मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २० शुक्रबार ११:१०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोलेस्ट्रोल नियन्त्रण गर्न यस्तो जीवनशैली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २० शुक्रबार ११:१०:००
डा. खेमराज भुसाल, कन्सल्टेन्ट फिजिसियन त्रिवि शिक्षण अस्पताल

असन्तुलित खानपान र जीवनशैलीले गर्दा कोलेस्ट्रोल बढ्छ । कोलेस्ट्रोल बढ्दाको प्रारम्भिक चरणमा मानिसमा लक्षण देखिँदैन । तर, पछि गएर यसले ठूलै समस्या पार्न सक्छ । कतिपयको जीवनशैली राम्रो भए पनि कोलेस्ट्रोलको मात्रा बढिरहेको हुन्छ । यसमा भने वंशानुगत कारणले भूमिका खेलेको हुन्छ । यस्ता मानिसमा कोलेस्ट्रोल पचाउने क्षमता निकै कम हुन्छ । यस्तो समस्याले कहिलेकाहीँ एक पुस्ताको ग्याप गरेर पनि सताउन सक्छ । त्यसैले २० वर्ष नाघेको मानिसले कोलेस्ट्रोलको स्तर जाँच गराउँदा राम्रो हुन्छ । अझ दीर्घरोगीले जतिसक्दो चाँडो परीक्षण गराउन जरुरी हुन्छ । 

नियन्त्रणका उपाय 
- कोलेस्ट्रोल नियन्त्रण गर्न दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्ने ।
- वनस्पतिजन्य खानेकुरामा बढी जोड दिने, मासु कम खाने । 
- तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्ने । 
- मदिरा सेवन नगर्ने । यसमा बढी क्यालोरी हुन्छ । जसले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी, बियरले ट्राइग्लिसाइडको मात्रा बढाउँछ । मोटो मानिसलाई त यो अझ बढी खतरनाक हुन्छ ।
- चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । र, यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । र, यस्तो कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ ।

मधुमेहका बिरामी विशेष जोखिममा 
मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण गर्छन् । तर, थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि उनीहरूमा नकारात्मक असर पर्छ । मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ । थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ । त्यसैले मधुमेह भएकाले व्यायाममा विशेष ध्यान दिनुपर्छ । कम्तीमा एक घन्टा शारीरिक अभ्यास गर्नु राम्रो हुन्छ ।

के खाँदा राम्रो ? 
खानाको प्रकृतिले रगतमा बोसो या ब्याड कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ । तर, कुन खाना कति खाने भन्ने नियम सबैका लागि एउटै लागू हुँदैन । किनकि, हरेक मानिसको पाचन क्षमता फरक–फरक हुन्छ । त्यसैले आफैँले अनुभव गरेर खानाको प्रकृति र मात्राबारे बुझ्न आवश्यक हुन्छ ।

मांसाहारीभन्दा शाकाहारी खाना खानु धेरै राम्रो हो । तर, शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुन्छ भन्ने छैन । शाकाहारी मानिसले पनि दूधको प्रयोग बढी गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । त्यसैले दूधजन्य पदार्थको प्रयोग कम गर्नुपर्छ । 

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । तर, माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन । तर, डिप फ्राई गर्दा भने समस्या निम्तिन सक्छ । अन्डाको सेतो भागमा पनि कोलेस्ट्रोलको मात्रा कम हुने भएकाले खान सुरक्षित मानिन्छ । 

कति खाँदा राम्रो ?
अन्डा हप्तामा दुईवटाभन्दा बढी नखाँदा राम्रो हुन्छ । चिकेनले पनि कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसका कारण हप्तामा तीन–चार पिसभन्दा बढी नखाँदा राम्रो हुन्छ । रेड मिट नखानु उपयुक्त हुन्छ । 

प्लान्ट बेस अर्थात् सागपातको मात्रा बढी लिनुपर्छ । फाइबरयुक्त खानाले कोलेस्ट्रोल घट्न सघाउँछ । तर, प्लान्ट बेस खानेतेलको प्रयोग भने गर्नुहुँदैन । काजुलगायतका ड्राइफुड दिनमा एक मुठीसम्म खाँदा फरक पर्दैन ।