपैयाँ जितेको छ ।

यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अस्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङरितार शेर्पा थिए । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट तीन र नेपाल पानोरमाअन्तर्गत परेका २० फिल्मबाट उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रको छनोट गरेका हुन् ।