१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार १४:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमाथि खनिँदै ओलीले गरे आफ्ना कामकाे ‘बेलीविस्तार’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार १४:४७:००

नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेसविरुद्ध खनिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसकाे कडा आलोचना गरेका हुन्।

उनले कांग्रेसले नेतृत्व गरेको सरकारका कारण देशको अर्थतन्त्र जरजर बनेको बताए। व्यापारीले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको उनले दोहोर्‍याए।   

संसदमा कांग्रेसका व्यवहारहरू बुझिनसक्नुको रहेको बताउँदै ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको उनको दाबी थियो। 

ओलीले कांग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको बताए। ओलीले बृहत्तर राष्ट्रिय हितमा काम गर्न कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरे। 

‘हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरू मिलेर दृढनिश्चय र इमानदारीका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गरौँ। राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्व दिँदै नयाँ युगमा प्रवेश गरौँ । म सबै राजनीतिक दल र नेता साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमिक सत्ता, अखण्डता, स्वाधीनता, न्यायोचित हितको सवालमा, समावेशी विकास र सुशासनसहित समृद्धिको सवालमा, अर्थतन्त्रको सबलीकरण, सेवाप्रवाहको व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति गरौँ । एमाले जस्तोसुकै सहयोग गर्न तयार छ । यस्ता कुरामा राष्ट्रिय सहमति हुनुपर्छ। हामीलाई सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ, तर कांग्रेसमा सत्ता गठनका लागि असाधारण रुचि र व्यग्रता थियो, कांग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर, प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतीक्षा गरिरहँदा संविधानको व्यवस्थाबमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ। नयाँ सरकार गठन भएसँगै जनतामा उत्साहको सञ्चार भएको छ। यसबीचमा संसदमा नेपाली कांग्रेसका व्यवहार बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ। कांग्रेस यतिवेला पानीबाहिरको माछाजस्तै छट्पटाएको देखिन्छ । सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा देखिन्छ।’

यस्तै, कांग्रेसको पछिल्लो व्यवहार लोकतन्त्रको मर्म र भावनाविपरीत भएको उनको भनाइ थियो। प्रतिपक्षमा पुगेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएर धमिलो पानीमा माछा मार्ने नियत रहेको उनले आरोप लगाए। आफूले नेतृत्व गरेको सरकारले गरेका कामहरूको उदाहरण प्रस्तुत गर्दै कांग्रेस नेतृत्वको सरकारप्रति कटाक्ष गरिरहे।