Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
याेगेन्द्र रावल
२०७९ माघ २० शुक्रबार २२:४६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

धुम्बाराही पिंजडामा कैद नेविसंघ

Read Time : > 3 मिनेट
याेगेन्द्र रावल
२०७९ माघ २० शुक्रबार २२:४६:००

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता नेपाल विद्यार्थी संघको आदर्श सिद्धान्त हो । यसै सिद्धान्त अनुरुप संघीय राज्य, बहुलबादमा आधारित बहुदलिय व्यवस्था तथा संसदीय शासन प्रणाली नेपाल विद्यार्थी संघको मुल ध्येय रहेको छ । यसै मार्फत नेपालमा लोककल्याणकारी, समतामुलक तथा सभ्य समाज निर्माण गरि उत्पादनमुखी, रोजगारमूलक, प्राविधिक, व्यवसायीक गुणस्तरीय र अनुसन्धानमूलक निशुल्क शिक्षाको सुनिश्चितताको लागि नेपाल विद्यार्थी संघले आफ्नो स्थापना देखि बुलन्द आवाज उठाउँदै आएको छ । नेपाल विद्यार्थी संघले आफ्नो स्थापना देखिनै नेपालको शैक्षिक सुधार र गुणस्तर अभिवृद्धि गर्ने आन्दोलनको नेतृत्व मात्रै लिएन, यसले नेपालमा लोकतन्त्र, समतामुलक समाज निर्माणमा समेत महत्वपूर्ण योगदान गरेको छ । 

तर पछिल्लो समय नेपाल विद्यार्थी संघ कतै कुहिरोको काग पो बन्दै गईरहेको छ कि भन्ने आभाष हुन थालेको छ । नेपाल विद्यार्थी संघको झण्डामुनी रहेर परिवर्तनको विगुल फुक्न सक्रिय विद्यार्थीहरु वर्तमान नेतृत्वको अक्षमता र अर्कमण्डताको कारण निराश र हतोत्तशाही बन्न पुगेका छन् । आफुले पढेको नेपाल विद्यार्थी संघको ईतिहास र सिद्धान्त एकातिर र वर्तमान नेतृत्वको कार्यशैली अर्को तिर हुँदा विद्यार्थीहरु थप अन्यौलमा पर्दै गएका छन् । 

महाधिवेशनबाट स्थापित नभएको नेतृत्वले संगठन चलाएको करिब एक दशक हुन लागिसक्यो । नेताको खल्ती र टिके प्रथाबाट नेतृत्वमा पुगेका व्यक्तिहरु नेपाल विद्यार्थी संघको आदर्श, सिद्धान्त तथा विचारबाट च्युत हुदै आफुलाई नेतृत्वमा पुर्याएका नेताहरुको स्वार्थ, चाहना बोकेर हिडिरहेका छन् । सैंद्धान्तिक र वैचारिक अस्पष्टता हुँदा नेपाल विद्यार्थी संघका नेतृत्वमा रहेकाहरुले समग्र विद्यार्थी र शैक्षिक एजेण्डा भन्दा पनि निश्चित नेताको गुट र स्वार्थमा मात्र केन्द्रित हुन पुगेका छन् । 

...चंगुलबाट संगठनलाई मुक्ति दिलाउँदै संस्थाको आदर्श, सिद्धान्त र विचारबाट खारिएको, स्ववियु निर्वाचनमा नेविसंघलाई प्रमुख हैसियतको अग्रणी संस्था बनाउन सक्ने र लोकतान्त्रिक पद्धतिमार्फत वैधानिक महाधिवेशन गरी नयाँ वैचारिक नेतृत्व स्थापित गर्न सक्ने सक्षम नेतृत्वको खोजी गर्ने समय आइसकेको होइन र ? 

मग्र विद्यार्थीको चाहना र अपेक्षा नेपाल विद्यार्थी संघ समग्र शैक्षिक रुपान्तरणको दृष्टिकोण सहित तत्तत् शैक्षिक संस्था तथा निकायमा देखियोस् भन्ने छ । टिके प्रथाबाट आएका विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालय ध्वस्त पारिसके । नेपाल विद्यार्थी संघको एजेण्डामा कहिल्यै यस्ता सवाल समेटिएनन् । सार्वजनिक विद्यालयको गुणस्तर अत्यन्तै निराशा जनक छ । 

शिक्षामा असमानता झाँगिएर गएको छ । तर नेपाल विद्यार्थी संघ चुपचाप छ । संघीयता लागुभएको आठ वर्ष वित्न लागिसक्यो । शिक्षा सम्बन्धी छाता ऐन अझै पारित हुन सकेको छैन । उक्त विधयेक सीमित व्यक्तिको स्वार्थको द्धन्द्धको शिकार बनिरहेको छ । नेपाल विद्यार्थी संघ देखेको नदेख्यै गरिरहेको छ । नेपाल विद्यार्थी संघको नेतृत्व यस्ता सवालमा खोजी गर्दा देखिदैन, भेटिदैन । बरु धुम्बाराहीमा देउवा नेविसंघ, चण्डोलमा सिटौला नेविसंघ, महाराजगञ्ज भाटभटेनीमा छोरा कोईराला नेविसंघ, बालुवाटारमा भतिज कोईराला नेविसंघ, रातोपुलमा थापा नेविसंघ, जावलाखेलमा शर्मा नेविसंघ भेटिन्छन् । यस्ता नेविसंघले आफ्ना नेताका स्वार्थ बाहेक केहि बोक्दैनन् । केहि बोल्दैनन् । 

सिद्धान्त विचार, र आदर्श यिनीहरुले अहिलेसम्म बुझ्ने, सिक्ने र खोजी गर्ने कुनै प्रयास र प्रयत्न गरेका छैनन् । परिणामतः विहंगम राजनीतिक ईतिहास बोकेको नेपाल विद्यार्थी संघ छिन्नभिन्न हुदै गएको छ । आफ्नो लक्ष्य, उद्देश्य र ध्येयबाट विमुख हुदै गएको छ । यो यथार्थतालाई नेपाली कांग्रेसको समग्र नेतृत्वले बुझेर पनि बुझपचाई रहेको छ ।   

नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्वको हैसियत, योग्यता र बुझाई यतिबेला काग र सुगाको कथा जस्तै बन्दै गएको छ । कागले आफ्नो भाषा बोल्छ त्यसैले स्वतन्त्र छ । सुगा अरुको भाषा बोल्छ त्यसैले थुनिएको छ । नेपाल विद्यार्थी संघको नेतृत्व सुगा सिवाय केहि होईन । यो धुम्बाराही पिँजडामा कैद छ र देउवा नेविसंघको भाषा बाहेक केहि बोल्दैन । 

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिना भित्र नेपाल विद्यार्थी संघको १२ औ महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी वर्तमान नेतृत्वले पाएको छ । तर नेविसंघ अध्यक्ष दुजाङ शेर्पा अलोकतान्त्रिक तवरले सांगठनीक गतिविधि सञ्चालन गर्न उद्दत छन् । 

सम्पूर्ण विश्वविद्यालय, क्याम्पसहरु र जिल्ला कार्यसमितिहरु सांगठनीक असहमती र विवादका कारण लथालिंग अवस्थामा छन् । त्यस्ता असहमती भएका क्षेत्रमा सबै पक्षको बहस, छलफल, संवाद, समन्वय तथा यथासक्य सहमतीको आधारमा सम्पूर्ण सांगठनीक विवादहरु निरुपण गर्नुपर्ने हो । तर हालको नेतृत्व नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौ संसोधन २०७५ को धारा ३१, ३४ र २०७८ फागुन ३ को नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरित अलोकतान्त्रिक ढंगले विभिन्न जिल्ला कार्यसमिति र क्याम्पस ईकाईहरुमा एकपक्षिय र गुटगत रुपमा आफु निकट केहि व्यक्तिलाई “प्रेमपत्र”मार्फत अध्यक्ष तोक्ने काम गरिरहेको छ । जुन समग्र लोकतन्त्रको खिलाफमा छ । आजको नेविसंघको अवस्थालाई हेर्दा सिद्धान्तमा लोकतन्त्र व्यवहारमा ठोकतन्त्र भईरहेको देखिन्छ । 

नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट स्थापित पार्टी नेतृत्व तथा यसका पदाधिकारीहरु प्रति लोकतन्त्रवादीहरुले धेरै अपेक्षा राखेका थिए । तर वर्तमान नेतृत्व र पदाधिकारीले नेपाल विद्यार्थी संघलाई आफ्नो पैतृक सम्पतीको रुपमा लिएको छ । तर त्यस्तो पैतृक सम्पत्तीमा परिवारका सबै सदस्यलाई समान अंशवण्डा गर्न नेतृत्व तयार छैन । युवा भनिएका पदाधिकारीहरुपनि आफ्नो सिमित स्वार्थको शिकार नेपाल विद्यार्थी संघलाई बनाउन उद्दत छन् । न त समयमा महाधिवेशन न त कार्य समितिको बैधानिक पुर्णता । तर पनि युवा पदाधिकारीहरु बेखवर झै देखिन्छन् । वास्तवमा नेपाल विद्यार्थी संघ यतिबेला नेतृत्वको स्वार्थको शिकार बनिरहेको छ । 

यतिबेला देश स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा छ । नेपाल विद्यार्थी संघको नेतृत्व स्ववियू निर्वाचनमा संगठनलाई कसरी पहिलो शक्तिको रुपमा स्थापित गर्ने भन्दा पनि आफ्नो पदावधीलाई थप गर्नको लागि धुम्बाराहीमा गणेश घुमाई गरिरहेको छ । यस चंगुलबाट संगठनलाई मुक्ती दिलाउँदै संस्थाको आदर्श, सिद्धान्त र विचारबाट खारिएको, स्ववियु निर्वाचनमा नेविसंघलाई प्रमुख हैसियतको अग्रणी संस्था बनाउन सक्ने र लोकतान्त्रिक पद्धती मार्फत वैधानिक महाधिवेशन गरी नयाँ वैचारिक नेतृत्व स्थापित गर्न सक्ने सक्षम नेतृत्वको खोजी गर्ने समय आइसकेको होइन र ? 

(रावल कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । यसअघि नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिको पूर्वसचिव थिए ।)