मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २३ सोमबार १३:०६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थविद् भन्छन्- शिथिल अर्थतन्त्र चलायमान बनाउन पूरक बजेट आवश्यक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २३ सोमबार १३:०६:००

अर्थविद्हरूले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन्। 

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरूले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनका लागि औचित्य पुष्टि हुने गरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन्।

उनीहरूले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको औँल्याए। 

अर्थविद्हरूले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि भए पनि पूरक बजेट आवश्यक रहेको बताए। 

उनीहरूले अहिलेको बजेटमा सरकारका साझा न्यूनतम कार्यक्रम समावेश नभएको भन्दै साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट आवश्यक रहेको बताए। 

उनीहरूले सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटलाई मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए। 

उनीहरूले सरकारले पूरक बजेट ल्याएर पुँजीगत खर्च बढाएर तीव्र रूपमा काम गर्न सके आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन सक्ने बताए। अर्थविद् डा. डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजस्व संकलनको लक्ष्यसमेत भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए। 

उनले सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरि ढंगले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनर्संरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको बताए। 

उनले सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूरक बजेट ल्याउँदा मात्रै औचित्य पुष्टि गर्ने बताए। बजेटमा राखिएको राजस्व संकलन लक्ष्यअनुसार दुई खर्ब बढीले राजस्व भेटिन नसक्ने आकलन रहेको उनको भनाइ थियो। 

उनले वर्तमान सरकारले  कानुनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति, विकृति, भ्रष्टाचारलाई ब्रेक थ्रु गर्नेगरी सुशासनको परिपाटीलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्ने औँल्याए। 
 
त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए। उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए। 

वर्तमान सरकारले जसरी भए पनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याउन आवश्यक रहेको उनको तर्क थियो। 

वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न मागहरू सुनेको देखिएको बताए। उनले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटलाई मध्यावधिक समीक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औँल्याए। 

डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा आठ प्रतिशत आर्थिक वृद्धि हुने र  मुद्रास्फीति लक्ष्यअनुसार कायम राख्ने अवस्था नदेखिएको बताए। 

त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताए। 

उनले वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीलाई अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन सुझाव दिए। 

पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिएपनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताए। 

उनले सरकारले तीव्र रूपमा काम गर्नसके आठ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने आकलन गरे। उनले पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचक रेमिट्यान्स बढ्ने, व्यापार घाटा कम हुने र विदेशी मुद्रा सञ्चितिमा सुधार भएको बताए। 

पूर्वगभर्नर क्षेत्रीले  सरकारले भ्रष्टाचार न्यूनीकरणका निम्ति शून्य सहनशीलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताए।