मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २४ मंगलबार ०७:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल आज भारतको सामना गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २४ मंगलबार ०७:०२:००

चार राष्ट्र सम्मिलित साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा शीर्ष दुई स्थान रक्षा गर्ने फाइनलमा पुग्नेछन् । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशबीच दुई राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको चौथो टोली भुटान बाहिरिइसकेको छ । नेपाल अन्तिम दुई स्थानमा प्रवेश गर्ने लक्ष्यका साथ मंगलबार बलियो भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र भारतबीचको खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ । 

राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा समान एक जित र हार निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम खेलमा उपाधि दाबेदार भारतलाई हराउँदा फाइनल स्थान सुरक्षित गर्नेछ । हार वा पराजयले नेपालको फाइनल खेल्ने सपना समाप्त हुनेछ । साथै, महिला यू–२० साफ च्याम्पियनसिपको उपाधि जित्ने धोको यसपटक पनि अपूरो हुनेछ । यस कारण नेपालमाथि जित्नैपर्ने दबाब छ । नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले भारतविरुद्ध दबाबमा नहुने प्रतिक्रिया दिएका छन् । 

दक्षिण एसियाकै कडा प्रतिद्वन्द्वी भारतविरुद्ध सम्हालिएर खेल्ने प्रशिक्षक गुरुङले बताए । ‘भारतविरुद्ध जित्नैपर्ने दबाब छ । तर, हामीलाई भन्दा भारतलाई धेरै दबाब छ,’ गुरुङले नयाँ पत्रिकासँग भने । सहभागी चारै टोलीमध्ये भारतले दुई खेलबाट चार अंक बटुलेको छ । बंगलादेशले पनि चारै अंक बटुलेको छ । गोलअन्तरमा बंगलादेश दोस्रो स्थानमा छ । नेपाल तीन अंकका साथ तेस्रो स्थानमा छ ।  

उच्च मनोबलका साथ खेल्ने
नेपाल प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ४–० ले हराउन सफल भएको थियो । भुटानविरुद्ध स्ट्राइकर अमिषा कार्कीले ह्याट्रिक गरेकी थिइन् । अमिषा प्रतियोगितामा तीन गोल गर्ने चौथो खेलाडी हुन् । राउन्ड रोबिन लिगमा भारत र बंगलादेशबीचको खेल गोलरहित बराबरी भएको थियो । भारतको बराबरीसँगै नेपालले उच्च मनोबल बनाएको प्रशिक्षक गुरुङ बताउँछन् । ‘टोलीको मनोबल उच्च छ ।

बंगलादेशलाई हामीले एक गोल गरेका थियौँ । भारत बंगलादेशसँग बराबरीमा रोकिएको थियो,’ उनले भने, ‘हामी बंगलादेशविरुद्ध सन्तुलित हुन नपाउँदै गोल खान पुग्यौँ । त्यसैले खेलको सबै रणनीति भत्कियो, भुटानसँगको खेलमा सुधार भएको थियो । हामी जित्नका लागि खेल्छौँ ।’