मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ड्यानी हाइफोङ
२०७९ माघ २४ मंगलबार ०९:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आइएमएफको पूर्वानुमान र अमेरिकी युद्ध उन्माद

अन्तर्राष्ट्रिय मामिलामा वासिंगटनको दृष्टिकोण चीनको ठीकविपरीत देखिन्छ अर्थात् यो सशस्त्र द्वन्द्वको लतद्वारा निर्देशित छ

Read Time : > 2 मिनेट
ड्यानी हाइफोङ
२०७९ माघ २४ मंगलबार ०९:००:००

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आगामी वर्षका लागि विश्व अर्थतन्त्रबारेको आफ्नो पूर्वानुमानलाई अद्यावधिक गरेको छ । अनुमान पश्चिमा जगत्का लागि खासै उत्साहजनक देखिँदैन । सन् २०२३ मा अमेरिकी अर्थतन्त्रमा एक दशमलव चार प्रतिशतको मात्रै वृद्धि हुने अनुमान गरिएको छ । अवस्था युरोपका लागि पनि अनुकूल छैन अर्थात् युरोपेली संघका प्रमुख राष्ट्रको आर्थिक वृद्धि शून्यप्रायः देखिन्छ ।

आइएमएफले अमेरिकामा विद्यमान उच्च ब्याजदर र युक्रेन संकटका कारण निम्तिएको आर्थिक धक्कालगायत कारकलाई पश्चिमको अर्थतन्त्रमा हुने मन्दीका लागि जिम्मेवार बताएको छ । यद्यपि यो विश्लेषण एकतर्फी मात्रै हो । अमेरिका र पश्चिममा हुने सम्भावित मन्दीका अन्य कारण पनि मौजुद छन् ।  

आर्थिक वृद्धि विश्व परिस्थितिमा हुने क्षणिक परिवर्तनले मात्रै निर्धारण गर्दैन । कठिन समयमा पनि मुद्रास्फीति, ज्याला स्थिरता र सुस्त वृद्धिको सुनिश्चितता हुँदैन । यदि यसो हो भने आइएमएफले चीन र अमेरिकाको प्रक्षेपण गरेको वृद्धिदर बराबर वा तुलनात्मक रूपमा समान हुने थियो । तर, सन् २०२३ मा चीनमा अमेरिकाभन्दा चारदेखि पाँच गुणा बढी आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । दुई राष्ट्रको आर्थिक वृद्धिको अनुमानित दरबीचको असमानताको कारण के हुन सक्छ ? अन्तर्राष्ट्रिय परिस्थितिबारे यी दुई मुलुकका फरक दृष्टिकोणलाई मुख्य कारण मान्न सकिन्छ । र, यो फरक दृष्टिकोणलाई उपेक्षा गर्ने गरिन्छ । 

अन्य देशका आन्तरिक मामिलामा पारस्परिक लाभ हुने सहयोग र गैरहस्तक्षेपको अवधारणा नै चीनको विश्वव्यापी दृष्टिकोणको आधारशिलाका रूपमा काम गर्छ । युक्रेन संकटका कारण चीन र रुसबीचको व्यापार बढेको छ । सन् २०२२ को डिसेम्बरमा रियादमा भएको ऐतिहासिक चीन–अरब राष्ट्र शिखर सम्मेलनमा अरब राष्ट्रले पनि चीनसँग आर्थिक सहयोगका लागि आफ्नो प्रतिबद्धता दोहो¥याएका थिए । ठूला परिवर्तनको क्षणलाई डो¥याउन विश्वलाई सहयोग गर्ने मामिलामा चीन अग्रणी स्थानमा रहेको मानिन्छ । 

चीनले सन् २०२२ मा तेस्रोपटक ब्रिक्स शिखर सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा साउदी अरेबिया, अर्जेन्टिना र इरानजस्ता दक्षिणी गोलार्धका मुलुकले सम्मेलनमा सामेल भएर चासो देखाएका थिए । यो विशेष चासोका सन्दर्भमा विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षक विश्वमा बहुध्रुवीयताका लागि आर्थिक आधार निर्माण भएको बताउँछन् । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनपछि राष्ट्रपति सी जिनपिङले बेइजिङमा भियतनाम र क्युबाका उच्च अधिकारीसँग महŒवपूर्ण कूटनीतिक वार्ता गरेका थिए ।

जी २० र एपेक बैठकमा चिनियाँ नेतृत्वले पनि कूटनीतिको एक उदाहरणीय अभ्यास प्रस्तुत गरेका छन् । सम्भवतः सबैभन्दा महŒवपूर्ण विषय के रह्यो भने चीनले जी २० शिखर सम्मेलनमा राष्ट्रपति सी जिनपिङको अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तालाई पछ्याउने दृढ इच्छालाई संकेत गरेको छ । यसले अमेरिका–चीन सम्बन्धलाई समग्रमा विश्वका लागि थप स्थिर एवं रचनात्मक मार्गमा फर्काउने इमानदार प्रयास झल्काउँछ । 

मुलुकको आर्थिक सफलताको खोजीमा चीनले अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन गर्न विश्वका कैयौँ मुलुकसँग साझेदारी गरेको छ । चीनका लागि समृद्धि र शान्ति अन्योन्याश्रित छ । पारस्परिक लाभकारी आर्थिक अन्तर्क्रियामा आफ्नो समर्पणका कारण चीन चुनौतीपूर्ण समयमा भरपर्दो साझेदार बन्ने गरेको छ । ल्याटिन अमेरिका, अफ्रिका र एसियाका राष्ट्रले आफ्ना मुलुकमा आवश्यक पूर्वाधारका लागि चीनबाट सहयोगको अपेक्षा गर्ने गरेका छन् । चीन–लाओस उच्च गतिको रेल र हालै टर्कीको राजधानी इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने उच्च गतिको रेल चिनियाँ सहयोगका दुई उदाहरण हुन् ।

अन्तर्राष्ट्रिय मामिलामा वासिंगटनको दृष्टिकोण चीनको भन्दा ठिकविपरीत देखिन्छ अर्थात् यो सशस्त्र द्वन्द्वको लतद्वारा निर्देशित छ । युद्ध अमेरिकी राजनीतिलाई नियन्त्रण गर्ने धनी कर्पोरेटका लागि फाइदाजनक छ, किनभने यसले अमेरिकी वर्चस्वलाई फैलाउने काम गर्छ र बलियो बनाउँछ । सन् २०२२ को फेब्रुअरीमा युक्रेन संकट सुरु भएयता अमेरिकाले युक्रेनलाई अर्बौं डलरबराबरको हतियार उपलब्ध गराएको छ । जारी गरिएको नयाँ अमेरिकी वायुसेनाको दस्ताबेजले सन् २०२५ मा चीनसँग युद्धको सम्भावित योजनाको खाका कोरेको छ ।

युद्धका कारण आर्थिक वृद्धि र आन्तरिक राजनीतिक स्थायित्व दुवैमा ठूलो क्षति हुने गर्छ । हतियारको बढ्दो व्यापार, प्रतिबन्ध र युद्धको तयारीले देशको घरेलु आर्थिक मुद्दामा कुनै सुधार गर्दैन । लगातारको मुद्रास्फीति, ब्याजदरमा भएको उल्लेख्य वृद्धि र घट्दो जीविकाका मामिलामा राजनीतिक नेतृत्वले जनताको जीवनस्तरमा सुधार ल्याउन आफूलाई समर्पित गर्नुपर्छ । त्यो प्रतिबद्धतालाई पूरा गर्न नसक्दा राजनीतिमा नौटंकी अपरिहार्य बन्न जान्छ । नतिजा अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेता आफ्ना कमजोरीका लागि चीनलाई दोष दिन अत्यधिक समय र पैसा खर्च गर्न बाध्य छन् ।

सन् २०२३ को पहिलो महिना अमेरिकाले आफ्नो युद्धको लत पूरा गर्न समर्पित गरेको छ । ठिकविपरीत चरम विश्वव्यापी अशान्तिको समयमा चीनले स्थायित्वको भावनालाई प्रोत्साहन गर्ने कदम चालिरहेको छ । र, यो वर्षका बाँकी महिना अघि बढ्दै जाँदा अमेरिकाको युद्ध उन्मादको खतरा थप बढ्ने देखिन्छ ।  

शान्ति केवल अपनाउनलायक मूल्य मात्र नभई मानवताका दुरुह आर्थिक एवं राजनीतिक चुनौतीलाई समाधान गर्ने एक अत्यावश्यक सिद्धान्त पनि हो । दुर्भाग्य, अमेरिकालाई शासन गर्ने शक्तिले आर्थिक स्थायित्वलाई प्रवद्र्धन गर्ने शान्तिपूर्ण विश्वव्यापी वातावरणका साटो प्रभुत्व र आक्रामकता रोजेका छन् ।

(हाइफोङ अमेरिकी पत्रकार हुन्, उनी ब्ल्याक एजेन्डा रिपोर्टका सम्पादक हुन्) सिजिटिएनबाट