१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २३ सोमबार २२:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकी उपविदेशमन्त्रीपछि युएसएआइडीकी प्रशासक काठमाडौंमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २३ सोमबार २२:५६:००

अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (युएसएआइडी) की प्रशासक समान्था पावर सोमबार राति काठमाडौं आइपुगेकी छन् । क्याविनेट सदस्य हैसियतकी पावर अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद् सदस्य पनि हुन् । 

राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमण भएको एक सातापछि युएसएआइडीकी प्रशासक आइपुगेकी छन् । नेपालको आर्थिक विकास, सूचना प्रविधि, जलवायु परिवर्तनसम्बन्धी विषय तथा ग्रिन हाइड्रोजन तथा एमोनियामा लगानीका बिषयमा उनले उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ । 

उनले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले मंगलबार पाटनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछिन् भने बुधबार संचारकर्मीहरुसँग कुराकानी गरेर स्वदेश फर्किनेछिन् । 

समान्था पावरले युएसएआइडीको १९औँ प्रशासकका रूपमा ३ मे २०२१ मा पदभार ग्रहण गरेको अमेरिकी दूतावासले जनाएको छ । उनले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरेकी छन् ।  

युएसएडसँग कोभिड–१९ को विश्वव्यापी महामारी र यसले जोखिममा पारेका विकास उपलब्धीहरू; जलवायु परिवर्तन; द्वन्द्व र मानवीय संकट तथा लोकतन्त्रको विषयमा सहयोग गर्ने क्षेत्राधिकार छ । पावरले खाद्य सुरक्षा, शिक्षा, महिला सशक्तीकरण र विश्व स्वास्थ्यलगायतका क्षेत्रमा युएसएआइडीले गरेको कार्यको नेतृत्व लिएकी छन्  । 

पावर अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य हुने प्रथम युएसएआइडी प्रशासक हुन् जहाँ उनले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूबारे अमेरिकी प्रशासनमा भूमिका निर्वाह गर्नेछिन् । आयरल्यान्डकी आप्रवासी पावरले आफ्नो पेसागत जीवनको सुरुवात बोस्नियामा एक युद्ध संवाददाताको रूपमा गरेकी थिइन् । 

अमेरिकी दुताबासका अनुसार उनले कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायतका स्थानबाट रिपोर्टिङ गरेकी थिइन् । उनलाई टाइम पत्रिकाले सर्वाधिक प्रभावशाली सय व्यक्तिहरुको सूचीमा राखेको थियो ।  

फरेन पोलिसि प्रकाशनको शीर्ष सय वैश्विक चिन्तक मध्येकी एक र फोर्ब्स पत्रिकाको विश्वका सय सर्वाधिक शक्तिशाली महिलाहरू मध्येकी एकका रूपमा उनलाई राखेका थिए । उनले गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कार पाएकी थिइन् ।