मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षण गर्दै खानेपानीमन्त्री अब्दुल खान ।
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ २२ आइतबार १०:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी वर्षैभरि आउने व्यवस्था गरिँदै

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ २२ आइतबार १०:०४:००

बाढीले पुर्‍याएका टनेल निर्माण छिट्टै सक्न पिआइडीलाई खानेपानीमन्त्रीको निर्देशन

बाह्रै महिना काठमाडौंमा मेलम्ची खानेपानी ल्याउने गरी खानेपानी मन्त्रालयले तयारी थालेको छ । खानेपानीमन्त्री अब्दुल खानले हिउँदयाममा मात्रै काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आउँदो बर्खादेखि १२ महिना ल्याउन सकिने पूर्वाधार निर्माण हुने बताएका हुन् । 

उनले यसअघि निर्माण भएका पूर्वाधार व्यवस्थित गर्न र बाह्रै महिना काठमाडौंमा मेलम्ची खानेपानी ल्याउन मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिएका हुन् । मन्त्री खानले त्यसका लागि आवश्यक स्टिमेट पनि माग गरेका छन् । 

अब्दुल खान, मन्त्री, खानेपानी

मेलम्ची खानेपानी काठमाडौंवासीको खानेपानीको मुख्य स्रोत हो, यसलाई व्यवस्थित र भरपर्दो बनाउँछौँ । यसका पूर्वाधार मजबुत र दिगो हुनुपर्छ, यसलाई व्यवस्थित गर्दा उपत्यकामा खानेपानीको हाहाकार हुँदैन ।

मन्त्री खानले शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षण गर्दै खानेपानीको बाँध स्थायी र भरपर्दो बनाउनेतर्फ आयोजनाले ध्यान दिनुपर्ने बताए । आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक सहयोग गर्न मन्त्रालय तत्पर रहेको उनले प्रतिबद्धतासमेत जनाए । 

‘मेलम्ची खानेपानी काठमाडौंवासीको खानेपानीको मुख्य स्रोत हो, यसलाई व्यवस्थित र भरपर्दो बनाउँछौँ,’ उनले भने, ‘यसका पूर्वाधार मजबुत र दिगो हुनुपर्छ, यसलाई व्यवस्थित गर्दा उपत्यकामा खानेपानीको हाहाकार हुँदैन ।’ 

१ असार र १७ साउन ०७८ मा बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको थियो । क्षति पुगेको ठाउँमा काम भइरहेको छ । हाल वैकल्पिक तरिकाले अर्थात् अस्थायी तरिकारले बाँधबाट पानी पठाइएको छ । तर, बाँधयताको पाइपलाइन भने मजबुत नै छ । बाढीले पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरणहरू र कन्ट्र्याक्टर लेबर क्याम्पसमेत बगाएको थियो । यसमध्ये टनेलमा बढी क्षति पुर्‍याएको थियो । हाल बाढीले क्षति पुर्‍याएका केही टनेल निर्माणको काम भइरहेको छ । तर, सुस्त गतिमा काम भइरहेको भन्दै मन्त्री खानले त्यसलाई व्यवस्थित र छिटो सकाउन निर्देशन दिए । उनले यो बर्खाको बाढीले नभत्काउने गरी वा बाँधको ढोका बन्द गर्नुनपर्ने गरी काम गर्न आवश्यक रहेकोसमेत बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानीलाई बाह्रै महिना काठमाडौंमा आउने बनाउन बाँध बलियो बनाउनुपर्ने बताए । उनले ०७८ असारको बाढीले पुर्‍याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि धेरै काम बाँकी रहेको मन्त्री खानलाई जानकारी गराए । उनले हाल पुरानो मेलम्ची आयोजना निर्माण समितिलाई कामविहीन बनाउँदा समस्या भएको बताए । ‘खानेपानी समिति नहुँदा तलब, मर्मत र महŒवपूर्ण निर्णय गर्न समस्या भएको छ,’ उनले भने, ‘यसबारे केन्द्र सरकारले चासो दिनुपर्छ ।’ 

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार असारदेखि बन्द रहेको मेलम्ची खानेपानी २३ मंसिरदेखि उपत्यकामा वितरण थालिएको थियो । हाल उपत्यकामा मेलम्चीसहित १० वटा खानेपानी भण्डारण ट्यांकी छन् । ती ट्यांकीबाट पालैपालो पानी वितरण भइरहेको छ । यसमध्ये उपत्यकामा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँछ । यसबाहेक उपत्यकानजिकका स्रोतबाट १२ करोड लिटर पानी आउँछ । उपत्यकाआसपासका स्रोत र मेलम्चीबाट आएको खानेपानी प्रशोधन गरी पालोअनुसार वितरण गरिने हुँदा ‘रिजर्भ ट्यांकी’ थोरै भए पनि थेग्न सक्छ । आइरहेको पानीलाई पठाउने भएकाले सबै पानी भण्डारण गर्न आवश्यक हुँदैन । मेलम्ची बाह्रै महिना उपत्यकामा आउन सम्भव भयो भने यहाँ खानेपानीको हाहाकार नहुने पिआइडीले जनाएको छ ।