एकपटक गौतम बुद्ध एउटा गाउँमा प्रवचन दिइरहेका थिए । प्रवचनका क्रममा उनले भने– हरेक मानिसले धर्तीमाताजत्तिकै सहनशील तथा क्षमाशील हुन सक्नुपर्छ । क्रोध यस्तो दावानल हो, जसका कारण क्रोधितले अरूलाई त जलाउँछ नै, साथसाथै स्वयं पनि जल्छ ।
सबैजना शान्तिपूर्वक बुद्धवाणी सुनिरहेका थिए । तर, एकजना रिसाहा व्यक्तिलाई भने बुद्धका हरेक वाणी बेकारका लागिरहेका थिए । सुन्दासुन्दा सहन नसकेर उनी जुरुक्क उठे र बुद्धलाई सम्बोधन गर्दै भने– बुद्ध ! तिमी पाखन्डी हौ । हावादारी कुरा सुनाएर मानिसलाई दिग्भ्रमित गर्दै छौ । उनका यस्ता कटु वचन सुनेर पनि बुद्ध शान्त रहे । उनी न दुःखी भए न कुनै प्रतिक्रिया नै जनाए । बुद्धको व्यवहारले क्रोधित मानिस थप उत्तेजित भए । उनी बुद्धको मुखमा थुकेर बर्बराउँदै त्यहाँबाट बाहिरिए ।
भोलिपल्ट उनको क्रोध शान्त भयो । उनलाई आफ्नो गल्तीको महसुस भयो । उनी पश्चात्तापको आगोमा जल्न थाले । उनी बुद्धलाई खोज्दै अघिल्लो दिन प्रवचन भइरहेको स्थानमा पुगे । तर, बुद्ध अर्कै गाउँतर्फ गइसकेका थिए । अनेक स्थानमा सोधपुछ गर्दै उनी बुद्धले प्रवचन दिइरहेको अर्को गाउँ पुगे । बुद्ध शान्त भावमा प्रवचन दिइरहेका थिए । बुद्धलाई देख्नासाथ उनी बुद्धको पाउमा परे र भने– मैले धेरै ठूलो गल्ती गरेँ प्रभु, मलाई क्षमा गर्नुहोस् । बुद्धले उनलाई उठाएर सोधे– तिमी को हौ ? तिमीलाई के भयो ? मसँग किन क्षमा मागिरहेका छौ ?
ती व्यक्तिले भने– के हजुरले बिर्सिनुभयो ? म त्यही व्यक्ति हुँ, जसले हिजो हजुरसित निकै नराम्रो व्यवहार गरेको थियो । म आफूले गरेको कर्मप्रति लज्जित छु । म आफ्नो दुष्ट कर्मप्रति क्षमा माग्न आएको हुँ, प्रभु ! मैले बितेको समय उतै छोडेर आएँ, तिमी भने अझै त्यहीँ अड्किरहेका छौ । तिमीलाई आफ्नो गल्तीको महसुस भयो, पश्चात्ताप गर्यौ, निर्मल भयौ । बितिसकेको समयका कारण आफ्नो आजलाई नबिगार ।