मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी इस्लामाबाद
२०७९ माघ २३ सोमबार ०९:०२:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

सैनिक ‘कु’ गरेका पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

Read Time : > 2 मिनेट
एजेन्सी, इस्लामाबाद
२०७९ माघ २३ सोमबार ०९:०२:००

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको दुबईमा मृत्यु भएको छ । वर्षौँदेखि दुबईमा स्वनिर्वासनमा रहेका ७९ वर्षीय मुसर्रफ केही वर्षदेखि बिरामी थिए ।सन् १९९९ मा ‘कु’मार्फत सत्तामा आएका मुसर्रफले करिब एक दशक पाकिस्तानको बागडोर सम्हालेका थिए । पाकिस्तानी सेनाले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टि गरेको छ । सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पूर्वराष्ट्रपति तथा सेनाप्रमुख जनरल परवेज मुसर्रफको दुःखद निधनमा हार्दिक समवेदना व्यक्त गर्दर्छौँ । अल्लाहले दिवंगत आत्मालाई आशिष दिऊन् र शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् ।’ पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीको कार्यालयले पनि विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेको छ । 

मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक कमैलाई लाग्ने एक दुर्लभ रोगबाट ग्रसित थिए । यो रोग लाग्दा विभिन्न अंगमा असामान्य रूपमा प्रोटिन जम्मा हुँदै जान्छ र अन्ततः ती अंगका काममा हस्तक्षेप गर्न थाल्छ । यस रोगको उपचारका लागि उनलाई गत वर्ष युएईको अस्पतालमा भर्ना गरिएको थियो । मुसर्रफको शव अन्त्येष्टिका लागि सोमबार दुबईबाट विशेष विमानमार्फत पाकिस्तान ल्याइने जियो न्युजले जनाएको छ । 

सन् १९९९ मा सत्ता कब्जा गरेका मुसर्रफले सन् २००१ देखि राष्ट्रपतिको रूपमा शासन गरेका थिए । उनको कार्यकालमा पाकिस्तानले उच्च आर्थिक वृद्धि हासिल गरेको थियो । तर, शासनको अन्तिम समयतिर मुसर्रफ प्रतिपक्षी दमन र व्यापक मानव अधिकार उल्लंघनका लागि बदनाम थिए ।

उनले सन् २००७ मा देशको संविधान निलम्बन गरेर सैन्य शासन लागू गरे । साथै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बर्खास्त गर्दै प्रतिपक्षी कार्यकर्ता र वकिलहरूलाई गिरफ्तारको अभियान नै चलाए । उनका यी कदमविरुद्ध ठूला विरोध प्रदर्शन भए । सन् २००७ डिसेम्बरमा विपक्षी नेता बेनजिर भुट्टोको हत्यापछि, देशभित्रको तनाव थप तिक्त बन्यो । लगत्तै, सन् २००८ मा भएको निर्वाचनमा मुसर्रफनजिकका दल नराम्ररी पराजित भए । अन्ततः उनी सन् २००८ मा देशको सर्वोच्च पदबाट राजीनामा दिएर निर्वासनमा जान बाध्य भए ।

सन् २०१० मा आफ्नै राजनीतिक दल खोलेर मुसर्रफले सत्तामा फर्कने प्रयास गरेका थिए । तर, त्यसपछिका दुई निर्वाचनमा पार्टीले कुनै उलेख्य सिट हासिल गर्न सकेन । सन् २०१३ मा निर्वाचन आयोगले उनलाई निर्वाचनमा उठ्न अयोग्य घोषणा गरिदियो । योे निर्वाचनमा उनैले अपदस्थ गरिदिएका नवाज सरिफ भारी मतले विजयी भए । मुुसर्रफले तत्कालीन प्रधानमन्त्री सरिफलाई सन् १९९९ मा श्रीलंकाको भ्रमणबाट देश फर्किँदै गर्दा आकाशमै रहेका बखत अपदस्थ गरेका थिए । सरिफ चढेको विमान पाकिस्तान अवतरण गर्ने अधिकारसमेत खारेज गरिएको थियो । 

सन् २०१४ बाट मुसर्रफविरुद्ध राजद्रोहको मुद्दा सुरु भयो । उनलाई देश छोडेर जानसमेत प्रतिबन्ध लगाइयो ।विदेशयात्राको प्रतिबन्ध सन् २०१६ मा हटेपछि मुसर्रफ स्वनिर्वासनमा दुबई गएका थिए । त्यसको तीन वर्षपछि, उनी निर्वासनमै रहेको समयमा उनलाई राजद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाइयो । सो सजाय सन् २००७ मा उनले लागू गरेको संकटकालसँग सम्बन्धित थियो । यद्यपि, पछि उक्त निर्णयलाई अर्काे अदालतले खारेज गरिदिएको थियो । गत वर्ष पाकिस्तानी मिडियाले मुसर्रफले पाकिस्तान फर्केर आफ्नो देशमा ‘बाँकी जीवन’ बिताउने इच्छा व्यक्त गरेको समाचार प्रसारण गरेका थिए । 

मुसर्रफलाई पाकिस्तानमा दुई तरिकाले सम्झन्छन् । ‘समर्थकहरू उनले देशका लागि ठूलो काम गरेको भनेर सम्झन्छन् । उनले पाकिस्तानमा विद्युतीय मिडियाको क्रान्ति सुरु गरेको कसैले नकार्न सक्दैन । उनको शासनकालमा कैयौँ टिभी च्यानल खुलेका थिए । तर, तिनै मिडिया उनको पतनको कारण पनि बने । विशेषतः ती टिभीहरूले आलोचनात्मक बहस चलाउन थाले । उनले आफूले जुन जिनलाई बोतलबाट मुक्त गरेका थिए, त्यसलाई पुनः बोतलमा पसाउन सकेनन्,’ अलजजिराका पत्रकार हैदर भन्छन् । 

इस्लामाबादस्थित थिंकट्यांक तादाब्लाबका संस्थापक मोसरफ जैदी भने पूर्वसैनिक जनरलको शासनकालले देशलाई ‘भयानक दुष्चक्र’मा छाडेको र त्यसबाट अझै पाकिस्तान मुक्त हुन नसकेको ठान्छन् । ‘अमेरिकाले सञ्चालन गरेको ‘वार अन टेरोरिरजम (आतकंवादविरोधी युद्ध)’मा मुसर्रफको संलग्नताका कारण यो मुलुक पनि आतकंवादी निशानामा पर्न थाल्यो । उनको निर्णयको भारी उनीपछिका नागरिक सरकार तथा पाकिस्तानी सेनाले बोकिरहनुपरेको छ । आतंकवादी आक्रमणमा परेर हजारौँ पाकिस्तानी सेना र प्रहरी मरिसके,’ जैदीले भने । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सञ्चालन गरेको अभियानमा पाकिस्तान प्रमुख क्षेत्रीय सहयोगी बनेको थियो ।