मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७९ माघ २० शुक्रबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतको पश्चिमबंगालमा अलपत्र रामबहादुरको उद्धार 

समाचार प्रभाव

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ माघ २० शुक्रबार १९:४०:००

भारतको पश्चिमबंगालमा अलपत्र परेका सर्लाहीको हरिवनका युवकको उद्धार गरिएको छ । 

सर्लाहीको हरिवन नगरपालिका– ५, घुर्कौली घर भएका रामबहादुर तामाङलाई भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाबाट उद्धार गरी सर्लाही ल्याइएको छ । 

शुक्रबार सर्लाही ल्याइपुर्याइएका तामाङलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

भारतीय महावाणिज्य दूतावासको समन्वयमा भारतको कोलकातामै रहेको जानकी नेपाली धार्मिक संघले उनको उद्धार गरेको हो । 

मानसिक रूपमा अस्वस्थ तामाङ लगभग सात वर्षदेखि बेपत्ता थिए । बेपत्ता केही दिनअघि भारतको कोलकातामा गम्भीर अवस्थामा अलपत्र फेला परेपछि नयाँ पत्रिकाको अनलाइन संस्करणबाट सामाचार सम्प्रेषण भएको थियो । 

लगत्तै पहल गरेर उनको उद्धार गरेको हरिवन– ५ का वडाध्यक्ष नागेन्द्र साहले बताए । इलाका प्रहरी कार्यालयमा वडाध्यक्ष साहको समेत रोहबरमा तामाङलाई आफन्तको जिम्मा लगाइएको हो । 

नेपाली धार्मिक संघको सम्पर्क विभागका प्रमुख हितबहादुर खड्काले तामाङ रहेको स्थानमा पुगेर उद्धार गरी शुक्रबार सर्लाही ल्याइपुर्याएका हुन् । उनले तामाङको उद्धारमा सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गरे ।

तामाङका आमाबुबाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उनको भाइ केही वर्षअघि काम खोज्दै पोखरा गएको र अहिलेसम्म नफर्किएको स्थानीय बताउँछन् ।