Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस गलकोट
२०७९ माघ २० शुक्रबार ११:०७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट खानेपानी आयोजना

Read Time : > 2 मिनेट
रासस, गलकोट
२०७९ माघ २० शुक्रबार ११:०७:००

पटक–पटक म्याद थप्दासमेत सम्पन्न नभएका बागलुङका थुप्रै ठूला आयोजना छन्, तीमध्येको एक हो– बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजना । जिल्लाकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्टको काम तीनपटक म्याद थप्दासमेत अझै सकिएको छैन ।

यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै सम्पन्न हुन नसकेको हो । अशुद्ध र अपर्याप्त खानेपानीको समस्या भोग्दै आएका बागलुङ बजारवासी ०७५ देखि उक्त लिफ्ट आयोजनाको आसमा छन् ।

दुई वर्षमा लिफ्ट खानेपानी आयोजना सक्ने गरी ०७५ असार ३१ गते कन्काई जयमाता जेभीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण ०७७ असारमा सक्नुपर्ने योजना तीनपटक म्याद थप्दासमेत हालसम्म सम्पन्न नभएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिए । 

‘०७७ असारमा सक्ने गरी सम्झौता भएको निर्माण व्यवसायीले हालसम्म तीनपटक म्याद थपेको छ, अहिले कोरोनाको कारण माघ मसान्तसम्म म्याद छ, मसान्त आउन लागिसक्यो, काम अन्तिम चरणमा भए पनि निर्माणमा धेरै ढिलाइ भएको छ,’ शर्माले भने, ‘अहिले बिल भुक्तानी नभएको निर्माण व्यवसायीको गुनासो छ । आयोजनाका लागि आवश्यक विद्युतीकरणको काम भइरहेको छ, आयोजना सक्न धेरै समय नलाग्ला, तर दुई वर्षअघि बागलुङ बजारवासीलाई खुवाइनुपर्ने पानी अझै खुवाउन नसक्दा नगर खानेपानी दुःखी छ ।’

लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धीकरण गरी वितरण गर्ने गरी निर्माण भइरहेको भए पनि निर्माणमा ढिलासुस्तीका कारण उपभोक्ता हैरानी खेप्न बाध्य छन् । दुई वर्षमा सम्पन्न गर्ने गरी ०७५ असार ३१ गते रु. ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेभीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना र आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भएर प्राविधिक काम मात्रै बाँकी रहेको निर्माण व्यवसायीको भनाइ छ । व्यवसायीले रु. तीन करोड भुक्तानी नपाएका कारण प्राविधिक परीक्षणमा कठिन देखिएको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताए । 

‘आयोजना निर्माणमा विभिन्न समस्या आए, तीनपटक म्याद थप हुँदा बल्ल काम अन्तिम चरणमा पुगेको छ, माघ मसान्तसम्म परीक्षणसम्म गर्न सकिन्छ भन्नेमा छु,’ उनले भने, ‘अहिले केही विद्युतीय तार आउन बाँकी छ, मोटर जोड्न मात्रै बाँकी हो एक–दुई महिनामा काम सबै सकिएर पानी रातमाटा पुर्‍याउनेमा लागेका छौँ ।’

मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफरर्मरसमेत जडान भइसकेको छ । काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम कछुवा गतिमा देखिएको स्थानीय रुविन सापकोटाले गुनासो गरे । अब त काठेखोलाको पानी आउला भन्नेमा आशावादी भएकै तीन वर्ष बितेको सापकोटाको भनाइ छ । निर्माण व्यवसायीको भनाइमा आयोजनाको प्रगति ९० प्रतिशत पूरा भएको छ ।

बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिक खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित हुँदै आएका छन् । नगर खानेपानीले लिफ्ट आयोजना नबन्दासम्म अन्य विकल्प दिन नसक्ने जनाउँदै आएको छ । 

अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना ०७५ असारदेखि निर्माण थालिएको थियो । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो । 

बागलुङ नगरपालिका– ३ काठेखोलानजिकैको कैलामपोखरीमा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको पाँच वर्ष पुग्नै लाग्दा बल्ल अन्तिम चरणमा पुगेको हो । नगरपालिकामा २४सै घन्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा पाँच वर्षअघि आयोजना सुरु भएको थियो । बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेन्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेन्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्नपछि प्रतिसेकेन्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ ।