Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०९:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्यान इन्फोटेक सेमिनारमा प्रविधि उद्योग र एकेडेमियाबीचको अन्तरबारे छलफल हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०९:०५:००

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघको आयोजनामा माघ २४ देखि २९ सम्म हुने क्यान इन्फोटेक २०२३ मा प्रविधिसम्बन्धी छलफल पनि हुने भएको छ । भृकुटीमण्डपमा हुने २८औँ संस्करणको क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी बृहत् प्रदर्शनीका साथ प्रविधि उद्योग र एकेडेमियाबीचको अन्तरबारे पनि छलफल हुने भएको हो ।

क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा सेमिनार गर्न लागेको जनाएको छ । यसअन्तर्गत माघ २५ देखि माघ २८ गतेसम्म हरेक दिन फरक–फरक विषयमा सरोकारवालाबीच छलफल एवं अन्तक्र्रिया हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उनका अनुसार माघ २५ मा प्रविधि उद्योग र एकेडेमियाबीच अन्तक्र्रिया विषयमा पहिलो सेमिनार आयोजना हुनेछ । नेपाल पर्यटन बोर्डको हलमा हरेक दिन दुई घन्टासम्म हुने सो सेमिनारमा नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक तथा सेन्टर फर साइबर सेक्युरिटी एन्ड रिसर्च इन्नोभेसनकी उपाध्यक्ष रोजाकिरण वासुकला, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, टेक्सास कलेजका प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक नवराज पौडेल, नेपाल सरकारका आइटी निर्देशक सुवास ढकाल र कोड फर चेन्जका अध्यक्ष नीराजन क्षेत्री वक्ताका रूपमा सहभागी हुने जनाइएको छ ।

 कार्यक्रममा वर्तमान शिक्षा प्रणाली, आइटी बजारको माग र आवश्यकता, उद्योग र शिक्षण संस्थाबीच देखिएको दूरी, राज्यका नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल हुने उल्लेख छ । ‘विद्यार्थीलाई शिक्षण संस्थाले गर्ने अभ्यासहरूमा के छुटिरहेको छ भन्ने कुरा स्पष्ट पार्न कार्यक्रम उपयोगी हुने देखिएको छ ।’कार्यक्रम संयोजक नीराजन क्षेत्रीले भने, ‘त्यस्तै प्रविधि कम्पनीहरूमा काम गर्न के–के कुरा आवश्यक पर्छ भन्ने कुरा विद्यार्थीलाई देखाउन पनि छलफलले सहयोग गर्नेछ ।’

सेमिनारमा एक सय ५० भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । यसअन्तर्गत कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विद्यार्थी, उद्यमी, पेसाकर्मी तथा प्रविधिप्रेमी जोसुकै आउन सक्ने कार्यक्रम संयोजक क्षेत्रीले बताए ।