मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शूरवीर पौड्याल
२०७९ माघ २२ आइतबार ०९:३८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुँजीवादी अर्थतन्त्रमा ‘प्रेमप्रसादहरू’

Read Time : > 4 मिनेट
शूरवीर पौड्याल
२०७९ माघ २२ आइतबार ०९:३८:००

समय फेरियो, व्यवस्था फेरियो, तर लुटिनेको भिड झन् बाक्लिएको छ । राज्य आज पनि उस्तै मौन छ ।

सरकार र ‘प्रेमप्रसादहरू’ : एकातिर देशमा कम्युनिस्ट सरकार छ भने अर्कातिर अर्थतन्त्र छाडा पुँजीवादी छ । यस्तो अर्थतन्त्रमा कुनै पनि सरकारी नियमन र नियन्त्रण हुन सकिरहेको छैन । एक किसिमले भन्दा मनपरीतन्त्र हावी छ । मनपरीतन्त्र भएको अर्थतन्त्रमा जे गर्छन् बिचौलियाले र लुटेराले गर्छन् । यहाँ पाइला–पाइलामा माकुराको जालोजस्तै लुटेराको जालो बिच्छिएको पाइन्छ । उनीहरू कति वेला कहाँ मौका पाइन्छ भनेर ढुकिबसेका हुन्छन् । देशमै बसेर केही उद्यम गरौँ भन्ने ‘प्रेमप्रसाद’जस्ता व्यवसायी त्यस्तो जालोमा पर्दछन् । साथै, कतिलाई त यस्ताले वैदेशिक रोजगारीको नाम अनेक देशको प्रलोभन देखाएर लुट्ने गर्छन् । 

कसैले कसैलाई लुट्न नपाओस्, अन्याय अत्याचार गर्न नपाओस्, समाजमा शान्ति सुरक्षा कायम होस् भन्ने मनसायले राज्यको उत्पत्ति भएको थियो । तर, हामीकहाँ भने हिजो राणाकाल, पञ्चायतकालमा गरिखानेलाई उठिवास लगाउनेहरू गाउँघरमा थिए । त्यतिवेला पनि राज्य मौन बसेरै हेरिरह्यो । 

पोकोपन्तुरो कसेर बसाइँसराइ गर्नेको ताँतीले बस्नेको मन रुवाउँथ्यो । गर्न केही सक्दैनथे । हिजोआज समय फेरिएको छ । व्यवस्था फेरिएको छ । तर, लुटिनेको भीड झन् बाक्लिएको छ । राज्य आज पनि उस्तै मौन छ । आजकाल त झन् लुटिने र उठिवास लाग्नेहरूलाई देखेर मन पग्लनेको संख्या घटेको छ । ‘मै खाऊँ मै लाऊँ’ भन्ने प्रवृत्ति बढेको छ । 

घरेलु, साना तथा मझौला व्यवसायले खुद्रा रोजगारीको अवसर सिर्जना गरेका हुन्छन् । बेरोजगारीको समस्यालाई मत्थर पार्न यी उद्योगको योगदान ठूलो हुन्छ । तर, यिनीहरूमध्ये धेरैलाई प्रतिस्पर्धामा टिक्न सहज हुँदैन 

इलामका होनहार युवा प्रेमप्रसाद आचार्य यस्तै जालमा पारेर आत्मदाह गरेका प्रतिनिधि पात्र हुन् । दुई कलकलाउँदा छोरी र लाउँलाउँ, खाउँखाउँ वयकी श्रीमतीलाई छाडेर उनले आत्मदाह गरे । हुन सक्छ, उनी डिप्रेसनका रोगी होलान् । उनले जे गरे त्यो ठीक पनि गरेनन् होला । जीवन संघर्ष हो, त्यसैले अन्तिमसम्म लड्नुपर्छ । सबैले भन्ने यस्तै हो । म पनि त्यसै भनुँला  । तर, यस्तो जीवन जसले भोग्छ, त्यस भोगाइको टोकाइ उसलाई मात्रै थाहा हुन्छ । उनको फेसबुके स्टाटस पढ्दा मात्रै पनि आँखा रसाउँछन् । साँच्चिकै यो देश गरिखानेको होइन, लुटिखानेको कब्जामा छ भन्ने निष्कर्षमा पुग्न बाध्य भइन्छ । 

प्रेमप्रसादले आफ्नो छत्तीस वर्षे उमेरसम्म सक्ने जति मिहिनेत गरेका छन् भन्ने कुरा उनले लेखेको स्टाटसबाट खुलस्त हुन्छ । अर्को कुरा, उनको मनमा स्वदेशमै पौरख गर्नुपर्छ भन्ने देशभक्तिको भावना देखिन्छ । पर्यटन व्यवसायी हुँदा पुख्र्यौली घर र सम्पत्तिसमेत गुमाएर निरुपाय भएपछि उनी वैदेशिक रोजगारीमा गए । 

विदेशको कमाइले पहिलेको ऋण तिरेपछि फेरि जुर्मुराएर स्वदेशमै सेवा गर्ने विचारले प्रेरित देखिन्छन् । देश बनाउने भनेको यस्तै गरिखाने विचार भएका उत्साही युवाले हो । अतः यस्ता युवा जोकोहीको नजरमा आदरणीय रहनुपर्छ । तर, तिनले आफ्नो शरीरमा आगो लगाएर डढ्ने होइन, बरु जाली फटाहाको सत्तालाई डढाउने अठोट गर्ने हो । 

प्रेमप्रसादले विदेशमा देखेको र सिकेको सीपअनुसार इलाम फर्केर व्यावसायिक खेती गरेका र साना उद्योग सञ्चालन गरेर आफ्नो उपजको ब्रान्डिङसमेत गरी काठमाडौं, विराटनगरका सुपर मार्केटमा आपूर्ति पनि गरेको देखिन्छ । तर, सफलताले उनलाई त्यहाँ पनि पछ्याउन सकेन । अर्थात्, उनकै शब्दमा भन्दा उनी त्यहाँ पनि ठूला घरानाका व्यापारीबाट लुटिए । 

सरकार कृषिमा सरकारी अनुदान नीतिको खुब प्रचारप्रसार गर्छ । तर, भुइँ तहमा कसरी त्यसको दुरुपयोग भएको छ, त्यसको वास्तविकता पनि प्रेमप्रसादले उघारिदिएका छन् । अनुदानका लागि पटक–पटक योग्य भए पनि कर्मचारीलाई घुस नखुवाउँदा सो अनुदान प्राप्त गर्न असफल भएको, तर सोही अनुदान नीतिबाट वडाध्यक्ष र दलका आसेपासे पोषित भएको स्टाटसमा उल्लेख गरेका छन् । 

सरकार कृषिमा अनुदान नीतिको खुब प्रचारप्रसार गर्छ । तर, भुइँ तहमा कसरी त्यसको दुरुपयोग भएको छ, त्यसको वास्तविकता पनि प्रेमप्रसादले उघारिदिएका छन् 

अपवादलाई छाडेर पञ्चायतकालदेखि आजसम्म देशभरि हुँदै आएको नै यही नै हो । त्यसैगरी, सरकारी कर प्रणाली र बैंकिङ प्रणालीबीचको माखेसाङ्लोबाट आचार्यजस्ता साना उत्पादक कसरी चेपुवामा परेर उठिवास हुन्छन् भन्ने पनि उनले प्रस्ट्याएका छन् । साना उद्योगले घाटा हुँदा घाटा देखाउन नमिल्ने र सो देखाएमा बैंकबाट ऋण नपाइनेजस्ता अनेकौँ दुखेसो उनीजस्ता साना व्यवसायीसँग रहेको देखाएका छन् । अब हेर्नुछ, वामपन्थी भनेको सरकारले बाँचेका प्रेमप्रसादलाई बचाउन के काम गर्छ ।

पुँजीवादी अर्थतन्त्रमा प्रेमप्रसाद : समाजवादी र मानवीय कोणबाट हेर्दा पुँजीवादी व्यवस्था क्रूरतम आर्थिक व्यवस्था हो । धेरैवटा भुरा माछा निलेर एउटा ठूलो माछाको पेट भर्ने व्यवस्था हो यो । यस व्यवस्थाका हिमायतीले ‘प्रेमप्रसाद’को अवसानमा एक थोपा आँसुसम्म पनि खसाल्दैनन् मात्रै होइन, त्यसलाई जायज ठान्दछन् । पुँजीवादी अर्थतन्त्रमा ठूला माछाले साना माछा निल्ने मत्स्य न्याय स्वाभाविक मानिन्छ । प्रतिस्पर्धामा पछारिएका ‘प्रेमप्रसादहरू’को असफलतालाई पुँजीवादी व्यवस्थाले किन जायज ठहर्‍याउँछ भने  ‘प्रेमप्रसादहरू’ साना माछा हुन् । उनीहरूमध्ये धेरैको नियति प्रतिस्पर्धामा पछारिने नै हो । ‘मीनबहादुरहरू’ ठूला माछा हुन्, उनीहरू बलशाली छन् । 

राज्यले ठूला माछाको पक्षपोषणसँगसँगै दलाली पनि गर्छ । विद्वत् वर्ग बलशालीको पक्षमा दलिल पेस गरेर थाक्दैनन् र ‘प्रेमप्रसाद’ले रातोदिन पसिना बगाएर पनि आफ्नै धर्तीमा बाँच्न पाउँदैनन् । उनीहरू कि विदेशी भूमिमा दासझैँ बिक्री हुन जानुपर्छ कि ‘प्रेमप्रसाद’जस्तै थाकेर आफैँलाई अन्त्य गर्नुपर्छ । त्यसैले पुँजीवादी व्यवस्थाविरुद्ध कार्ल माक्र्सले साम्यवादी दर्शनको रातो झन्डा उचालेका थिए । 

पुँजीवादी व्यवस्थाका यस्तै अमानवीय पक्षसँग असहमत बिपी, प्रदीप गिरी, रामचन्द्रहरूले प्रजातान्त्रिक समाजवादी व्यवस्थाको वकालत गरेका थिए । तर, हामीकहाँ वामपन्थी भन्नेसमेत समाजवादको गीतसम्म गाउँछन्, तर दलालीचाहिँ बजारका बलशालीकै गर्छन् ।  

रोजगारी र साना उद्योग : विश्वभरि नै बजार अर्थतन्त्रमा साना तथा मझौला व्यवसाय गर्नेले धेरै सास्ती भोग्नुपरेको देखिएको छ । यस्ता व्यवसाय गर्नेसँग सफलताभन्दा असफलताका कथा धेरै छन् । तर पनि लाखौँ घरेलु, साना तथा मझौला व्यवसायले धेरैका लागि खुद्रा रोजगारीका अवसर सिर्जना गरेका हुन्छन् । बेरोजगारीको समस्यालाई मत्थर पार्न यस्ता साना तथा मझौला उद्योगको योगदान निकै ठूलो हुने गर्छ । तर, यिनीहरूमध्ये धेरैलाई प्रतिस्पर्धामा टिक्न सहज हुँदैन । त्यसैले राज्यले व्यावहारिक रूपमा घरेलु तथा साना उद्योग प्रवद्र्धन तथा संरक्षण गर्ने नीति हुनुपर्छ । त्यो भनेको ‘प्रेमप्रसादहरू’लाई गरिखान दिनु हो, उनीहरूलाई बचाउनु हो, देशलाई समुन्नतितिर लैजानु पनि हो । 

पर्यटन र साना उद्योग : देश विकासको सम्भावनायुक्त क्षेत्र भनेको पर्यटनको विकास र विस्तार हो । पर्यटनको विकासबाट बढीभन्दा बढी फाइदा लिन देशमा घरेलु तथा साना उद्योगको विकासलाई पर्यटनसँग जोड्न र ती उद्योगको संरक्षण गर्न जरुरी छ । पर्यटनको सेवामा प्रयोग हुने र उनीहरू स्वदेश फिर्ती हुँदा उपहारको रूपमा लिएर जाने वस्तु यस्तै घरेलु तथा साना उद्योगमार्फत उत्पादन हुने गर्छन् । राज्यले अध्ययन अनुसन्धानमा सहयोग गरेर देशभित्र नै सम्भावित यस्ता वस्तुको गुणस्तर वृद्धि गरी उत्पादन बढाउन सके पर्यटनको विस्तारसँगै घरेलु तथा साना उद्योगबाट उत्पादित उपजको पनि निर्यात बढ्ने थियो । साथै, एकातिर रोजगारीमा वृद्धि अर्कोतिर विदेशी मुद्रा आर्जनमा हुने वृद्धिले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने देखिन्छ । पर्यटनमा ‘प्रेमप्रसाद’ले भोगेको ट्रेकिङ रुटमा खाने–बस्ने अव्यवस्था यात्रामा जाने जोकोहीलाई खड्किने समस्या हो । यस्ता रुटमा वडा र नगरपालिकाले आफ्नो क्षेत्रमा बाटाघाटो निर्माणका साथै गाउँँ पर्यटकको रूपमा भए पनि खाने–बस्ने व्यवस्था मिलाउन जरुरी छ । यस्तै, सुविधा नभएको क्षेत्रमा व्यवसायीले पर्यटक लिएर जान नपाइने व्यवस्था राज्यले गर्नु आवश्यक छ । 

घरघरमा जलेका ‘प्रेमप्रसाद’ : बानेश्वरमा सबैले देख्ने गरी एउटा प्रेमप्रसाद जलेर मृत्युवरण गरेका छन् । तर, आज उनीजस्ता लाखौँ ‘प्रेमप्रसादहरू’ व्यवसायमा असफल भई घर–घरमा जलेर बसेका होलान्, त्यसको हिसाब निकाल्न सजिलो छैन । तर पनि नेपाल राष्ट्र बैंक र राज्यले उनीहरूलाई कठोर वचन लगाएर दुत्कार्न मिल्दैन, बरु बचाउन जरुरी छ ।

त्यसबाहेक आगामी दिनमा साना व्यवसायमा असफल हुनबाट सबैलाई बचाउन नसकिए पनि त्यस्तो संख्यामा कमी कसरी गर्न सकिन्छ भन्नेमा राज्यले गम्भीरतापूर्वक काम गर्नुपर्छ । यी सबैका लागि राज्यले नीतिगत सुधार गरेर मात्रै पुग्दैन, त्यसलाई कार्यान्वयन गरेर पनि देखाउनुपर्छ । हेरौँ, अहिलेको सरकारले कसरी काम गर्छ, कि बलशालीकै ताबेदारी गर्छ ।

 पौड्याल अर्थशास्त्री हुन् ।